बोल्दैन त्यो खोला
खोइ सुनिएन त कहिल्यै बोलेको
पुष्पको सुन्दरता
बोल्दैन सूर्यको प्रकाश
अनि चन्द्रमाको शीतलता
साँच्चै बोल्दैन हरियाली वन
सिरेटो, हावा हुरी, बादल
अनि मुसलधारे वर्षा
मानिस बुझ्दैन यी सब कुरा
केबल चाहान्छ
म केही बोलूँ
तर, म के बोलुँ?
तर, म के बोलुँ?
मेरा लागि नि यो एक प्रश्न हो
म मलाई पनि जवाफ
शब्दबाट दिन सक्दिनँ
खै! अरुलाई के दिन सकुँला र
त्यही पनि मानिस चाहान्छ
म केही बोलुँ
तर, म के बोलुँ?
असत्यको पछाडि ठूलो हुल छ
जान्दिनँ म त्यो हुलमा चेतना कति छ
सत्य एक्लै छ
एक्लै भएर नि त्यो हुलमा
निःसन्देह निष्फिक्री मुस्कुराइरहेछ
सत्यले मेरो मौनता भित्रको जवाफ बुझेछ
तर असत्यले बुझेन
ऊ त अझै चाहान्छ
म केही बोलुँ
हिँड्दैन त्यो बाटो
साँच्चै हिँड्दैन चुरे, पहाड, सगरमाथा
वृक्ष अनि त्यो माटो
मानिस बुझ्दैन यी सब कुरा
केबल चाहान्छ
म हिँडौँ
तर, म कहाँ हिँडौँ?
तर, म कहाँ हिँडौँ?
मेरा लागि नि यो एक प्रश्न हो
पद, पैसा, जवानीको जोश
अनि महत्वाकांक्षाको भेलसँगै
दौडने यो हुलसँग
म भित्रको मलाई खोज्न हिँड्ने म
कहाँ हिँड्नु
त्यही पनि मानिस चाहान्छ
म हिँडौँ
तर, म कहाँ हिँडौ?
अज्ञानताको पछाडि ठूलो जमात छ
जान्दिनँ म त्यो जमातमा चेतना कति छ
ज्ञान एक्लै छ
एक्लै भएर नि त्यो हुलमा
निःसन्देह, निष्फिक्री मुस्कुराइरहेछ
ज्ञानले मेरो मौनता भित्रको जवाफ बुझेछ
तर अज्ञानताले बुझेन
ऊ त अझै चाहान्छ
म हिँडौँ
मानिस चाहान्छ
म केही बोलुँ
तर म के बोलुँ?
मानिस चाहान्छ
म हिँडौँ
तर, म कहाँ हिँडौँ?