हर्कबहादुर बाबुको बर्खीको काम सकेर पितृसुखको लागि तीर्थयात्रामा पुन्यकार्य गर्दै जाने क्रममा बागमती आर्यघाट छेउमै एउटा भिडमा पुगेछ। वरिपरिबाट रमितेहरू तमासा हेरिरहेका थिए। हुलको भिडलाई चिरेर हाँसेका र कराएका आवाजहरू गुन्जिँदै थियो। लाग्छ, कोही जादुगर आफ्नो जादुको रङ भरिरहेको छ।
भिडको नजिकै पुगेपछि उसलाई अकास्मात शर्मले छायो। त्यहाँ त उसको बाल्यकालको साथी धने मगन्ते हालतमा बालकहरूको तिरस्कार खेपिरहेको रहेछ। बालकहरू थप्पडी बजाउँदै भन्दै थिए- 'ऊ पागल, पागल! आयो पागल।'
धने बच्चाहरूलाई झम्टिरहेको थियो। घरीघरी दाहसंस्कारबाट बचेको कपडा परालको थुप्रोबाट तिनैसँग लुछाचुँडी गरिरहेको थियो। उसको थोत्रो कपडा, लट्टा परेको कपाल, पछाडि भिरेको कुम्लोकुटुरो र उसको बरबराउने हुलियाले वास्तवमा उसको मानसिक असन्तुलन भएको नै देखिन्थ्यो पनि।
हर्कबहादुर (हर्के) को मन कुँडिएर आयो, गहमा आँसु रसायो। बाल्यकालमा सँगै खेलेको, खाएको अनि उसले आफूलाई बाह्रखरी पढाएको, अर्ती उपदेश दिएको र उसकै प्रेरणाबाट आफू मास्टर बनेको। तर आज कति दर्दनाक र हृदयस्पर्शी देखिएको छ, उसको पीडा र वेदना। उसबेला गाउँ छाडी उठीबास लाग्नु पर्दा बरबरी आँसु खसाली पैतृक सम्पत्ति र मातृभूमिलाई मुटुले मिचेर परित्याग गर्दै भनेथ्यो- 'हर्के भाइ! म यो गाँउमा अट्न सकिनँ।'
वास्तवमा कति मिलनसार र भद्र थियो ऊ, तर आज हर्केले मात्र होइन, धनेको पहिचान वरिपरिबाट रमितेहरूले तमसापूर्ण रुपमा हेरिरहेका थिए भने पर्यटकहरूले क्यामेराको आकृतिभित्र कैद गरिरहेका थिए। हर्केलाई यो हालतमा देखेर मन असह्य पीडा भएर आयो, ऊ चुप लागेर बस्नै सकेन र दौडिएर- 'धने दाइ' भन्दै अंकमाल गर्न पुग्यो।
करिब आजभन्दा १५/२० वर्ष अघिको कुरा हो। साहुको ऋण, वचनको कटुता, उसको स्वाभिमानले सहन नसकेर भनौँ या आमाको चाहनाले, आत्मसम्मान र स्वाभिमान बोकेको धनेले 'आमाको ईच्छा छोरोले पुर्याउनै पर्ने' कर्तव्य ठानेर होला पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैँ बुढी आमालाई उसले यहाँसम्म ल्याई पुर्यायो। कमाइ नभएकोले जीवनयापन गर्न धौँ-धौँ पर्यो।
कैयौँ दिन पाटीमा त कति दिन रुखको फेदमा बसी भोक चपाएर हिउँदे तुषारो खायो। कतै केही काम भेटेन, भएका रातागेडी तुह्याइसक्यो। बल हुने र पाखुरी चल्ने भएकोले दुनियाँ सामु हात थाप्न उसलाई लाज लागेर आयो। यसैले उसले सानातिना कामको कमाइले कति दिन आधा पेटमा सन्तोष मानेर जीवन धान्यो।
उता भने आमाले विस्तारै-विस्तारै पूजाआजाबाट केही दक्षिणा भेटी बटुलिन् र फूलमालाको व्यापार गर्न लागिन्। आमाको सुविस्ताको लागि यस्तै सानो कामको कमाइमा पनि उसले आफनो पेट काटेर दिनानुदिन आमाको पसल बढाउन थाल्यो।
कर्म पनि कस्तो हुन्छ कस्तो? दुखीलाई मात्र दुःख पीडा पर्ने। खै! यस्तै अवस्थामा आमा सिकिस्त परिन्। अस्पताल कुरेको पनि एक महिना भैसकेछ। भएका झिटीगुन्टा समेत बेचेर उपचार गर्दासम्म पनि धनेको केही लागेन। अन्ततः आमाको स्वर्गबास भयो।
धने अब झन् बेसहारा भयो अनि सम्पत्तिको अभावले हुतिहारा बन्यो। फेरि उसलाई तिनै रुख र पाटीहरूले स्वागत गरे। दिन बिग्रेपछि कसैको केही नलाग्दो रहेछ। कति दिन त भोक-भोकै पर्यो, ज्यान बचाउन रात बिरात नसुती काम गर्न थाल्यो। रातीको काम खोलाको गीत भनेझैँ औँसीको रात थियो, चकमन्न निष्पट अँध्यारो रात कतै केही देखिन्न थियो।
ऊ छामछाम छुमछुम गरेर सडक पार गदै थियो, अचानक त्यसै बेलाको दुर्घटनाले उसमा यस्तो भयानक बज्रपात गर्यो कि सडक किनाराबाट बत्तिएर आएको मोटरको किचाइले हात नचल्ने, छिनमै होस् बेहोस् हुन लाग्यो। त्यसै त कुन... भनेझैँ अब उसले बाँच्नको लागि स्वाभिमानको टाउको निहुँर्याउनु पर्ने नै भयो। सडकमा आफ्नो विवश मुहारलाई कचौराको खेतीमा अघि सार्नु पर्ने भयो। यसैले ऊ बाँदर र भुसिया कुकुरहरूसँग पराक्रम देखाउन थाल्यो।
अब त दिनहरू मात्र होइनन्, यहाँको जनसंख्या पनि बढेछ। उसको छेउमै अर्को ऊजस्तै अपांग मात्र होइन, दृष्टिविहीन समेत भएको मानिस देखापर्यो। मान्छेले खोपेको ओखलमा त घान पर्छ, भगवानले खोपेकोमा कसो पर्दैन भन्थे मानिसहरू तर आज साँच्चै त्यो व्यक्तिको अगाडि उसलाई सबैले शक्तिशाली र कर्मठ देखेकाले गर्दा उसको पेट रित्तिँदै आयो। यसैले अब उसले विस्तारै जीवनको मोडलाई योजनाबद्ध रुपमा घुमाउन खोज्यो।
मौसमले काँचुली फेरिसकेकोले गर्दा अब जीवन चलाउन एकजोर बुटजुत्ताको अपरिहार्यता ठान्यो। दिन-दिनको छाक काटी-काटी भए पनि पटुकी कसेर जेनतेन एकजोर गमबुट किन्यो। धनेले आफ्नो स्वाभिमानको गमबुट पुस/माघको चिसो पानीभित्र टेकेर आफ्नो परिश्रमी पाखुरीहरू पैसाको खोजीमा नदीको गर्भमा डुबाउन थाल्यो न कि अब हात पसारेर भिख माग्न। मानौँ अहिले ऊ बालकजस्तै बनेको छ, जसरी केटाकेटीहरूले बागमतीमा चढाएको थुप्रै-थुप्रै भेटीहरू बटुलेर आफ्ना इच्छा चाहनाहरू पूरा गर्छन्।
ईश्वरले पनि उसको नाम कसरी जुराएछन् कुन्नी? हर्कबहादुरले सुनेको थियो धने जन्मेको वर्ष थुप्रै अन्नपात, धान उब्जनी भएकोले आमाले उसको नाम राखिदिएकी हुन् रे। यसैले होला आजसम्म पनि उसले धन बटुल्ने काम भने छाडेको रै’न रहेछ।