प्रल्हाद देखियो, हिरण्यकश्यपु देखियो
काम रावणको जस्तै थियो, नाम रामको लेखियो
शुम्भ निशुम्भहरूको गठजोडबाट
असुर राजहरूको धाम देखियो
टोल-टोलबाट निस्केको विजय उत्सवभित्र
उन्मत्त कंशहरूको जाम देखियो
विस्तारै थाहा भयो
ऊ जितेको रहेछ।
अभिमानले भरिएको थियो
पोस्टर र पम्प्लेटमा छरिएको थियो
हिटलर र मुसोलिनीको पदचापमा
उसको अभिनन्दन गरिएको थियो
पुराणमा वर्णन गरिएको शकुनीजस्तै शान्त थियो
फुटाउ र राजगर भन्दै आक्रान्त थियो
कतै प्रशंसा थियो, कतै गाली थियो
एक बथान भेडाहरूको तरर ताली थियो
नजिकै गएर नियालेँ, थाहा भयो
ऊ जितेको रहेछ।
हार्नेमा अभिमान थिएन जित्नेमा इमान थिएन
वर्षौंसम्म जितिरह्यो, तर पनि
देशका लागि कुनै शान थिएन
सपना बाढिरह्यो भोकमरी चलिरह्यो
युवाहरूलाई खाडी पठायो खेतमा धान थिएन
उसले कहिल्यै हारेको छैन
विकासको नाममा माखो मारेको छैन
सहरभरि उत्सव थियो, नारा थियो
छेउमै पानी नआउने सुकेको धारा थियो
एकटकले हेरिरहेँ, थाहा भयो
ऊ जितेको रहेछ।