उनीहरूका साथमा अन्दाजी तीन वर्षकी एउटी नानीसमेत थिई। श्रीमानको मुखाकृति मंगोलियनको जस्तो थियो भने श्रीमती खस–आर्य जस्ती।
काठमाडौंको नयाँ बसपार्कनजिकै नेपालटारको बस्न्यात बाको घरका भाडावाला थिए उनीहरू। उनीहरू दोस्रो तलामा बस्थे, विवश तेस्रो तलामा।
त्यति धेरै बोलेको त सुनिन्थेन तर उनीहरू एकअर्कालाई ‘कान्छो’ र ‘सानु’ भनेर सम्बोधन गर्थे, छोरीलाई ‘पुन्टी’ भन्थे। ‘कान्छो’ र ‘सानु’ उनीहरूको वास्तविक नाम थियो वा मायाप्रेमको उपनाम, विवशलाई थाहा भएन, तर उमेरभन्दा ज्यान सानै भएकोले छोरीलाई ‘पुन्टी’ भनेर बोलाउँदा सुहाएझैं लाग्थ्यो।
सँगै नेपाली सेनाको गुल्म समेत रहेकोले बस्न्यात बाको घरमा भाडामा बस्नेहरू धेरैजसो सेनाका जवानका परिवारहरू हुन्थे।
विवश विद्यार्थी थियो, कलेजको परीक्षा अघिपछि तथा बन्द–हड्ताल आदि हुँदा ऊ दिनभरि कोठामा नै हुन्थ्यो। कुरा फुर्यो भने मुक्तक, गजल आदि लेखेर बस्थ्यो, साथीभाइहरूसँग बाहिर निस्कन खासै मन लाग्दैनथ्यो उसलाई।
दिउँसो सेनाका जवानहरू ब्यारेक जान्थे। ऊ कोठामा भएको बेला कान्छोलाई सेनाका जवानका श्रीमतीहरूसँग जिस्किँदै गरेको थुप्रै पटक देखेको थियो।
समाजमा पच्ने-नपच्ने दुवै खालका संवाद हुन्थे। दोष विवशको थियो वा उसले छिचोलेका बाइस-तेइस वसन्तहरूको, उसलाई तिनीहरूका तल्लो स्तरका संवाद सुन्दा कुतकुती लाग्थ्यो।
मान्छेको मन न हो, कहिलेकाहीँ चासो लाग्नु नपर्ने कुरामा पनि जिज्ञासु बनिदिन्छ। एक दिन कुन प्रसंगमा हो याद भएन, विवशले सोधिदियो, ‘कान्छो दाइ, बरू सानु भाउजू काममा गएको देख्छु, तपाईं सधैं घरमै हुनुहुन्छ नि।’
यति भनेर रोकियो, कहिल्यै नबोलेको मान्छेसँग लामो संवाद बोलेझैं लाग्यो उसलाई।
उमेरमा ऊभन्दा एक-दुई भोटा घटी फटाएझैं लागे पनि कान्छोको परिवारको मिश्रित-धन र साथमा स्याज ‘पुन्टी’ समेत भएकाले विवशको एक्लो ज्यानले उसलाई ‘दाइ’ सम्बोधन गर्नु नै बुद्धिमानी ठान्यो।
उसले भन्यो, ‘हो नि भाइ, माया के हो भन्ने नबुझ्दै लप् पर्यो, जिम्मेवारी बढ्छ भन्ने नसोच्दै बिहे गरियो। कमाइको बाटो नदेखिँदै बच्चा जन्मायो, सजिलो काम र मीठो मामको खोजीमा गुँडै बोकेर यता आ’को, कुनै कामको मेसो मिलेको होइन।
बाबुले अंशभाग भनेर अलिकति पैसो देका थे, यता खाएर सकिन लागो। गाउँकी फुपू पर्नेको छोरो मेनपावरमा काम गर्छ, साउदीको भिसा झरो भन्थो। म ता हाम फाल्ने हो खाडीमा, अर्को महिनामा।’
र, त्यो दिन पनि आयो।
सानुले कान्छोलाई गह्रौं मनले बिदाइ गरी। जाने बेलामा कान्छोले सानुलाई सेतो भुइँमा राता धर्काहरू भएको सल दियो। सानुले असन्तुष्टि पोखी, ‘केके न दिन आँटे भनेको, जाबो सल ? कुर्था नै भए पनि हुन्थ्यो। त्यही पनि कति लामो हो, अलिकति मिलाउन नजाने भुइँमै लत्रिजाने।’
‘त्यसो नभन न सानु, जिन्दगीले हामीलाई कोलाहलमा लछार्यो, धेरै घुम्तीहरूमा पछार्यो, अब हाम्रो जीवन त्यो सलको भुइँजस्तै शान्त र त्यसमा कोरिएका धर्काहरूजस्तै सिधा चल्नेछ। म नहुँदा एक्लो महसुस नगर्नू। तिम्रो मोबिलमा दिनकै खबर पठाम्ला, पुन्टीको ख्याल गर्नू।’
कान्छाले भन्यो, ‘एउटा कुरा मनमा राख है सानु, कसैले मन भाँड्न खोज्ला, म विदेशमा हुँदा यता मेरो बारेमा पनि विभिन्न कुराहरू सुनाउलान्। सम्बन्ध भनेको तिम्रो काँधमा रहेको सलजस्तै हो, कहिले बतासले उडाउन खोज्छ, कहिले लत्रिएर भुइँ छुन खोज्छ, सन्तुलनमा राख्न त्यसलाई बेलाबेलामा मिलाइरहनु पर्छ।’
कान्छोका कुरा सानुले कति बुझी कुन्नि, उसको चेहरा पुन्टीको जत्तिकै शान्त देखिएको थियो।
उनले उस्तै गम्भीर भएर भनी, ‘सल त लामो नै राम्रो, कतै यात्रामा थाकेर म तिमीभन्दा पछाडि परें भने यही सलले तान्दैतान्दै मलाई पनि आफूसँगै लैजाऊ है, कान्छो।’
००
सँगैको महादेव खोलाको पानीजस्तै दिनहरू बग्दै गए। सानु खुसी देखिन्थी, कान्छोले दिनदिनै मोबाइलमा खबरहरू पठाउँथ्यो।
सानु चाहिएको खर्च माग्थी, कान्छोले तुरून्तै सानुको बैंक खातामा हालिदिन्थ्यो। सानु बेलाबेला भन्ने गर्थी, ‘मलाई चाहिने खर्चमात्र पठाऊ है। बचेको उतै राख। यता पठायो भने आफन्तले आँखा लगाउँछन्, फुर्मास हुन्छ। आउँदा आफूसँगै ल्याए हुन्छ।’
कान्छो विदेशिएको महिनादेखि नै सानुको मासिक धर्म रोकिएको थियो। आफू दोजिया भएको खबर कान्छोलाई रमाउँदै सुनाएकी थिई सानुले। कान्छोले दङ्ग पर्दै भनेको थियो, ‘त्यसै भनेको होइन सानु, अब हाम्रा दिन फर्किन लागे। मेरोजस्तै थेप्चे नाक भएकी पुन्टी छँदै छे, अब मलाई तिम्रोजस्तै चुच्चे नाक भएको पुन्टे चाहिन्छ। बाबुको अनुहार मिल्ने छोरी र आमासँग अनुहार मिल्ने छोरा भाग्यमानी हुन्छन् रे।’
के जवाफ देवस् सानुले, भन्न त खोजेकी थिई, ‘ईश्वरको कृपा हाम्रो सन्तान, जे भए पनि मलाई त स्वीकार छ, कान्छो।’ तर केही बोलिन। कान्छोको कुरा सुनिरहन मन थियो तर कान्छो रोकियो।
सबै राम्रै चलिरहेको थियो, एकाएक अरबबाट खबर आउन बन्द भयो। कान्छो कुनै समस्यामा फस्यो वा मोबाइल नै बिग्रियो कि?
जतन गरेर थैलीमा राखेको मोबाइल ओल्टाइपल्टाइ हेरिरहन थाली सानु। मोबाइलले काम गरिरहेको थियो।
एक दिन मोबाइलको कुनामा पढ्न बाँकी एउटा मेसेज देखेर सानुले दङ्ग पर्दै खोलेर हेरी। खबर कान्छोको थियो, लेखिएको थियो, ‘साहूले एक महिनाको लागि नयाँ कम्पनीमा काम गर्न पठा’को छ, त्यता फोन पनि टिप्दैन, फर्केपछि खबर गर्छु।’
भाषा अलि ठाडो थियो। सधैं लेख्ने गरेको ‘सानु’ शब्द त्यहाँ थिएन। ‘पुन्टीलाई ख्याल गर्नू, खर्च कति बाँकी छ?’ जस्ता शब्दहरू हराएका थिए।
एक मनले गुनासो गरी, अर्को मनले सन्तुलन मिलाई, ‘बिचरा, हतारमा यति खबर भए पनि पठाएछन्।’
एक महिनासम्म कान्छोको कुनै खबर आएन।
बिस्तारै दिन पनि रातजस्तै हुन थाले सानुका लागि। रातभरि छटपटी हुन्थ्यो, बिहान हल्का झकाउँथी सानु।
एक बिहान सपनामा बरबराउँदै थिई, ‘तिम्रो साउदीको तातो बालुवाले पोल्यो मलाई। मेरै हिमालको चिसो सिरेटोले सेकिदेऊ न मेरो कान्छो।’
यत्तिकैमा उसलाई फोनको घण्टीले ब्युँझायो। फोन कान्छोको साथी रामेको थियो। उताबाट आवाज आयो, ‘भाउजू, दाइ के गर्दै छन् त्यता?’
यो सुनेपछि सानुको तातेको ज्यानमा हिमालको चिसो पानी खनाए झैं भयो।
सोची, ‘कान्छो मलाई खबर नगरी यता आएछन्। कसैले बढाइचढाइ मेरो बारेमा कुरा पो लगायो कि? आ, जेसुकै होस्, मेरो खोट छैन क्यारे। जे होस्, कान्छोसँग छिट्टै भेट हुन्छ। सबै कुरा मोबिलमा लेखेर पठाकै छु। चित्त दुखे, फकाउनुपर्ला।’ उसले रामेलाई चाहिँ भनी, ‘बाबु, दाइ त बाटोमै हुनुहुन्छ होला। आइपुग्नुभकै छैन।’
रामेले हाँस्दै भन्यो, ‘दाइ त श्रीमती बिरामी छे भनेर तीन हप्ताको बिदा लिएर यहाँबाट जानुभको। बिदा सकिएको पनि एक हप्ता भैसको। मेनेजरले मलाई टोकसेर हैरान छ। दाइलाई अझै केही दिन आफूसँग राख्न मन भए मलाई भन्नू न। म मेनेजरलाई भनेर बिदा थप गराइदिन्छु।’
रामेको जवाफले सानुलाई आफूमाथि कसैले पेट्रोल खन्याइदिएझैं भयो, अझै त्यसमाथि कसैले आगो झोसेझैं लाग्यो। उसको छटपटी बढ्दै गयो। उसको बेचैनी बढ्दै गयो।
‘लौ न मेरो कान्छो, कहाँ छौ तिमी? कति चिन्ता गर्छौ मेरो स्वास्थ्यको, कति माया गर्छौ हामीलाई? यता हिँडेको पनि एक महिना भएछ, कहाँ फस्यौ तिमी? तिमी ठीक त छौ? झोलाको पैसामा शत्रु लागेजस्तो छ। भगवान्, अरू जेसुकै होस्, मलाई मेरो कान्छो सकुशल पठाइदेऊ।’
सानुलाई मीत बाउको प्रहरी छोराको याद आयो। उसलाई भेटेर सानुले बेलीविस्तार लगाई।
उसैको सल्लाहबमोजिम सोही दिन इलाका प्रहरी कार्यालय, बालाजुमा ‘श्रीमान हराएकोले खोजी गरिपाउँ’ भन्ने ब्यहोराको निवेदन दिई।
चौकीमा नयाँ इन्स्पेक्टर आएका थिए। कामको प्रगतिमा विश्वास गर्ने उनले तुरून्त सबै सूत्रहरू प्रयोग गरे। तीन दिनपछि नै सानुलाई फोन आयो, ‘तपाईंका श्रीमानलाई हामीले फेला पारेर ल्याएका छौं। तपाईं कानुनी प्रक्रियाको लागि नागरिकतासहित चौकीमा आउनुहोला।’
सानुलाई पैतालामुनि भासिँदै गरेको धरती कसैले थामिदिएझैं लाग्यो। कति बेला कान्छोको आँखामा आँखा जुधाऊँ, खबर नगरी यता आएकोमा रिसाऊँ जस्तो भयो। प्रहरी चौकीतिर जानुअघि उसले कोठा मिलाई।
कान्छोले मन्दिरमा लगाइदिएको जलपवाला सुनको मंगलसूत्र लगाई। सिउँदोमा रातो सिन्दूर मज्जाले भरी। पुन्टीको मुख पुछिदिई। अनि छोरीसहित बिहानको एघार नबज्दै चौकीमा हाजिर भई।
उसले चौकीको चौरमा कतै देखिन कान्छोलाई। झ्यालबाट कोठाहरूतिर चियाई, अहँ, देखिन। भित्रबाट इन्स्पेक्टरले बोलाएपछि ऊ हाजिर भई र सोधी, ‘सर, खोइ त मेरो कान्छो?’
इन्स्पेक्टरले पहिले उसलाई एक गिलास चिसो पानी पिलाए। त्यसपछि भने, ‘तपाईंले हाम्रो अनुसन्धानमाथि अविश्वास नगर्नुहोला।’
विगत एक महिनासम्म कान्छो हराउनुको रहस्य इन्स्पेक्टरको मुखबाट सुन्दै गई सानुले। ऊ जति यथार्थता सुन्दै जान्थी, आफैं बसेको धर्ती भासिँदै गएझैं हुन्थ्यो, विश्वास डगमगाउँदै जान्थ्यो।
अन्तमा इन्स्पेक्टरले भने, ‘यस्ता मान्छेहरू समाजका कलंक हुन्। यिनीहरूलाई आजीवन जेलमा सडाउनुपर्छ। अरबतिर त यस्तालाई गोलीले उडाइदिन्छन्। तपाईंको जाहेरीबिना हामी कानुनी प्रक्रिया अगाडि बढाउन सक्दैनौं। त्यसैले किटानी जाहेरी लेखेर सहीछाप गरी तुरून्त ल्याउनुहोस्।’
ठूलै भूकम्प आएझैं सानुको संसार हल्लियो। विगत एक महिनाभित्र भएका घटनाहरूले उसलाई सतिसाल हुन सिकाइरहेका थिए। एउटा कठोर निर्णय गर्नु थियो। संकट पर्दा सबैले झैं उसले पनि आमालाई पुकारी। गाउँबाट आमा आइन्।
विगतमा गरेका गल्तीहरूका आमासँग प्रायश्चित्त गर्दै भनी, ‘म जिन्दगीसँग अन्तिम लडाइँ लड्दै छु। जितेर फर्किन सकिनँ भने पनि पुन्टीको ख्याल गर्नुहोला, मलाई जस्तै हुर्काउनुहोला।’
त्यसको दुई दिनपछि संयोगले विवशको बिदा थियो। कोठामा बसेर एउटा गजल लेख्दै थियो, सानु आई र भनी, ‘एउटा निवेदन लेखिदिनुस् सर। कुनै सवालजवाफ गर्न पाउनुहुन्न, मैले जे भन्छु, लेखिदिनुस्।’
विवशलाई उसको अनुहारको रङ्ग देखेर अनौठो लाग्यो तर बोल्ने हिम्मत भएन। उसले जेजे भन्दै गई, त्यहीत्यही लेख्दै गयो विवश।
इलाका प्रहरी कार्यालय, बालाजुमा त्यस दिन तीन–चार जना पत्रकारहरू पनि जुटेका थिए। सानुले जाहेरी पत्र इन्स्पेक्टरको हातमा दिँदै भनी, ‘मैले भन्नुपर्ने सबै कुरा यसमै छ।’
इन्स्पेक्टरले सानुतिर संकेत गर्दै पत्रकारहरूलाई भने, ‘उहाँका श्रीमानको नेपाल आर्मीमा कार्यरत एक जना जवानकी श्रीमती सुष्मासँग लसपस रहेछ। वैदेशिक रोजगारीमा गएपछि पनि उनीहरू निरन्तर सम्पर्कमै रहेको र तीन महिनाअघि सुष्माको श्रीमान शान्तिसेनामा गएपछिको मौकामा उहाँका श्रीमान नेपाल फर्किएर सुष्मासँग श्रीमान-श्रीमतीको सम्बन्ध बनाई लुकीछिपी बसेका रहेछन्। हाम्रो अनुसन्धान टोलीले दुवैलाई गिरफ्तार गरी ल्याएको छ। अब हामीलाई उहाँको किटानी जाहेरी प्राप्त भएको छ। जाहेरी अनुसार आरोपीहरूलाई हदैसम्म कार्बाही गर्न नेपाल प्रहरी लागिपर्नेछ।’
यति भनेर उनले हवल्दारलाई सानुको किटानी जाहेरी पत्र सबैले सुन्ने गरी पढ्न आदेश दिए। पत्रको बेहोरा थियो-
श्रीमान प्रमुखज्यू,
इलाका प्रहरी कार्यालय, बालाजु।
विषय : कार्बाही गरिपाऊँ।
लामो केही लेख्दिनँ। मेरो कान्छो मेरो रहेन, अब ऊ अरू कसैसँग खुसी छ। म सधैं उसकै सफलतामा रमाउँथें, उसकै खुसीमा समर्पित हुन्थें। मेरा निजी चाहना र खुसी थिएनन्। उसलाई दु:खी बनाएर म कहिल्यै खुसी हुन सक्दिनँ। यदि मेरो कान्छो खुसी रहन्छ भने म उसको बाटोबाट आफैं हट्न तयार छु। मृत्युदण्ड कुरिरहेको मान्छेलाई समेत उसको अन्तिम इच्छा सोध्ने गरिन्छ भन्छन्। मेरो कान्छोबाट टाढा हुनु पहिले एउटा इच्छा छ मेरो- एक रात, केवल एक रात, मलाई उनीसँग बिताउन दिइयोस्। मलाई थाहा छ, मेरो कान्छोको लागि यो नै ठूलो सजाय हुनेछ। अन्यथा नठान मेरो कान्छो, मलाई तिमीसँगको अन्तिम रात सधैं-सधैंको लागि स्मरणीय बनाउन मन छ।
निवेदिका,
सानु नेपाली
पत्र सुनेर सबैजसो भावुक बने। सबैजसोका आँखा रसाए।
सानुको माग पूरा हुने भयो। ऊ आँसु दबाएर कान्छोलाई लिएर कोठातिर लागी। बाटोमा केही कुरा भएन । कान्छोले सानुसँग आँखा जुधाएर हेर्न सकेन। हिँड्दै गर्दा उसले सानुको पेटमा हेर्यो र मनमनै भन्यो, ‘साला गर्भवती छु भन्थी, नौटंकी गरिछे, सेप्रिएको पेटमा बच्चा हुन्छ?’
कोठामा पुगेर सानुले कान्छोका लागि सजिलो ओछ्यान बनाइदिई, फलफूल र सफा पानी राखिदिई ओछ्यानकै छेउमा। आफू भान्छाकोठातिर लागी। कान्छो सोच्दै थियो, ‘एक रात न हो, भोलिदेखि त स्वतन्त्र भइन्छ, सुष्मासँग नयाँ जीवन सुरू गरिन्छ।’
सुष्मासँग सुरू हुने नयाँ जीवनको उत्साहले कान्छोलाई राम्रो निद्रा परिरहेको थिएन। रातको झण्डै एक बजेतिर ओछ्यानकै छेउबाट आएको ट्वाङ्ग आवाजले उसको तन्द्रा टुट्यो। सानुको मोबाइलमा कसैको मेसेज आएको थियो। कान्छोले सोच्यो, ‘साला, मोबाइल भित्र लानै बिर्सिछे, राति-राति कसको मेसेज आउँदो रैछ। चोखी छु भन्छे, हेरूँ न यसको संगत कोकोसँग रैछ!’
मेसेज सानुको मीत बाबुको छोराको थियो। लेखिएको थियो, ‘दिदी, फाँसी चढाउनुपर्ने मान्छेलाई माफी दिएर ठूलो गल्ती गर्नुभो। तपाईं एक दिन पछुताउनु हुनेछ।’
मोबाइलमा तलतिर थुप्रै मेसेज थिए। सबैजसो सानुले आफ्नो पतिका लागि कनिकुथी लेख्दै पठाउँदै गरेकी थिई। तर कान्छोले पढेको थिएन।
पढोस् पनि कसरी, उसले साउदीमा प्रयोग गर्ने नम्बर यता चल्दैनथ्यो। कौतूहल जागेछ क्यार, कान्छोले पढ्दै गयो। कतै लेखिएको थियो, ‘प्यारो कान्छो, स्वास्थ्यको ख्याल गर्नू। यहाँ त मेरा आफन्त छन्, त्यहाँ तिम्रो को छ र?’ कतै पुन्टीले खेलौना मागेकी थिई, कतै खर्च सकिएकोले गाह्रो परेको कुरा थियो।
एउटा मेसेज भने अलि लामै थियो, लेखिएको थियो, ‘मेरो कान्छो, हरायौ तिमी त। यहाँ रासन-पानी केही छैन। पुन्टी बिरामी छे, पैसा नभएर पल्लो घरको दाइकोमा घर-भान्सा सफा गर्ने काम सुरू गरेकी थिएँ। एक दिन तलदेखि चार तलामाथिसम्म भरिएका पानीका जारहरू उकाल्नुपर्यो। डाक्टरले गह्रौं सामान नबोक्नू, पेटको बच्चालाई असर गर्छ भनेका थिए।
तर मसँग पुन्टीको ज्वरो घटाउने र आफ्नो भोक मेटाउने उपाय पनि त थिएन। त्यसै दिन बेलुकी पेट बेस्करी दुख्यो, मर्छु जस्तो लाग्यो। तिमीलाई सम्झिएपछि शक्ति आयो र अस्पतालसम्म पुगें। मलाई माफ गर मेरो कान्छो, मैले तिम्रो नासो जोगाउन सकिनँ। म खुब रोएँ, अस्पतालको झ्यालबाट फाल हालेर मर्न मन लाग्यो तर तिमी र पुन्टीलाई सम्झिएर सम्हालिएँ।
पहिलोपटक होलीमा तिमीले मलाई रङ छ्यापेको जत्रै बाल्टिनमा मेरो नसाभरिको रंगमा डुबेर हाम्रो चिनो भरिएको थियो। साहस बटुलेर एकपटक ओल्टाईपल्टाई हेरें, तिमीले रोजेजस्तै छोरा रहेछ। नाक भने तिम्रोजस्तै थेप्चो रहेछ, मेरोजस्तै चुच्चे भएको भए भाग्यमानी हुन्थ्यो होला, बाँच्थ्यो होला। दुःख नमान है, तिमी फर्केपछि तिम्रो नासो सुरक्षित राख्न नसकेकोमा जे सजाय दिन्छौ, मलाई मन्जुर छ, मेरो कान्छो।’
कान्छोले अगाडि पढ्न सकेन। खै कुन नयाँ इन्द्रीय जागृत भयो कुन्नि, ऊ भित्रभित्रै निसासिएर चिच्यायो, ‘मेरी सानु... ।’
एकै पटक ढोका खोलेर भान्सा कोठामा पुग्यो। उसले देख्यो- उसकी सानु पंखामा झुन्डिएर सिलिङमा बलिरहेको बत्ती हेरिरहेकी थिई।
अनुहार ताकिरहेको बत्तीको प्रकाशले सानुको अनुहारमा चमक थपिरहेको थियो। यो दु:खी, कपटी, धोकेबाज संसार छाडेर ऊ चिरनिद्रामा लीन भइसकेकी थिई।
सेतो भुइँमा राता धर्काहरू भएको सल सानुको घाँटीलाई अङ्कमाल गर्दै भुइँसम्म लत्रिएको थियो, जसको सेतो भुइँमा लेखिएको थियो, ‘सुन्दर भविष्यको कामना, मेरो कान्छो। तिम्रो सुष्मालाई सधैं खुसी राख्नू, मलाई जस्तो धोका नदिनू।’
मन थाम्न सकेन सायद कान्छोले, चिच्यायो, ‘जिन्दगीको संघर्षमा पछाडि परें भने यही सलले तान्नू भन्थ्यौ मेरी सानु, तिमी त अब्बल निक्लियौ। मलाई पछाडि पार्यौ। छोडेर एक्लै मुक्तिको मार्गमा निक्लियौ। के त्यो सलको अर्को टुप्पाले मलाई आफूसँगै तान्न सक्छ्यौ?’
भोलिपल्ट आकाशमा काला बादलहरू मडारिइरहेका थिए। प्रकृति रूँन ठिक्क परेझैं लाग्दै थियो विवशलाई।
पशुपतिनाथको आडैमा बगिरहेकी पवित्र गंगा बागमतीको किनारामा दुइटा चिताहरू नारिएर जलिरहेका थिए। नजिकै एउटी बालिका किंकर्तव्यविमूढ भएर ती चिताहरूतिर पालैपालो हेरिरहेकी थिई।