कथा अलग छ उसको
सायद त्यसैले होला
व्यथा अलग छ उसको
खुसी हुनबाट डराउँछे आज
आफ्नै छायाबाट भाग्छे आज
मिर्मिरेमा चौतारीमा
बस्ने गर्थी प्रतिक्षामा
कोही मनको निकै करिब
बसाउने गर्थी ढुकढुकीमा
माया गर्थी अजम्मरी
पिरती थियो मनभरि
सोझी लाटी गाउँकी छोरी
गोरी राम्री रुपकी रानी
परदेशको एक लाउरे थियो
निच एक पिशाच थियो
पैसा सबथोक उसको लागि
पैसाकै भोको थियो
माया बुझ्थ्यो र कहाँ उसले
मनभरि खोट थियो
चेलीबेटी बेचबिखन
उसको एक खेल थियो
रोजगारको लोभ देखाइ
आफ्नो मायाजालमा फसाई
लाग्यो टाढा, धेरै टाढा
छोडी गाउँको भिरपाखा
थाहै नपाई आज ऊ
आफैबाट बेचिन पुगी
आफ्नो शरीर नचाही पनि
अरूलाई नै सुम्पिन पुगी
पिँजडा तोडी आकाशमा
चरी झैँ उड्न पाए
तितो सपना सम्झी यसलाई
एकै पलमा भुल्न पाए
फेरि गाउँको भिरपाखा
झरनासित बोल्न पाए
आफ्नो जीवन फेरि पनि
पहिल्यैजस्तै जीउन पाए
प्रार्थना उसको पूरा हुन्थ्यो होला
उसको जीवान निकै सुन्दर हुन्थ्यो होला
तर यथार्थ केही भिन्न छ
परिस्थिति निकै खिन्न छ
आँखाबाट बोल्छे ऊ
आँसुको बोलीमा
रङ्गिन्छे सधैं ऊ फेरि
नयाँ-नयाँ दागको होलीमा
घृणा गर्छे आफैलाई
भाग्छे आफ्नै छायाबाट
घृणा गर्छे यस्तो मायालाई
हराइसक्यो विश्वास ईश्वरबाट
बाँच्नु छ उसलाई सायद
अब यही अन्धकारमा
दुःख भोग्नै लेख्या रैछ
उसलाई यो संसारमा
पवित्रता शरीरमा होइन
आत्मामा हुन्छ
यो कुरा किन
मानिसले भुल्छ?
चाहे होस् जेसुकै
उसको ठाउँ मेरो हृदयमा सदा माथि छ
जति भागेनी आफ्नै छायाबाट
छाया नै आज उसको एक्लो साथी छ।