अदभूत माधवी,
पत्रको सुरुवातमै प्रायः प्रेमीहरूलाई प्रिय लेखिनुपर्ने हो। तर म तिमीलाई प्रिय मात्र लेख्न सकिनँ किनभने तिमी अदभूत थियौ। खासमा सम्राट ययाती पुत्री राजकुमारीलाई तिमी सम्बोधन गर्ने अधिकार पनि ममा हुँदैन थियो। तर म तिमीलाई अयोनिक प्रेम गर्दो रहेछु, देह मोह प्रेरित प्रेमको साँघुरो अनुभूतिबाट माथि उठेको मेरो प्रेममा वात्सल्य बाहेक केही भेटिनँ र तिमी सम्बोधन गरेँ, यसलाई अन्यथा नठान्नू।
स्वयंवरमा जब तिम्रो म प्रतिको असाधारण लगावलाई हत्याएर आफू बिरामी भएको बहाना गरेँ, सायद त्यसमा म तिम्रो योग्य छैन भन्ने भावना पनि थियो होला। त्यही पापको भोगको लागि या प्रायश्चितको लागि ईश्वरले मलाई नेपालमा जन्माउनु भएको रहेछ। यहाँ जीविका चलाउँदै गर्दा मैले थाहा पाएँ, मेरो पाप मोचनका लागि ईश्वरले सबैभन्दा उत्कृष्ट स्थान रोजेका रहेछन्।
यहाँको जीवन जीविका, मानवीय मूल्य, राज्य सत्ता र सम्पत्ति प्राप्तीको विकास देखेर म आफ्नो पाप कति गहिरो रहेछ महसुस गर्दैछु। माधवी, यहाँ अहिले विक्रम सम्वत २०७८ चल्दै छ जुन हाम्रो पालाको कलिगत सम्वतभन्दा ३०४४ वर्ष कान्छो छ।
शिवालीक पर्वतमा (पूर्वमा बह्मपुत्र नदीदेखि पश्चिम सिन्धु नदीसम्म) गुरु विश्वामित्रले संसार भरिका दासहरूको मोचनको लागि अश्वमेघ यज्ञको आयोजना गर्ने मनासय राख्नु भयो। एउटा असल शिष्य हुनुको नाताले उहाँलाई म आफूले गर्न सक्ने सबै सहयोग गर्न वचनवद्ध थिएँ।
गुरुले आवश्यक परेको खण्डमा सहयोग माग्छु भन्नुभयो। आवश्यक परे भन्ने कुरा मलाई मन परेको थिएन। मलाई गुरु दक्षिणा तत्काल चढाउनु थियो। अहिले लाग्छ म अलि हतारिएको रहेछु। सायद महान् यज्ञ र दास मोचनको उद्देश्यसँग चिढिएका अरु पक्षले गुरुलाई तनाव दिएका थिए क्यारे, गुरु रिसाउनु भयो र भन्नुभयो- 'गालव, तिमीले जिद्दी गरिहालेऊ। अब अन्य तयारीको लागि अरुलाई भन्छु तर यज्ञलाई मुख्य आवश्यक श्यामकर्ण श्वेत चार वटा घोडाहरू तिमीले ल्याउनू।'
यसरी गुरु आज्ञाको शिरोर्धाय गरेर साथी नागजेयको सल्लाह र साथमा म गुरु दक्षिणाको खोजीमा निस्किएको थिएँ।
सम्राट ययाती वीर सम्राट नहुष (जो हिँडेर इन्द्रपद पुगेका थिए) का पुत्र तथा पुरु (जसले आफ्नो जवानी पिता ययातीलाई दिएका थिए) का पिता रहेछन्। ययाती जब पुत्रको जवानी लिएर फेरि तरुण बने, त्यति नै बेला तिम्री आमा विश्वाचीको प्रेममा परेछन् र विश्वाचीले तिमीलाई जन्म दिइछन्। तर जब विश्वाचीलाई यो भेद थाहा भयो तत्कालै उनले आफ्ना स्तन सुनन्दाको स्तनमा हालिदिएर हिँडिछन्।
यस्तो किन भएको रहेछ भने ययातीकी जेष्ठ पत्नी देवयानी (जो ऋषी शुक्राचार्यकी छारी थिइन्) सँग दासी आएकी दासी शर्मिष्ठाबाट ययातीले अनु, पुरु र द्रुह्यु जन्माएपछि देवयानी आफ्ना छोराहरू इदु र तुर्वरुलाई लिएर सदाको लागि माइत गइछन्। सो कुरा थाहा पाएर शुक्राचार्यले ययातीलाई स्त्रि स्नेहबाट वञ्चित हुने श्राप दिएका रहेछन्।
तिम्रो घरमा जसो भएता पनि मैले तिमीलाई भेट्दा तिमी २१ वर्षकी नवयौवना थियौ। तिमी ययाती जेष्ठजायाजस्तै तर्कशक्तिमा निपूर्ण र वाक कलामा युक्त थियौ। मित्र नागजेयको सहायतामा दानवीर ययातीकोमा पुगेपछि घोडा प्राप्त हुन्छ भनेर म दरबार गएको थिएँ। तर राजाले आफूसँग घोडा नभएकोले राजसभासँग सल्लाह मागेँ। राज सभाले खै किन तिमीलाई अगाडि सार्यो। र भन्यो, 'राजकुमारी माधवीबाट चार योग्य सन्तान जन्मिनेछन् र तिनीहरूले नै चार वटै घोडा उपलब्ध गराउने छन्।'
यसरी तिम्रो संरक्षण र हिफाजत गर्ने र उद्देश्य प्राप्तीपछि दरबारसम्म सकुशल ल्याएर छोड्ने सर्तमा तिमीलाई मेरो जिम्मा लगाइयो। राजसभामा ययातीले भनेको सम्झेको छु- 'पुत्री, तिमीलाई मैले न पण्यस्त्री बनाउन खोजेको छु न केशशुल्का (वेश्या) नै, मैले त आचार्य विश्वामित्रको महत कार्यको लागि मुनिकुमार गालवको सहायतामा तिमीलाई अर्पन चाहन्छु।'
प्रतिवादमा भनेकी थियौ- 'राजन्यले मेरा इच्छा अनिच्छाको विचार नगरी मबाट सन्तान उत्पादन गर्नेछन्। सम्राट ययाती र अप्सरा विश्वाचीको अपूर्व अनिन्द्य र अप्रभादी रमणबाट के म दान हुनका लागि जन्मिएकी हुँ? पिता तपाईंलाई थाहा नै छ मेरी माताले पहिलो दिनमा नै मलाई स्तन दिइनन् र सुनन्दालाई अर्पित गर्दै मेरो परित्याग गरेर गइन्। पुज्य पिता कैयौँ दुःख र चिन्ता भोग्दै मेरा रोदनमा आँसु बगाउँदै र मेरा शिशुहाँस्यमा आनन्दित हुँदै मलाई के यही प्रयोजनको लागि हुर्काउनु भएको हो? मेरो श्रृंगारमा सधैँ उत्साहित गर्ने, मेरो नृत्य र गीतको प्रशंसा गर्ने मेरो पिता के यो सब मेरो दानको लागि थियो?'
मैले दुई जोडा आँखाबाट बहेका क्रोध र वात्सल्ययुक्त आँसुमा समर्पणको उष्णता भोगिरहेको थिएँ। मलाई यो सबको कारण आफू हुनु परेकोमा असाध्यै लाज र हीनता महसुस भएको थियो तर म पनि ययातीजस्तै निर्विकल्प र निरीह थिएँ। मेरो हृदय ग्लानी र पीडामा जलिरहेको थियो।
ययातीले राजसभाको निर्णयबाट आफू पछि हट्न नसक्ने भनेर भनेपछि तिमीले राजकुल र दासदासी मुक्तिको लागि ईश्वर साक्षी राखेर जुन अभियानमा सहयोगी हुने प्रतिज्ञा गर्यौ, त्यो बेला तिम्रो आँखामा देखिएको वीरता र साहस मैले जीवनमा देख्न पाएको थिइनँ। दरबारको सुख सयललाई यति सजिलोसँग त्याग्न जुन साहस चाहिन्थ्यो, त्यसको एक भाग पनि ममा थिएन। मैले वीर नारीहरूको कथा कथाको लागि मात्र होला भनेजस्तो ठान्थेँ, तिमीलाई देखेपछि लागेको हो संसारमा वीर वीरगंनाहरू जन्मिँदा रहेछन् समय समयमा।
हुन त समय पनि बेग्लै थियो। विवाह आजको जस्तो संस्था बनिसकेको थिएन, यौन आनन्द भोगको माध्यम थिएन। सन्तान उत्पादन बाहेक यौनको प्रयोग अधार्मिक कुरा थियो। सायद यौन प्रधान नभएको हुनाले नै त्यो समयको वैभव त्यती उन्नत थियो कि? त्यसैले नारी पुरुष समानता कायम रहेछ कि? त्यो समयको नारी वैभव कति अपरिमीत थियो है माधवी?
सन्तान उत्पादनको लागि आमाहरूमा जो कुनै पुरुषको ऋतुदान लिने स्वतन्त्रता थियो। नारीको आमा स्वरुप सबैभन्दा पवित्र र सारगर्वित मानिन्थो, अहिले त आमा बन्नुअघि कसैको श्रीमती बन्नै पर्ने जरुरी छ। नारीहरू निजी सम्पत्तिजस्तै बनेका छन्। तिमी यो जीवन जीउन परेको भए कसरी सक्दी हौ?
पुत्र प्राप्तीको लालासामा आज पनि जन्मिनै नपाई कैयौँ नारीहरूले मर्नु परिरहेको छ, म आफैले मेसो पाउन सकिरहेको छैन। समय चेतना कमजोर हुँदै गएर हो कि सम्पत्ति तथा अन्य सस्ता कुराहरू संकलन प्रतिको मोह गहिरो भएर हो कुन्नी यस्तो भएको? त्यो बेलाको हाम्रो समय कति सजिलो थियो, कति महान् थियो। एउटा उद्देश्यको लागि हामीले कत्रो महान् त्याग गरेका थियौँ।
म तिमीलाई हृदयबाट प्रेम गर्थेँ तर घोडा पाउनको खातिर म आफै तिमीलाई लिएर विभिन्न राजाको दरबारमा पुराउथेँ, तिमी सहबासमा समर्पित हुन्थ्यौँ, म तिम्रो रेखदेखमा रहन्थेँ। म गुरु आज्ञामा दृढ थिएँ, तिमी पिताको वचनमा वचनवद्ध थियौ। माधवी प्रेमको त्यो रुपलाई मैले इमानदारीतापूर्वक निकै गहिरो गरी भोगेँ। तिमी सन्तान प्राप्तीको हेतु रातभर समर्पित भएको थाहा भएर होला म प्रत्येक प्रभातहरूमा तिमीलाई थप स्नेह र सम्मानका साथ हेर्थेँ, संरक्षणमा रहन्थेँ।
कोशलराज हर्यश्वसँगको पाणी ग्रहण समारोहमा तथा सहबासमा तिमी कति ग्लानीमय भावमा थियौ म बुझ्थेँ तर त्यो समर्पण उद्देश्य प्राप्तीको खातिर थियो, संसारभरका दासहरूको मुक्तिको खातिर थियो, खासमा दास मुक्तिको लागि हामी आफै दास पो बनेका रहेछौ कि? स्वर्णपुर (तिब्बत) देखि बाटधान (जैनपुर) हुँदै यमल पर्वत (जुम्ला) तथा क्रौञ्चरन्द्य (कागबेनी) सम्मका हाम्रा वर्षौं वर्षका पैदल तथा रथ यात्राका विभिन्न दिनहरूलाई मैले अहिले विशेष सिद्धीमार्फत सम्झिरहेको छु।
यमल पर्वतमा मिन पचासको जाडोमा एक रात तिमीले सोधेकी थियौ- 'गालव, यस्तो चिसो रात छ, आफ्नो अगाडि यस्ती परम सुन्दरी अप्सरा छ। तैपनि तिम्रो मनमा कुनै भाव आउँदैन?'
मैले भनेको थिएँ- 'हे महान् नारी, तिम्रो समर्पण र त्यागलाई यति नजिक र गहिरो गरी बुझेको मैले देह भोगजस्तो सामान्य विषयमा आफ्नो भावना बहकिन दिन्नँ। तिमीप्रति मेरो छुट्टै कर्तव्य छ, हाम्रो साझा उद्देश्य प्राप्त गरेपछि तिमीलाई ययाती दरबारसम्म छोड्नु छ। त्यस्तो विचार नै नआएको होइन तर म इन्द्रीय विजयी तपद्वारा आफूलाई वशिभूत गर्छु।'
कोशलराज हर्यश्व, दिवोदास र काशी महाजनपद तथा औशीनर शिवीसम्म आइपुग्दा हामी उद्देश्यको नजिक थियौँ। तीन सन्तानसँग तीन वटा श्यामकर्ण श्वेत घोडा हामीले प्राप्त गरिसकेका थियौँ। यी सबै घटनाबीच मैले तिमीमा अर्को क्षमता के देखेँ भने तिमी सामान्यमा पुरुषको रेतसबाट पनि महान् सन्तती जन्माउन सक्ने विशेष गुण रहेछ। वीर पुरुषबाट मात्र वीर सन्तति जन्म हुन्छ भन्ने साँघुरो भ्रमको सफल उदाहरण थियौ तिमी।
जब चौथो घोडाको प्रयासमा सल्लाहको लागि म गुरु आश्रम फर्केँ तब गुरु आफैले तिमीसँग सहबासमार्फत सन्तान प्राप्त गर्ने उदघोष गर्नुभयो। म असमञ्जस्यमा फसेँ। म धर्मको नाममा अनावश्यक इमान्दार बनेको रहेछुकी जस्तो पनि लाग्यो। मेले गुरुसँग आफ्नी प्रेमीकालाई 'कसरी गुरु पत्नी मानौँ?' भनेर सोधेँ।
गुरुले भन्नुभयो, 'उनी मेरी पत्नी बन्दिनन्, उनीमा निहीत जुन नारी क्षमता छ त्यसको प्रयोग मात्र हुनेछ। पत्नी भनेको सन्तान उत्पादन क्रियाको सहयोगी मात्र सम्झनु उनीहरू प्रतिको अपमान हो। दाम्पत्य जीवन सन्तान उत्पादनसँग मात्र जोडिनु शास्त्र संगत कुरा होइन।'
सायद गुरुको त्यो निर्णय धर्मसंगत नै थियो होला। म गुरुसँग शास्त्रार्थ वा धर्म तर्क गर्न तर्फ लागिनँ र तिमीले पनि आफ्नो उद्देश्य त्यही नै हो भनी सकारेकी थियौ। म आजको समयलाई त्यो समयसँग जोड्छु। कत्रो नारी स्वतन्त्रता, कस्तो विहंगम भावना, यौन र सन्तान उत्पादनप्रति कस्तो फराकिलो, व्यवहारिक र सरल सोच रहेछ त्यो समय!
फरक-फरक चार पुरुषबाट चार सन्तान उत्पादन गरेपछि हामी ययाती दरबार फर्केउँ। दरबारमा तिमीलाई देवीको उपमा सहितको ठूलो सम्मान समारोह आयोजना भयो। लगत्तै दरबारले तिम्रो स्वयंवर सभाको आयोजना गर्ने भयो। सम्भव भएका सबै देशहरूमा तिम्रो स्वयंवरको लागि योग्य वरहरूलाई उपस्थितिको लागि निमन्त्रण्ण खुला गरियो।
कस्तो शानदार र सपाट शालीनता! कस्तो बुझक्कीपना! चार सन्तानकी आमाको बल्ल स्वयंवर हुँदैछ। तिमी आफ्नो घरको लागि वर रोज्ने निश्चल समयमा थियौ। जब तिम्रा दूतहरूबाट मैले थाहा पाएँ, तिमी मबाहेक अरुलाई स्वयंवरको माला पहिर्याउन चाहन्नौ म तिम्रो प्रेममा झन् वशिभूत भएँ। तर खै कुन तत्वले ममा त्यस्तो भावना जागृत गर्यो, म आफूलाई तिम्रो अगाडि निकै सानो र निच महसुस गर्न थालेँ।
सायद म तिमीलाई प्रेम मात्रै गरिरहन चाहन्थेँ होला न कि तिमीलाई आफ्नो बनाउन। म गहिरो छटपटीमा परेँ, के गरुँ, कसो गरुँ भयो र त्यो महान् स्वयंवर सभामा म आफ्नो पुरानो साथीलाई जसै उपस्थित गराउने बहाना बनाएँ। स्वयंवर सभाको अघिल्लो साँझ जसै आइपुग्ने वाचा तिमीसँग गरेर म त्यहाँबाट निस्केँ। बाटोभरि नै म तिम्रो प्रेमको अन्तर विरोधमा फसेँ।
हामीले यात्रा गरेका सबै दिनहरू आँखा वरिपरि नाच्न थाले। अनेक विचार मन्थनपछि म आफूलाई तिम्रो योग्य नभएको निष्कर्षमा पुगेँ। मैले निर्णय गरेँ, म नगए पनि त्यो दिन तिम्रो स्वयंवर जसै हुनेछ मभन्दा पराक्रमी वीर पुरुष तिम्रो सुयोगय पति बन्नेछ। त्यसपछि म आफू यात्राको क्रममै बिरामी परेकोले तिमीसँग गरेको वाचा पूरा गर्न नसकेकोले क्षमायाचना सहितको पत्र पठाएको थिएँ।
तर माधवी जब मेरो अनुपस्थितिमा स्वयंवर सभा भंग गरेर तिमी वानप्रस्थ मार्गमा लागेऊ भन्ने थाहा पाएँ, म वेचैन भएँ। आफूलाई पापी र अपराधीजस्तो मान्न थालेँ। त्यो रातभर रोइमात्र बसेँ। आफूले जानेका सबै तर्कसँग आफूलाई राखेर हेरेँ भोगेका सबै घटनासँग जोडी हेरेँ र आफूले एउटा निश्कलंक र अपार मायाको अपमान गरेर ठिक नगरेको निष्कर्षमा पुगेँ।
त्यसपछि म तिम्रो खाजीमा त्यहाँबाट हिँडेँ। तिमी गएको बाटो पहिल्याउँदै हिँड्दा एउटा सुन्दर जंगलको बीचमा हामी भेटियौँ र जीवनमा मैले पहिलो पटक तिमीलाई आलिंगन र चुम्बन गरेँ। तर तिमीले आफू अब उप्रान्त सांसारिक जीवन र मोहबाट सधैँका लागि अलग रहने गरी दरबारमा गरेको सन्यास यज्ञको स्मरण गराएर आफूले विवेकपूर्ण निर्णय गरेको दृढता व्यक्त गर्यौं। म तिम्रो प्रेममा हारेँ या जितेँ, मैले थाहा पाउन सकिनँ।
माधवी प्रेम, त्याग र समर्पणमा जति सुन्दर अरु केहीमा नहुँदो रहेछ। विविध बाध्यता र धर्म रक्षार्थ तिमीले गरेको त्याग मैले तिमीलाई गरेको प्रेमभन्दा धेरै नै शानदार थियो। संसारले तिमीलाई प्रेम र त्यागकी देवी मानेर जुगौं जुग पूजिरहोस्। म अहिले पनि तिम्रो समर्पणको पूँजारी हुँ।
अचेल यता अरुले नै विभिन्न मापदण्डमा कसी लगाएर विवाह गर्ने प्रचलन रहेछ। मेरो पनि विवाहको तयारी हुँदैछ। तर ममा त्यस्तो स्वयंवरमा सहभागी हुन इच्छा छैन जुन स्वयंवर अरुले नै ठिक्क पारेको वरको घाँटीमा माला पहिर्याएर मात्रै दिक्क लाग्दो गरी गरिन्छ। माधवी जुनसुकै माध्यमबाट भए पनि यो पत्र तिमीसम्म पुगोस्। विशेष सिद्धी गरेर हाम्रो पूर्वजन्म याद गराउने मेरा आदरणीय गुरुले पक्कै कुनै न कुनै बाटो पहिल्याउनु होला।
उही तिम्रो तर तिम्रो हुन नसकेको अनन्त प्रेमी
गालव।
(नोटः लेखक मदनमणी दीक्षितप्रति आगाध आदर भावसहित रचिएको।)