कुकुर सधैँ काखमा
लडिबुडी गर्छ
उनी कुकुरलाई मुसार्छिन्
चुम्मा खान्छिन्
कारमा कुकुरलाई घुमाउँछिन्
कुकुरको एक्सेस उनको बेडसम्म छ
जसका लागि सधैँ मासु आउँछ
ऊ पनि मालिक्नीलाई औधि माया गर्छ।
हरेक जीवलाई माया गर्नु राम्रो हो
जसले संसार प्रेमिल बन्छ
तर, बुहारीको त्यो स्नेही हृदय
सासूका हकमा भिन्न छ
उनी
सासूसँग मुस्किलले भेट्थिन्
सासूलाई कुकुरभन्दा पछाडि
छुट्टै कोठामा राख्थिन्
खाना अर्कैले लगिदिन्थे।
बुवाको कालपछि
छोराले आमालाई
बजार ल्याएका थिए
आमाले छोरालाई
कसरी शंका गर्नु
गर-गहना, जग्गा जमिन
सबै सुम्पिइन्
त्यो सबै बेचेर
बुहारीको करकापले
छोराले कार किने
जागिरे छोरा
कहिलेकाहीँ मात्रै घर आउँथे।
आमाले छोरालाई
कहिल्यै कुरा लाइनन्
बरु बुहारीले
सासूविरुद्ध
आफ्ना श्रीमानलाई
नानाभाँती कुरा लाउँथिन्
श्रीमतीको कुरा सुनेर
श्रीमतीकै अगाडि बोलाई
छोराले आमालाई झपारे
आमा मौन बसिन्
धोतीको सप्कोमा
आँसु लुकाइन्।
त्यसपछि कोठा पसेर
आमा सुटुक्क निस्किन्
बाटोमा एक महिलालाई
कागजको टिपोट थमाइन्
जसमा छोरीको फोन नम्बर थियो
छोरी पहाडमा बस्थिन्
आमा फोनमा भक्कानिएर रोइन्।
छोरीको सल्लाहमा
त्यो दिन
आमा ती महिलासँगै गइन्
अनि अर्को दिन
छोरीले आमालाई
आफ्नो घर लगिन्
त्यसको हप्ता दिनपछि
पत्रिकामा तस्बिरसहित
सूचना छापियो
आमा हराएको
पुरस्कारको घोषणासहित।