आदरणीय समाज,
धेरै धेरै नमन।
विषय: मेरो मलामी आइदिनु होला।
प्रिय मित्र तथा आफन्तजन,
जीवनका अनेक भोगाइ र देखाइपश्चात आज हजुरहरूको सामुन्य आफ्ना मनका केही विचारहरू राख्दैछु। कृपया यसलाई व्यक्तिगत चाहना मात्र सम्झेर संस्कृतिको उल्लंघन नसम्झिदिनु होला।
जीवन जति सत्य हो, मृत्यु पनि त्यतिकै सत्य हो। जुन जीवको सृजना हुन्छ त्यसको अन्त्य नि पक्कै हुन्छ। प्रकृतिको नियम विपरीत को नै जानसक्छ र! त्यसैले मृत्युलाई जीवनको अन्त्य सोच्नुभन्दा यसलाई एउटा मोक्ष पाउनु र बाँचुन्जेल यसको हरेक तवरले सदुपयोग गर्नु नै असली रूपमा जीवन जिउनु हो भन्ने मेरो बुझाइ छ।
जीवनका गोरेटोमा अनेक उतारचढाव आए, सुख-दुःख आए, मिठा तथा तिता पल आए, सहयात्री, आफन्त, मित्र अनि शत्रु पनि आए। तसर्थ जीवनले दिएका सारा पलहरू समेट्दै जिन्दगी यादगार र अर्थपूर्ण बनाउने अठोटसाथ जीवन बिताइरेहेकी छु। सोही क्रममा आज हजुरहरूको सामु आफ्नो मनका चाहना व्यक्त गर्न चाहन्छु, हेरौँ कति पुग्लान् कति अधुरै मसँगै बिलाई जालान्।
म मरेको दिन, या भनूँ मोक्ष पाउने दिन, केही दिन, वर्ष, या दशक पछि आउँला, मृत्युको के नै भर हुन्छ र! तसर्थ मलाई आफ्नो सम्झनुहुन्छ, हजुरको मनमा केही राम्रा छाप छोड्न सके मलाई अन्तिम बिदाइ गर्न आउनु ल। अनि मेरा अन्तिम इच्क्षा पूरा गर्न मद्धत पुर्याइदिनु होला।
स्वास्थ्यले साथ दिए अनेकौं बिरामीलाई म मेरो अंगदान गर्न चाहन्छु। भौतिक शरीर नष्ट भए पनि म दृष्टिविहीनको आँखाको नानी भै यो संसार हेर्न चाहन्छु। कलेजो र मृगौला बिग्रिएर मृत्युसँग लडिरहेका युवाहरूलाई नयाँ जीवन दिन चाहन्छु। जन्मजात मुटुमा समस्या भएका र गम्भीर मुटुरोगीको शरीरमा पूर्ण धड्कन चाहन्छु या भनौँ नयाँ रूपमा हजुरहरूको माझ बाँच्न र सेवा गर्न चाहन्छु। अंगदानले मुक्ति मिल्दैन भनेर मेरो यो चाहना नमारियोस्।
मृत्यु कहाँ, कहिले र कसरी हुन्छ त्यो दैवलाई थाहा होला। तर जहिले भए नि मेरो अन्त्यष्टी भने सन्ध्याकालमा पशुपतिको आर्यघाटमा होस्। बागमतीको किनारमा, भजन, आरती र हजुरहरूको साथ सम्झनामा बुनेर मुस्कुराउँदै म यो संसारबाट बिलाउन चाहन्छु। कृपया मेरो लासलाई विद्युतीय सब गृहमा जलाइयोस्। म चाहन्नँ कि मेरा शरीरका अवशेषले बागमती मैली हुन्, पशुपतिको वातावरण प्रदूषित होस् अनि मेरा सन्ततिले मेरा जल्दै गरेका शरीर देखेर तड्पन नपरोस्।
मृत्युपछि गरिने काजक्रियाप्रति भने मेरो भिन्नै मान्यता छ। बाँचुन्जेल कहिले भोको र नाङ्गो नराख्ने मेरा सन्तानलाई मेरो मृत्युपश्चात भोकै र श्वेत पोसाकमा देख्न यो आमाको मनले सक्दैन। तसर्थ यो किरियाको प्रकृया गरी सन्ततिलाई दुःख दिन चाहन्नँ। केवल चोखो खाने र मैले देखाएको बाटो हिँडे मैले मुक्ति पाउनेछु।
सक्छौ भने म जीवित हुँदै सम्भव भएसम्म मेरा जीवनका सुख र दुःखमा साथ दिनू, मेरो किरियामा लाग्ने खर्च एउटा अनाथ आश्रममा दान दिनू। समाजको विपरीत जाँदा मलाई धेरैले ढोंगी, संस्कृति बिगार्ने भन्नुहोला तर मेरो अभिप्राय त्यस्तो होइन। अनि यसको अर्थ यो हैन कि म सन्तान भएर आफ्ना अभिभावक प्रतिको कर्तव्य पूरा गर्दिनँ।
हरेक वर्ष मेरो मरेको तिथिमा श्रद्धा गर्नु पर्दैन, परिवारको नजिकको मान्छे भेला भै चोखो खानू अनि एक छाक वृद्धाश्रमका जिउँदा बाबाआमा पेटभरि खुवाउनू। सक्छौ भने आफ्नो घरको आँगनमा एउटा तुलसी रोप्नु अनि हरेक बिहान पानी चढाउनू। म त्यहाँ आई तिमीहरूको सुख र दुःखमा साथ रहनेछ, हिम्मत दिनेछु।
भनिन्छ, कुनै मार्दै गरेको मानिसको इच्छा पूरा गर्नुपर्छ। म अहिल्यै मर्न लागेको त हैन तर मर्ने बेला को होला? कस्तो हालतमा भइएला? तसर्थ आफ्नो इच्छा भन्दैछु। यो लेखले कसैको मन दुखेमा कृपया माफ गरिदिनुहोला। अनि सक्नुहुन्छ भने यसलाई पुर्याउन सहयोग गर्नुहोला तर संस्कृति र परम्पराको नाममा मेरा सपनामा नकुल्चिनु होला।
जीवनको कुनै पलमा हजुरको आत्मीय बन्न सकेको भए, सहयोग गरेको भए र मनमा राम्रो छाप छोड्न सकेको भए पक्कै मेरो मलामी आउनुहोस् ल। उही पशुपतिको आर्यघाटमा साँझको सन्ध्याकालीन आरती, मिति त उनै भोलेबाबालाई थाहा होला।
उही हजुरहरूको प्यारी
मिरा।