उनी थिए अलिक खरा स्वभावका, अलिक मै हुँ भन्ने खालका। कुरै नबुझी पहिल्यै बम्किने स्वभावका कारण उनी पटक-पटक विवादमा परिरहने गर्दथे। अन्तिममा कुरा बुझिसकेपछि पनि आफ्नो गल्ती स्वीकार गर्न र क्षमा माग्न उनको अभिमानले रोक्दथ्यो र एक्लै मुर्मुरिएरै दिन बिताउने गर्थे।
सबै कामको जस उनैलाई मात्र दिने र आफ्ना भूतपूर्व हाकिमहरूको खेदो खनिदिने कर्मचारी भेटे भने दिनभरि बसेर र्याल चुहाई-चुहाई मिलेरै उनीहरूको दोहोलो काट्थे।
उनलाई देशभित्र बिग्रिएको विषयहरूमा दोष लगाउन र त्यसमा आफ्ना खुरापाती विचार प्रकट गरेर भलाद्मी पल्टिन कसैले जित्दैन थिए। आफ्नो अभिमान र स्वार्थमा अड्चन दिने खालका कोही पनि देख्नै सक्दैन थिए।
कतिपय कर्मचारीहरू उनको एउटा हात गोजीमा हालेर एउटै हातले राम्ररी नमस्कार नफर्काउने बानीलाई उनको बडप्पनसँग दाँजेर हेर्दथे। कार्यालय राम्ररी चलाउन उनको मपाईंत्व सहने खालका दुई/चार जना जासुस र चाप्लुस पनि उनले बनाइराखेका थिए।
त्यही कार्यालयमा आफ्नै तरिकाले काम गरेर माम खानेहरू पनि थिए। उनीहरूलाई हाकिमको चाप्लुसीको जरुरत थिएन। जे होस् स्वाभिमानले काम कर्तव्य पूरा गरेकै थिए। बौद्धिक र नैतिक हिसाबले उनीहरू हाकिमभन्दा अब्बल नै थिए। तर पनि जागिरमा पदीय मर्यादा कायम गर्नुपर्ने भएकाले उनीहरू दिनको एक पटक हाकिमसँग सहज तरिकाले हाँसेरै कुरा गर्दथे। हाकिमको खाने मेसो पर्दा जो कोही पुगिहालेमा हाकिमले पनि चिया मगाइहाल्थे र खुवाएर पठाउँथे। यसरी खानेपानीको उक्त संस्थान चलिरहेकै थियो।
एकदिन सुखी चौधरी अलिक ढिलो गरी कार्यालय आइपुगी। बच्चा बिरामी भएकोले उता पनि उसले समय दिनुपर्ने भयो। कामसँग मात्र मतलब राख्ने सोझी कार्यालय सहयोगी सुखीलाई हाकिमले त्यो दिन नमज्जाले गाली गरे। नियम, कानुन र नैतिकताको प्रश्नसम्म गर्न भ्याइसकेका थिए तर किन-किन एकैछिन पछि टक्क उनको आवाज आफै बन्द भयो।
सुखीले चुपचाप सुनिरही। एकैछिनपछि अर्का एकजना कर्मचारी पनि अलिक ढिलो गरी हाजिर गर्न आए। सुखीलाई लाग्यो उनले पनि उसैगरी गाली खानेछन् तर त्यस्तो केही भएन। गालाको दाह्री मुसार्दै उक्त कर्मचारी मुसुक्क हाँसिरह्यो। तीन जनाको बीचबाट ऊ चुपचाप उठेर हिँडी।
सुखीलाई मनमा नरमाइलो लाग्यो। आजसम्म कति दिन सुखी खाना नखाई काममा आएकी थिई। कति दिन साँझ अबेरसम्म काम गरेकी पनि थिई। तर आज सानो कुरालाई आफैँ बढाई-चढाई गरेर अनुमानकै भरमा गाली गरी सन्काहा जस्तो व्यहोरा देखाउने हाकिमप्रति उसमा वितृष्णा जाग्यो। उसले मनमनै खेद जनाई।
'छ्या! यो हाकिम त कार्यालय आफ्नै बाउको पेवा जस्तो पो गर्छ त। उसकै नोकर त होइन नि हामी। हाम्रो कामको सम्मान र मूल्यांकन गर्ने त कता हो कता। एकदिन भोकभोकै काममा केहीबेर ढिलो आँउदा समेत नानाभाँती भन्दै हकार्छ।'
सानालाई ऐन ठूलालाई चैन जस्तो गरी प्रत्यक्ष विभेद गरेको उसलाई बुझ्न कुनै आइतबार कुर्नु परेन। सकिनसकी मरी मेटेर काम गरेको कार्यालयमा समेत उसको अपमान र आत्मसम्मानमा परेको ठेसले उसलाई जागिर पेसाप्रति नै विरक्त लागेर आयो। नैतिक हिसाबमा स्वच्छ सुखीलाई आजसम्म कसैले त्यसरी अनैतिक आरोप लगाएको थिएन। उसलाई झनै पर्नुसम्म चोट पर्यो। मन गह्रुंगो भयो। तर कहिलेकाहीँ गल्ती अन्जानबस भएको हुनसक्छ भन्दै चित्त ठूलो पारेर आफैंलाई सम्झाई बुझाई गरी।
बेलुका कार्यलय सकिने बेला हाकिमले कुरा बुझेर माफी माग्नु त कता हो कता झन् फेरि जान्ने पल्टेर सम्झाउन खोजे। आफूलाई मात्र ठिक र अरुलाई जहिल्यै बेठिक मात्र देख्ने हाकिमको व्यहोरा देखेर सुखीलाई बोल्न उपयुक्त लागेन। ऊ त्यहाँ चुपचाप सुनीरही र विरक्त मान्दै घर आई।
आज उसलाई केही गर्ने जाँगर चलेन। फेसबुक खोली। हाकिमको पाँच घण्टा अगाडिको स्टाटस ट्याक्क देखापर्यो-
'श्रमको उचित सम्मान गरौँ। नयाँ नेपालमा नयाँ सोचका साथ अघि बढ्न हातेमालो गरौं। श्रम दिवसको शुभकामना।'
'हैट! यो हाकिम भै खाएको मान्छे त खतरनाक पो रहेछ' सुखीको मनले भन्यो।
काममा अलिकति ढिलो भएको बेला सुधारवादी देखिन उल्कै मच्चिएर आफ्नै तल्ला तहका कर्मचारीको हुर्मत लिन पनि पछि नपर्ने तर यता फेसबुकतिर बहुत मिठो स्टाटस हालेर गाउँतिरका सोझासाझाको अगाडि बहुत क्रान्तिकारी र अग्रगामी बन्ने हाकिमको द्वैध चरित्र उसलाई असह्य भयो। यो कुराले उसलाई अलिक दिन निद्रा नै लागेन।
केही दिनपछि हाकिमले आफ्नै गाउँकी अर्की बहिनीलाई आफू अविवाहित भनेर बिहेको लालच देखाएर घुमाउन लगेको थाहा पाएपछि सुखीलाई झन् खपिनसक्नु भयो।
'थुक्क! पापी' सुखीका ओठहरू कामे।
पहिले आफैले नमस्कार गर्ने गरेका हातहरू अहिले बेस्कन मुठ्ठी परेको जस्तो सुखीलाई लाग्यो। अनि हाकिम, हाकिम्नी, उनीहरूको बच्चा र हाकिमसँग बिहे गर्न तम्सिएकी बहिनीको मुहार पालै पालो याद आइरहे। उक्त दिन नैतिकताको प्रश्न सोध्ने बित्तिकै आफ्नो आवाज आफै बन्द गरेका हाकिमको पनि आफ्नै खालको नैतिक विवशताको परिधि अनुमान लगाएपछि सुखीलाई हाकिमप्रति नै झन् दया पो लागेर आयो।
सुखीको मन सम्हालियो अनि आफैँ हलुका भयो। बल्ल अब ऊ आनन्दले सुत्न सक्न भई।
भोलिपल्ट कार्यलयको ढोकामै पछाडिबाट कसैले बोलाएजस्तै लाग्यो। सुखीले फर्केर हेरी। हाकिम ज्ञानी बच्चा झैं नचलमलाई उभिरहेका थिए। उनको अनुहारमा आत्मग्लानीको लहर पानी झल्केजस्तै छल्किरहेको थियो।
'नमस्कार! आरामै हुनुहुन्छ?'
सुखीले हाकिमतिरै नहेरी यत्तिमात्र भन्न भ्याई र जवाफ नकुरीकनै फटाफट कुचो लगाउन थाली। हाकिमले बोलेको सुखीको कानमै आइपुगेन, उतै हावामै फुस्स कतै हरायो।
पहिले यस्तो हुने थिएन तर किन हो फेरि आज धेरै दिनपछि सुखीले कार्यालयमा मन चङ्गा बनाएर काम गरी।