दसैँ-तिहारको लामो घर बसाइ सकेर काठमाडौँ आएको केही हप्ता मात्र भएको छ। तराईको फाँटमा जाडो बल्ल सुरु हुन लाग्या छ रे, हिजो कुरा हुँदा बहिनीले फोनमा भनेकी थिई। तर काठमाडौँमा जाडो खपी नसक्नु छ, मंसिर महिनामै। शिवरात्री आउन त धेरै दिन बाँकी नै छ।
काठमाडौँमा शिवरात्रीपछि जाडो कम हुन्छ भनिन्छ। अहिले त बिहान विस्तरा छोड्न पनि सकस नै हुन्छ, सिरकमै धेरैबेर गुटुमुटु भएर बस्न मन लागिराख्छ मलाई। लामो अन्तरालपछि आजैबाट कलेजमा बिबिएको पढाइ सुचारु हुने तालिका पनि छ। त्यसैले जुरुक्क उठेर दैनिक नित्यकर्म सक्छु अनि खाना खान्छु।
मिडल क्लास फेमलीमा हुर्केको, बढेको। त्यसैले खाना भने सहजै बनाउन सक्छु म, मिठो नमिठो समय र मनले प्रभाव पार्दो रहेछ। तर जे होस् खाना खानेबेलामा मेरी आमाले पस्केर दिएको खाना सम्झिँदै मिठो मानेर खान्छु। हुन त आमाको माया र मिठो खाना दुवै थिएन मेरा अगाडि। अब भने कलेज पुग्ने तयारी छ मेरो। आधा घण्टाको बस यात्रापछि म कलेज पुग्छु।
कक्षा कोठाको बसाइ बाल्यकालको भन्दा धेरै फरक भने छैन। केवल केटा र केटी छुट्टिएर बसिन्थ्यो अब भने त्यस्तो छैन्, सँगै बसे नि फरक पर्दैन। तर मेरो स्वभाव भने उस्तै छ, मन उस्तै छ, भावना उस्तै बाल्यकाल जस्तै तर जिम्मेवारी बढी बोध हुन लागेको छ मलाई। अध्ययनमा केही राम्रो गर्नुपर्छ भन्ने लाग्छ मलाई, आफ्नो करियर राम्रो बनाउने सोचमा छु।
म सोच्न जान्ने पनि भइसकेको छु, अब त। तर के गलत, के सही भन्ने हेक्का त्यति हुन्न। यति सोच्दै के थिएँ कक्षा सुरु हुन्छ। आज पहिलो दिन भएर होला, आधारभूत कुराहरू मै सरले हामीलाई प्रश्न प्रतिप्रश्न गरिराख्नु भएको छ।
कक्षा सुरु भएको करिब १५ मिनेटपछि एकजना साथी म बसेको बेच्नमा बस्छिन्। मलाई केही असहज लाग्छ, आजसम्म कक्षामा केटी साथी सँग-सँगै नबसेकोले होला। अघिसम्म सरको बोलीमा मेरो ध्यान थियो तर अब उनीतिर तानिन्छ। यसो फर्केर हेरेको मात्र के थिएँ, उनैलाई हेरिरहुँ जस्तो लाग्यो।
उनलाई हेर्दै गर्दा उनले पनि आफ्नो टाउको फनक्क घुमाइन्, आँखा जुध्यो। मेरो नजर उनीबाट एकछिनको लागि टाढिँदैन। मैले त उनलई 'हेल्लो' भन्न नि बिर्सिएछु। उनैले मलाई हेल्लो भनिन्, अनि पो म झसंग भएँ। त्यसो त मेरो नमस्कार भन्ने बानी छ। तर पनि उनको हेलो सम्बोधनलाई मैले पनि हाई फर्काइदिएँ तर पनि मेरो उकुसमुकुस कम भएको छैन।
पढाइको ध्यान एकछिन शून्यतामा बिलाउँछ। उनको सुन्दरता र शालीनताको लागि समर्पित भएर होला। यसैबीच हामीबीच इसारामा नै केही संवाद हुन्छ, तर विशेष केही हैन, मात्र सञ्चो विसञ्चोको कुरा गरेजस्तो। कक्षा त सकिन्छ, अनि मात्र केही सहज महसुस हुन्छ। सहज महसुस भए पनि मुटुमा कसैले मायाको बीउ रोपिदिएजस्तो लाग्छ, केही नयाँ लाग्छ, केही फरक लाग्छ, अरु दिनभन्दा केही अलग अलग।
अर्को बेन्चमा रहेको मेरो पहिलादेखि चिनेको साथीसँग म केही कुरा गर्छु र फेरि आफ्नै स्थानमा आएर बस्छु। आज धेरै दिन पछिको पहिलो दिनको कक्षाहरू भएकोले होला धेरै समय त्यसै खाली नै छ। केही कुरा गर्ने पर्खाइमा छु, म उनीसँग हेल्लो र हाईमात्र हैन अझ केही कुरा गरौँ भन्ने सोचमा छु।
मौसम पनि चिसो नै छ आज, काठमाडौँमा। यसै मौसमले केही बोल्ने ढोका खोलिदियो। हामी बीचको आइस ब्रेक भएजस्तो महसुस भयो मलाई। जानेकै कुरा राखेँ, 'आज असाध्यै चिसो छ है?'
उनले पनि 'अँ है? कति चिसो' भन्दै प्रतिउत्तर दिइन्।
'चिसोमा त मनग्यै लुगा लाएर आउनु पर्थ्यो नि' भनेर सुझाव पेश गरेँ।
'लुगा त लाकै हो, तर चिसो लाग्लाजस्तो लागेको थिएन, तर ठिकै छ कक्षामा बस्दा चिसो छैन नि।'
'चिसोमा न्यानो चाहिन्छ,' भनेँ मैले।
'लुगाले मात्र त के न्यानो हुन्थ्यो!,' भनिन्।
'आगो ताप्दा न्यानो होला नि है,' भनेँ मैले।
'हैन नि,' भनिन् र मुसुक्क हाँसिन्।
मैले 'कुरुसे स्विटर भा भए हुन्थ्यो नि' भनेँ।
उनले फेरि हैन भनिन् र मुसुक्क हाँसिन्। मैले आशय नबुझे झैँ भयो र उनले 'बरु हुडीले पो न्यानो होला कि' भनिन्।
मैले उसको नाम सोधेँ। उसले 'रिना' भनिन्।
मैले अनुहार खुम्चाएजस्तो मानिन् क्यार, सोधिन्, 'नाम मन परेन कि क्या हो? नपरेको भए तिमी नै राखिदेऊ न।'
'रिनामात्र त के भन्नु बरु 'ए' रिना भनेर बोलाउँछु नि है?'
'मेरो नामको अगाडि 'ए' सम्बोधन किन नि?'
'यसले पूर्णता दिन्छ? मेरा लागि रिनालाई जिवन्त बनाउँछ, सत्य बनाउँछ अनि इमान्दार पनि, त्यसैले।'
यति कुरा गर्दै के थियौँ अर्को कक्षा हुने भएछ। सर पनि आउनु भएछ। सामान्य रुपमा कक्षाको सुरुआत गर्नुभयो सरले। केही नयाँ कुरा खासै राख्नु भएन, सायद पहिलो दिन भएकोले होला। कक्षा करिब २ बजे नै सकिन्छ आज। निस्कँदै गर्दा केही कुरा गर्छौँ। एकअर्काको बस्ने ठाँउ सोध्छौँ। अनि आजलाई छुटौँ है भन्दै हामी फर्कन्छौँ।
म मायाको विजारोपनको आभाषले केही सोचमगन छु आज। मेरो बस्ने कोठामा हिजोभन्दा आज केही फरक माहौल छ। लाग्छ कोठाका भित्ता पनि हँसिलो छ। ऐनामा मेरै मुहार पनि चम्किलो छ। आफ्नो चक्किलो अनुहार हेरेर आफै दंग हुन्छु अनि भित्ते ऐनामा भएको आफ्नो प्रतिबिम्बलाई भाग्यमानी सम्झन्छु। आजको दिन यसरी नै बित्छ।
भोलिपल्ट फेरि म खाना खाएर कक्षा जाने तयारीमै छु। हिजोभन्दा आज हामी नजिक छौँ, रिना र म। कुरा गर्न सहज भएको छ। कुरै कुरांमा हाम्रो सामीप्यता बढ्दै जान्छ, हिजोभन्दा आज। कुरालाई नै निरन्तरता दिऊँ जस्तो लाग्छ मलाई र सोध्छु, 'तिमीलाई मनपर्ने रंग के हो?'
उनी भन्छिन्, 'तिम्रो कुरुसे स्विटरको रंग साह्रै मन छुने छ है? कसैले गिफ्ट दिएको होकि क्या हो?'
मैले नि 'हो' भनिदिएँ।
मेरो स्विटर कलेजी रंगमा निलो छिर्काहरूले भरिएको थियो। स्विटर रंगिन भए पनि उनी केही रंगहीन बनिन्। उनको रंगहीन मुहार म धेरैबेर हेर्न सक्ने अवस्थामा थिइनँ। अनि मैले उत्तर फर्काएँ, 'मेरी दिदीले मेरो जन्मदिनमा दिएको विशेष उपहार हो यो त। अरु कसैले हैन। मेरी दिदी कुरुसे स्विटर बुन्न मन पराउनु हुन्छ, त्यसैले बजारको तयार पोशाकभन्दा उपाहारमा आफैले बुनेर दिएको वस्तुमा स्नेह झल्किन्छ भनेर होला।'
उनले सोधछिन्, 'कुरुसे स्विटरभन्दा त हुडी न्यानो होला नि है?'
तिमीलाई किन्दिन्छु नि त हुडी, अनि भन है कतिको न्यानो हुनछ। मेरो लागि त यही न्यानो छ,' मैले उत्तर फर्काएँ।
उनी भन्छिन्, 'हुडीले शरीर र टाउको दुवै ढाक्छ भनेर भनेको। मनले खोजेजस्तो न्यानो त हुडीले पनि कहाँ दिन सक्छ र?'
हाम्रो कुराकानी अब झन्-झन् बढ्छ, हिजोभन्दा आज झन्-झन् सामीप्यता बढ्छ। उनको पर्खाइ मेरा लागि र मेरो पर्खाइ उनका लागि निकै मूल्यवान भएको छ। एकअर्काप्रति अफ्नोपन महसुस हुन्छ अब त। मेरो मुटुमा उनले रोपेको मायाको बीउ आज फक्रेको छ, लाग्छ अब सर्लक्क बढ्छ, उनैले मलजल गरिहाल्छिन्।
चिनेको थोरै दिनमा भएको हाम्रो सामीप्यता फिल्ममा भएजस्तै लाग्छ तर सोच्छु फिल्म त काल्पनिक हो, यो त वास्तविकता पो त। तर जे होस् हाम्रो बीचको सम्बन्ध अब प्रगाढ छ, एकाग्र छ अनि स्थिर पनि छ। तर पनि उनको मनको कुरा बुझ्ने मेरो प्रयास भने जारी नै छ।
आज मंसिरको २८ गते, उनको जन्मदिन । उनको जन्मदिन मेरो लागि पनि अब खास दिन बनिदियो। जन्मदिन मनाउन साथीहरूबीच नै बस्ने कुरा भयो। मैले उनको जन्मदिनको उपहारका रुपमा उनलाई मनपर्ने निलो रंगको हुडी नै किनिदिएको छु। कम्तीमा यस जाडोमा न्यानो त होला भनेर। उनलाई मैले त्यही उपहार दिन्छु। मैले किनिदिएको हुडी उपर उनको प्रतिक्रियाको पर्खाइमा छु म।
जाडो बढेसँगै अंग्रेजी नयाँ वर्ष २०२२ पनि आउँछ। यो नयाँ वर्ष हाम्रो परिवेश, भेष र देश कहीँकतै मिल्दैन तर पनि सबैले मनाउने गर्छन्, चलन नै यस्तै छ। त्यसैले हामी ब्याचका सबै सर्ट टुर गएर नयाँ वर्ष मनाउने जमर्को गर्छौं तर केही फरक छ यस पटक। हामी नुवाकोट तिर जाने र नयाँ वर्षको पूर्वसन्धयामा त्यतै होम स्टेमा बस्ने गरी सबै प्रबन्ध मिलाउछौँ।
टुर जाने दिन पनि आएछ। अंग्रजी वर्ष २०२१ को अन्तिम दिन दिउँसो २ बजे हामी जाने तयारीमा छौँ। म पनि उनको पर्खाइमा थिएँ नै, उनी पनि आँउछिन्। म उनीसँगै सँगैको सिटमा बस्छु। हामी २८ जनाको यात्रा अव नुवाकोट तिर लम्किन्छ, भाडाको एक मिनी बसमा।
यात्रा अवधिभर हामी हाँसो गर्दै पुग्छौँ। आजाको यात्राको गन्तव्य त्रिशुली पुग्छौँ। अनि हाम्रो तय भएको होमस्टेमा बस्छौँ, त्रिशुली नदीको किनारमा। चिसो बतास चलिरहेको छ। जाडोको अनुभव धेरै छ। तर हामी सबै बात मार्दै बस्छौँ। केही समयपछि जाडो झन्-झन् बढ्छ। उनी भन्छिन् यहाँ चिसो त साह्रै बढेको छ, ठिउरिने चिसोले बिरामी पारिन्छ कि क्या हो?
केही बेरमा हामी सबै आगो बालेर आगो ताप्छौँ। न्यानो हुने जति सबै विस्तारै कोठा कोठामा सुत्न जान्छन्। अन्तमा उनी र ममात्र बाँकी हुन्छौँ। सायद उनको जाडोको समाधान आगो पनि होइन रहेछ, मैले किनिदिएको हुडी पनि होइन रहेछ। अनि मैले सोधेँ, 'ए रिना, तिमीलाई साह्रै जाडो लाग्या जस्तो छ, अँगेनेको छेउमा बस्दा पनि ठिउरिएकै छौ।'
फेरि म सोध्छु, 'तातो चिया खान्छौ?'
उनी भन्छिन्, 'चियाले पनि के न्यानो होला र?'
त्यसो भए मैले लाएको कुरुसे स्विटर लाउन त' भन्दै आफ्नो स्विटर फुकालेर उनलाई दिन्छु। उनी उठ्छिन् र मसँग अझ नजिक, अझ नजिक हुन्छिन्। उनको बढ्दो पाइलासँगै मेरो पनि पाइला उनीतिर नै बढ्छ। हामी एकआपसको नजिक छौँ अब। लाग्छ मैले पनि उनको मुटुमा रोपेको मायाको बीउ उम्रिए छ अनि फक्रिएछ।
उनी अझ मेरो समीप हुन्छिन् र भन्छिन्, 'यो जाडोमा कुरुसे स्विटर हैन माया, तिम्रो न्यानो अँगालो चाहिएको छ।'
मेरो अँगालो उनको लागि खुला हुन्छ, दुवै हात फैलिन्छन्। उनी मेरो अंगालोमा बाँधिन्छिन्, मेरो ओठ उनको निधारमा स्पर्श गर्छ र म पनि भन्छु, 'मेरो यो अँगालो जन्म-जन्मको लागि तिमीलाई नै न्यानो दिनको लागि बनेको हो माया, अरुको लागि हैन्। यो न्याना अंगालो तिम्रै हो, मात्र तिम्रो।'