हिजो राती सपनीमा
निद्रा र तन्द्राको बीच बाटोको गौडो छेक्नेगरी
पृथ्वीनारायण सोध्छन्
नेपाल मुलुकको ताजा खबर
म साधारण मनुक्खे
के भन्न सक्थेँ र बस् बिन्ती बिसाउँछु।
पालैपालो कहिले मोटे, कहिले पातले
काले, गोरे, अग्ले, पुटके
लवेदा सुरूवाल लाउनेदेखि टाई-सूट लाउने सम्मका
टाउका फेरिए, टाउका माथिका टोपी फेरिए
तिनका श्रीमतीका धोती र चिल्ला बाहन फेरिए
बाँकी रहे त फगत भित्तामा गमक्क परेका तिनका फोटोचित्रहरू।
तन्त्रै तन्त्र, वादै वाद,
कहिले समाजवाद कहिले साम्यवाद र कहिले माओवाद
प्रजातन्त्रको कच्ची बाटोका भंदालोमा उचाल्दै थेचर्दै गर्दा पनि
लोकतन्त्र अनि गणतन्त्रसम्म कसोकसो ज्यान जोगाएको
म निमुखा
के बयान गरुँ र सरकार?
बा भन्नुहुन्थ्यो,
बाबु, भाइ फुटे गवार लुटे
यहाँ त दक्खिनको ठूल्दाइले
पश्चिमको नाकै काटेर लगिदिन्छ
अनि कहिले बेलुका सुत्दा सग्लो बाली
बिहान उठ्न नपाउँदै अर्कैले स्याहारिसक्छ
दुई किलो चिनी र ५ किलो मैदा बोकेर आएको
पप्पूलाई छानी छानी गोद्छ बिएसअफ।
कानको लोती तात्नेगरी
बाघे झाप्पु भेटेपछि मर्जी हुन्छ सरकारबाट
थुइक्क पाजी!
आगो खाएर अंगार निकाल्नेको सन्तान भएर
लाछी कुरा गरेर पसिना काढ्छस्
झल्यास्स बिउँझन्छु र बिपनीमा प्रण गर्छु।
सिंगापुरको लि क्वीन जस्तो
नेपोलियन बोनापार्ट जस्तो
केही मात्रामा माओत्से तुंग जस्तो
देश बनाउने आँट भरिएको चौडा छाती भएको
नेपाल आमाको सपूत खोजिरहेछु
२० वर्ष ढुक्कले देश बनाउने ठेकेदार जसले
घरको कुकुर बिरालो मर्दा रत्नपार्कमा चक्काजाम गर्ने
पाङ्दुरेहरुका पासुलाको मासु फर्काओस्।