दिनहरू कति किम्ती हुनेथिए मेरा लागि
अनि रातहरू अविस्मरणीय
क्षणहरू अमूल्य
अनि साथ अजम्बरी हुने थियो
यदि तिमी मसँग, मेरो भइदिएको भए
खैर
माया! माया शब्दको अर्थ त तिमी भेटेपछि बुझेको हो
तिमी त्यही मायाको पर्यायवाची हो
तिमी त्यसको उदाहरण हो
हो माया! माया सबथोक हो, अनि मेरो तिमी हो
हेर त
यो कस्तो विडम्बना भयो माया
तिमीलाई मैले चाहेँ
उसले पनि तिमीलाई चाह्यो
मैले के पाएँ?
अनि उसले तिमीलाई पायो
उसैले तिमीलाई अपनायो
अनि फेरि मैले सकिनँ त भनौं होला?
माया,
माया व्यक्त कसरी गर्ने मैले जनिनँ होला
वचनको वजन तलमाथि भयो होला
वञ्चित भएँ म माया, यो मायादेखि
बज्रपात वर्षिए झैँ भयो
अब हेर
यो बर वयस्क भयो
बधु सँगको बन्धनको कुरा चर्किँदै छ
विंश र वंशावलीको कुरा उठाउँछन्
तर विवश विभत्स छु म
ल ठिकै छ
म मेरो मायाको त्याग गर्छु
म मेरो ज्युँदो मुर्दा शरीरलाई दागबत्ती दिन्छु
म वर्तमानको र भविष्य दुवैको प्रवाह गर्दिनँ
तिमी खुसी हुनपर्यो
ब्रह्माण्ड खुसी हुन्छ, म को हो र?
बस् मेरो जिन्दगी त यसै चल्छ
जसरी मरेको माछा पानीमाथि बग्छ।