प्राडो, पजेरो, अर्मानी सुट देखियो
सत्ता सरकार र साथ पनि देखियो
सुकिलामुकिला, मिठामसिना देखियो
केही ठालु जन्मे, केही व्यापारी जन्मे, केही झुटा।
पाएन उसले जे पाउन लडेको थियो
कलकारखाना अस्पताल विश्वविद्यालय बाटोघाटो
चाहिएको थियो, पाउने आश थियो
बुनेको थियो सपना, कोरेको थियो रचना
पायो त उसले झुटा वाचा, ठूला गफ
भ्रमले लट्पटिएका केही थान सपनाहरू।
यो देख्दा त्यो सुन्दा
ती बुढा रुखले, खोलाले
भर्खर उमर्न लगेको नवीन पालुवाले
भुर्र-भुर्र उडान भर्न सुरु गरेको चराले
सपना छाडेर, गरिबी देखाएर
खोजिखोजि बर्मन बालाई चिठी पठाउँछन्
कहाँ हराउनु भयो बा भनी बिलौना पोख्छन्।
चित्कार, पुकार सुनेपछि
बाले आफ्नो खाली खुट्टा देखाए
औंलाले इसारा गर्दै
दुई/चार वटा क्याबिनेट कुर्सी
सभामुख र उपराष्ट्रपतिको कुर्सी सिकाए।
सम्झिँदै छन्
आधी तुफानसहित दस वर्षे कठिन यात्रा
क्रान्तिको बिगुल फुकेर बनाएका राता मान्ठ
उकाली ओराली गरेर एक भएको
समाजवादी साम्यवादी बुनेका सपना
च्यात्तिएको हेर्दै छन्
धोकाले भरिएको रोल्पाको रुप हेर्दै
साउने भेलजस्ता आँसु पोख्दै
बा रुदैं छन्।
बाको आँसु देखिपछि, अवस्था सुनेपछि
वरपरका नमुना पालुवा हेरेपछि
आकाशबाट गिद्द दिनहुँ गिज्याइरहन्छ
झुपडीमा टोकलिरहन्छ, अझ ठुङ्गिरहन्छ
देखिस् तेरो समाजवाद भन्दै सताइरहन्छ।
रोल्पाले पाएर पनि नपाएको देखेर
एक थान सपना बाल्टीमा डुब्न तयार भए
केही जोडी भरोसाहरु परदेशी हुन तम्सिए
केही थान आशाहरु झुपडीमा पर्खिरहे
रोल्पाका रहर अनायासै रुमल्लिरहे।