जन्मियो बच्चा, दूधे बालक हुँदै युवा भयो
घरको गरिबीले, रोजी-रोटी जोड्न विदेश गयो
पचास डिग्रीको तातो बालुवासँगै सपना बुन्दै
अहिले त मोबाइल छ हातमा घरका वेदना सुन्दै
हो, म युवा देश बनेको हेर्न चाहन्छु
आफ्नै जीवनकालमा देश फेरिएको देख्न चाहन्छु।
अलि मध्यम वर्गको म, पढ्न लेख्न पाएँ
उच्च शिक्षा लिन विदेशसम्म पुग्न पाएँ
पढिसकेर देश बनाउँछु भन्दै फर्केर आएँ
न जागिर पाएँ, न सम्मान पाएँ फेरि विदेश आएँ
हो, म युवा देश बनेको हेर्न चाहन्छु
आफ्नै जीवनकालमा देश फेरिएको देख्न चाहन्छु।
हाम्रै युवाहरू, विदेशको प्रयोगशालामा अनुसन्धान गर्दै
हाम्रै युवाहरू, हरेक दिन खाडीबाट लास बनी फर्किदैं
हाम्रै युवाहरू, देशमै जिन्दावाद/मूर्दावादको नारा घन्काउँदै
माग पूरा गराउन, सडकमा टायर बाली आगो दन्काउँदै
हो, म युवा देश बनेको हेर्न चाहन्छु
आफ्नै जीवनकालमा देश फेरिएको देख्न चाहन्छु।
कोही युवाहरू कोरिया-जापान छन्, भाषा पढ्न
देशमै सबै भए, किन आउँथे अर्काको भाषा पढ्न
जति दुःख गरे पनि, म मेरै देश फर्किन चाहन्छु
श्रम-पसिना आफ्नै माटोमा चुहाउन चाहन्छु
हो, म युवा देश बनेको हेर्न चाहन्छु
आफ्नै जीवनकालमा देश फेरिएको देख्न चाहन्छु।