धेरै दिन भएको थियो उसले ननुहाएको, शरीरबाट दुर्गन्ध आइरहेको थियो।
'हैन, कति फोहोरी भएर बस्न सक्या हो हँ? गन्हाएर सँगै बस्न नसकिने भैसक्यो। कहिलेकाहीं नुहाए पनि त हुन्थ्यो नि। अल्छी पनि कति हुन सक्या हो कुन्नि?' उसको श्रीमती फत्फताई।
ऊ केही बोलेन। तर श्रीमतीको गाली सकिएको थिएन।
'हेर त्यो कपाल अनि दाह्री? कति भयो नकाटेको? दार्शनिक हो कि अर्धपागल? देख्नेले पनि के भन्लान हँ? अलिकति त लाज पनि लाग्नुपर्ने हो ए? आफ्नो बारेमा सोच्ने दिमाग नभए पनि मेरो बारेमा, छोराछोरीको बारेमा त सोच। पोइभन्दा पनि मलाई त लाज लाग्ने भैसक्यो।'
श्रीमतीको ती तिखा कर्णभेदी वचनहरू उसका कानहरू छेडेर सोझै मुटुमा गएर बिझे।
हुन त उसलाई रिस उठेको थियो तर उसकी श्रीमतीले भनेको ठिकै थियो। उसले सोच्यो- कति सधैं फोहोरी भए बस्नु? आज त दाह्री काट्नु पर्यो अनि नुहाउनु पनि पर्यो। आफू बसको पेटीबाट जुरुक्क उठेर उसले कमिज फुकाल्यो अनि भित्र गएर पिर्का, दाह्री काट्ने मेसिन, ऐना अनि लोटामा पानी ल्याएर पेटीमा पिर्कामा बस्यो र ऐनालाई त्यही लोटामा अड्याउँदै दाह्रीमा पानी लगाउन थाल्यो।
धेरै भैसकेको रहेछ उसले ऐना नहेरेको, उसले आफूलाई ऐनामा साँच्चै नै निकै फोहोरी र बुढो देख्यो। आफूलाई धेरैबेर नियाल्यो। कुनै दिन शारीरिक सुगठनको प्रतियोगितामा भाग लिन सुहाउनेजस्ता उसका हातहरू सुकेर सिन्का जस्ता भएका थिए, खुट्टाहरू लिङ्गो गाड्ने निगालोका लठ्ठीजस्ता भएका थिए, गालाहरू चाउरी परेर भित्र पसेका थिए, हातहरू खस्रा भएका थिए, नङहरू फुटेका थिए अनि छातीका करङहरू स्पष्ट देखिन्थे।
कुनै दिन थियो ऊजस्तै उसका बाले पनि त्यही पेटीमा पिर्कामा बसेर त्यसरी नै दाह्री काट्थे। उसको बा र उसको कुरा कहिले मिलेन। उसले बालाई मन पराउँदैनथ्यो। बाले जहिले पनि उसलाई काम गरेन भनेर या पढेन भनेर गाली गर्ने गर्थे। बाको जागिर थिएन। उसलाई बाले गाली गर्ने बाहेक केही काम गर्दैनन् जस्तो लाग्थ्यो।
खेतबारीमा पनि आमाले र आफूले मात्र काम गरेको देख्थ्यो। त्यसमाथि उसका बा ख्याउटे र फोहोरी थिए। साथीहरूसँग आफ्नो बाउ भनेर भन्न पनि उसले लाज मान्थ्यो। तर उसलाई आफ्नो बाको रुद्रघण्टी निकै राम्रो लाग्थ्यो। उसलाई आफ्नो पनि त्यस्तै रुद्रघण्टी भए हुन्थ्यो भन्ने चाहना थियो।
'बा, मेरो रुद्रघण्टी किन छैन?' पेटीमा बसेर बेलौतीको पात र सुर्तीको पात मिसाएर बनाएको कक्कडको सुल्फा मैला, नङ फुटेका र चाउरिएका हातको बीचमा राखेर तान्दै गरेका बालाई उसले सोध्यो।
'तँ अझै बच्चा छस्, ठूलो भएपछि आफै आउँछ,' बाले सोझो उत्तर दिए।
'कति ठूलो भएपछि?' उसले सोध्न छोडेन।
'जुँगाको रेखी बस्न थालेपछि,' बाले हावामा धुँवा उडाएर खोक्दै भने।
कतै आइ पो हालेको छ कि भनेर बाको विश्वास नमानेर उसले आफ्नो मोटो घाँटी छाम्यो तर रूद्रघण्टीको अत्तोपत्तो थिएन। अनि घाँटीमा लगाएको हात फुक्दै ठूलो भएपछि आइहाल्ला नि भनेर मन बुझायो।
उसलाई रुद्रघण्टीको भूत चढ्नुमा दुई वटा कारण थिए- पहिलो कुरो त बाबुको रुद्रघण्टी देखेर उसलाई लोभ लाग्थ्यो। बाको शरीर निकै दुब्लो थियो, कुपोषण लागेको जस्तो। उनको पातलो लामो घाँटीको बीचैमा चराको चुच्चो जस्तो तिखो अनि ठूलो रुद्रघण्टी थियो। उसलाई त्यो निकै सुन्दर लाग्थ्यो।
त्योभन्दा पनि रमाइलो बाले लोटाबाट जुठो नहाली अलग्ग पानी पिउँदा हुन्थ्यो। जब आकाशतिर हेरेर लोटाबाट बाले आँ गर्दै आफ्नो मुखमा पानी खन्याउँथे, पानी निल्दा 'क्याँक, क्याँक' आवाज निकालेर साँच्चै चरा नै कराएको हो कि जस्तो गरेर उनको त्यो रुद्रघण्टी बज्थ्यो। उसलाई त्यो हेर्न निकै रमाइलो लाग्थ्यो।
अनि दोश्रो कुरो चाहिँ स्कुलमा सहपाठीहरूका रुद्रघण्टी दिन प्रतिदिन स्पष्ट हुँदै थिए तर उसको भने अत्तोपत्तो थिएन। 'यसको त रुद्रघण्टी नै छैन' भनेर केटाहरूले जिस्काएर हैरान पार्थे।
तर एकदिन उसले देख्यो- आमा ठूली भैसकेकी भए पनि उनको पनि रुद्रघण्टी थिएन।
'बा, आमाको रुद्रघण्टी किन छैन त?' फेरि उसले बालाई सोध्यो।
'तेरी आमा आइमाई हो, त्यसैले छैन।'
'आइमाईको किन हुँदैन त?'
'रुद्रघण्टी पुरुषको प्रतिक हो। मर्दको पहिचान। त्यसैले केटा मान्छेहरूको घाँटीमा मात्र हुन्छ।'
'अनि किन रुद्रघण्टी भन्छन् त?'
'रुद्र भनेको शिव। शिव भनेको पुरुष देवताका प्रतिक, सबैभन्दा शक्तिशाली देवता अनि त्यसैले उनको घाँटीमा भएको हुनाले यसलाई रुद्रघण्टी भनिएको हो,' साच्चै त्यसै हो कि होइन उनलाई पनि थाहा थिएन तर बाले आफूले बुझेको उत्तर दिए।
त्यो सुनेर उसलाई रुद्रघण्टी प्रतिको मोह झन् बढ्यो। तीन/चार दिन बिराएर उसले ऐना हेर्थ्यो कतै रुद्रघण्टीको टुँसा पलाइहाल्यो कि भनेर तर समय नहुँदै किन पलाउथ्यो र? बाले भने झैं उसले आफ्नो जुँगाको रेखी बस्ने समय कुरेर बस्यो।
एकदिन ऐना हेर्दा नाकको डाँडीको तल ओठका डिलमा काला रौँका रेखा बसेको देखेपछि अब त रुद्रघण्टी आयो होला भनेर उसले आफ्नो घाँटी नियाल्यो तर अहँ! रुद्रघण्टीको अत्तोपत्तो थिएन। हातले विस्तारै छाम्यो कतै सुरसार पाएन। घाँटीबाट हात निकालेर हात फुक्यो अनि गएर बारीबाट घाँस बोकेर आउँदै गरेका बालाई उसले सोध्यो, 'बा, मेरो रुद्रघण्टी किन आएन?'
'हैन, के भा छ हँ यसलाई? ज्यान फालेर रुद्रघण्टीको पछि लाग्या छ। जा, गुर्जे बाँडाको घर गएर त्यसलाई एउटा घण्टी बनाउन भन् अनि त्यही झुन्डाएर बजाउँदै 'मेरो पनि रुद्रघण्टी छ' भनेर सप्पैलाई देखाउँदै हिँड,' घाँस पेटीमा राख्दै बाले राम्रैसँग हकारे।
'जुँगाको रेखी बसेपछि आउँछ भन्या हैन त?' ऊ उल्टै रिसायो।
'आएन त के गर्ने त मैले, तेरो घाँटी तानेर निकाल्दिम्? कसैको छिटो आउँछ कसैको अलि ढिलो। अनि किन चाहियो तँलाई रुद्रघण्टी? रुद्रघण्टी फुकेर बजाउनी होस् र?'
'स्कुलमा सबै केटाहरूको आइसक्यो, मेरो मात्रै आएको छैन। सबैले मेरो रुद्रघण्टी छैन भनेर जिस्काउँछन्।'
'जिस्काउन दे न तो। तिनुरुले जिस्काएर के हुन्छ? वास्तै नगरे त, भै'गो नि। तेरो घाँटी मोटो भएर नदेख्या हो, थोरै खानी भा' पो हुन्छ। मेरो पनि पैली थि'न, पछि आ' हो। तेरो पनि पछि आउँच।'
'घाँटी मोटो भएर हैन, आ'कै छैन के, मैले दिनदिनै छामिरा'छु।'
बालाई निकै रिस उठ्यो अनि उनले रिसको झोँकमा, 'मर्द भा पो आउँच तो रुद्रघण्टी, तँजस्तो नामर्दको आन्न। कामसाम छैन त्यही रुद्रघण्टीको पछि लाग्या छ। जा भैँसीलाई घाँस हाल्।'
बाको मर्द वाला कुरोले उसलाई झनै दुखी बनायो। फेरि बालाई सोध्न उसलाई कहिले आँट आएन तर आफ्नो त्यो मोटो घाँटीमा पुटुक्क निस्केको रुद्रघण्टी नदेखिएसम्म आफू मर्द नभएको जस्तो उसलाई भान हुन थाल्यो। स्कुलमा केटाहरूले उसलाई झन् पछि झन् बढी जिस्काएर आबुकाबू बनाउन थाले।
केटाहरूको त्यही जिस्काइ सहेर जसोतसो उसको स्कुल सकियो अनि क्याम्पस पनि गयो तर अहँ उसको रुद्रघण्टीको टुँसा पलाएन।
चैत महिनाको एकदिन मुसुरो काट्न गएका बालाई चट्याङले सिमलको रुखमुनि ठहरै पार्यो। हुन त ऊ पनि बासँगै मुसुरो काट्न गएको थियो तर हावाहुरीसहित पानी पर्न थालेपछि ऊ घरतिर दौडियो। बा दौडिँदै बारीको पुछारमा ठिंग उभिएको सिमलको बोटमुनि गएर 'जामुनोको बोटमुनि छु' भन्दै ओत लागे। तर बाले सिमलको रुखलाई जामुनो भनेर झुटो बोलेकोले देउता रिसाए कि के भयो ऊ घर पुग्दा नपुग्दै सिमलको रुख नै दुई फ्याक भएर चिरिने गरी चट्याङले हान्यो। बा ऐय्या पनि भन्न नपाई त्यहीं ठहरै भए।
बाको निधनले उसलाई निकै दुखित बनायो। ऊ बाको मायाले गर्दा उनको निधनमा दुखित भएको थिएन, बा नभएपछि परिवारको सम्पूर्ण जिम्मेवारी उसको काँधमा आइपरेको हुनाले ऊ दुखित थियो। विधुवा आमा, भर्खरकी बहिनी अनि घरको सम्पूर्ण जिम्मेवारी कसरी सम्हाल्ने भनेर उसलाई डर पनि लागेको थियो। पढ्दा पढ्दैको क्याम्पस छोडेर बाबुको बिंडो सम्हाल्न ऊ घर फर्क्यो।
दुई कठ्ठा बारी र चार कठ्ठा खेतमा जति धेरै उब्जनी गरे पनि परिवारलाई खान पुर्याउन मुस्किल हुन्थ्यो। अझ आफ्नो पेट काटेर त्यही उब्जनीको केही अंश बेचेर बहिनीको पढाइ र घरको खर्च अरु पनि पुर्याउनु पर्थ्यो। तर कसरी पुगोस्? ऋण लिँदै उसले खर्च टार्न थाल्यो।
छोराको हत्ते देखेर सघाउने हात पनि होला अनि उसलाई सहारा पनि होला भनेर आमाले बिहे गर्न सुझाउँदै भनिन्, 'अब उमेर पनि भयो, तँलाई खेतबारीमा सघाउने मान्छे पनि चाहिएको छ। बिहे गर्।'
'बिहे गरेर खाने मुख मात्र बढ्ने हो आमा। अहिले बहिनीले सघाइहाल्छे, पछि सोचौँला,' उसले टार्न खोज्दै भन्यो।
'खाने मुख मात्रै बढ्ने होइन नि, सघाउने हात पनि त बढ्छ। मुख एउटा बढ्दा हात दुई वटा बढ्छ। ढिलो-चाँडो गर्नै पर्ने हो, टार्न नखोज,' आमाले कर गरिन्।
उसलाई बिहे गर्ने पटक्कै मन थिएन तर के गरोस् आमाको कुरो उसले टार्न सकेन।
आमाले भनेजस्तै एउटा मुखसँग दुईवटा हात त बढे तर दुई वटा हातभन्दा एउटा मुख निकै तगडा निस्क्यो। घरमा साना-साना कुरामा कलह हुन थाल्यो सासू-बुहारीको। कसको पक्ष लिनु कसको नलिनु? चुपचाप बीचमा पिसिएर बस्नु बाहेक उसले केही गर्न सकेन। सासू-बुहारीको गोरुको जुधाइमा ऊ बाच्छाको मिचाइमा पर्यो।
एक/दुई वर्षपछि बहिनी पनि ठूली भई, बिहे पनि गरिदिनु पर्यो। दुहुनो भैँसी बेचेर बिहेको खर्च टार्यो।
एकदिन घरमा फेरि अर्को खाने मुख पनि थपियो। छोरो पाएपछि उसलाई पनि खुसी लाग्यो तर सुत्केरीको र बच्चाको खर्चले गर्दा उसको ढाड सेकियो। फेरि अर्को दुई वर्षपछि अर्को खाने मुख पनि थपियो।
कमाई बढेको थिएन, खाने मुख बढेको बढ्यै, महंगी बढेको बढ्यै। गाउँका सबै केटाकेटी बोर्डिङ पढ्ने भएपछि आफ्ना ती चिचिलालाई पनि उसले सरकारी स्कुलमा पठाउन सकेन। कसरी धानोस् त्यत्रो खर्च?
उता भैंसी बेचेर बहिनीको बिहे गरेपछि दूध खान नपाएर आमाको जीउ पनि शिथिल हुँदै थियो। बा हुँदासम्म घरमा कहिले पनि दूध छुटेको थिएन तर उसले त्यसलाई निरन्तरता दिन सकेन। त्यो सम्झेर उसलाई निकै ग्लानी हुन्थ्यो तर भैँसी किन्न त्यत्रो रकम कहाँबाट ल्याउने? दिनदिनै दूध किनेर खान त झन् सोच्दै नसोचे भयो। दिन प्रतिदिन उसलाई ऋणले उठ्नै नसक्ने गरी थचार्यो।
घर व्यवहारले च्याँपेपछि उसको रुद्रघण्टीको भूत कतिबेला भाग्यो ऊ आफैले थाहा पाएन। त्यस्तो मोटो हृष्टपुष्ट लक्का जवान केही वर्षमा नै दुब्लाएर बाँसको लठ्ठीजस्तै भयो।
छोराहरू बढेका थिए, आमा बूढी र रोगी भएकी थिइन्, खर्च बढ्दै थियो। तर गरीखाने जग्गा बढेको थिएन, उब्जनी झन् पछि झन् कम भएको थियो, अतिरिक्त कमाइ अरु केही थिएन। ऊ दिनभरि बारीमा काम गर्थ्यो अनि घर फर्केर सधै टोलाएर बस्थ्यो। शरीर दुब्लाएर कंकालजस्तै भयो। दाह्री र कपाल पनि तिल र चामल मिसिएको जस्ता भए। चालिस नपुग्दै ऊ साठी वर्षको बूढो जस्तो देखियो।
धेरैपछि ऐनामा आफूलाई हेर्दा उसले आफूलाई पनि कुनै दिन पेटीमा दाह्री काट्न बसेका कुपोषण र पारिवारिक जिम्मेवारीको थकानले थेगिएका बाबुलाई जस्तै देख्यो। आफ्नो बाबुले कुनै दिन 'धेरै खाएर मोटो भयो' भन्ने गरेको त्यो घाँटी पनि पातलिएर बाबुको जस्तै एउटा हातले समाउन सकिने जस्तो भएको थियो।
उसले तनक्क घाँटी तान्यो अनि त्यतातिर नियाल्यो। उसलाई अचम्म लाग्यो- उसले यादै गरेको रहेनछ, उसको घाँटीमा एउटा सानो रुद्रघण्टी पुटुक्क उक्सेको थियो। कुपोषित अनि थकित त्यो शरीरमा रुद्रघण्टी देखेर उसलाई खुसीभन्दा बढी दुःख लाग्यो।