कति सुन्दर बगर!
बालुवाको ओछ्यानमाथि
ढुङ्गै ढुङ्गा सुतेको देख्छु
यताबाट हावा उड्छ
उताबाट हुरी कुद्छ
चापमा परेको बालुवा
बतासमा सवार हुँदै
अर्को ठाउँमा थुम्को बन्छ।
अनि कोही-कोही
बगर भो जिन्दगी भन्दै
उदास मनको बिरक्ती बालुवा उडाएर
नदी बालुवाको सम्बन्ध बिर्सिन्छन्
कति सुन्दर बगर!
कलकल जलको साथमा
बैँस धुँदै
सृष्टिको उद्गमदेखि
गन्तव्यको हरेक मोडमा
पानीलाई छेकाछेकी
उर्लँदो जवानी मैथुन गर्दै
बगेर सुतेको छ।
विचरा ढुङ्गाहरू
हृदयविहीन बनेर
बालुवामाथि रित्तै सुतेको देख्छु
अनि भन्न मन लाग्छ
धत्! हरिलट्ठक
कसैलाई कोरा ठानेर
किन जिस्काउँछस्
कत्रो छ महानता बगरको
अनि मोहनी जिन्दगीको
नगिज्या बालुवालाई
पानीसँगै जिन्दगानी
मोहनीमा तरङ्गित छ।