ऐनामा बसेर आफ्नो मुहार हेरेर मख्ख परिरहेकी मुनालाई मैले बिस्तारै भने ‘मुना अस्ति मैले राख्न दिएको पैसा देऊ न मलाई जरुरी पर्यो।’ उसले आक्रोशित हुँदै जवाफ फर्काई, ‘पैसा? कहाँबाट ल्याउँ म पैसा?’ व्यापार सबै ठप्प छ। त्यसमाथि हजुरको ड्याडीको सुगरको ट्रिटमेन्ट, ममीको प्रेसरको औषधी सबै गरेर घर खर्च चलाउन धौधौ छ। यस्तो बेलामा मसँग कसरी बच्छ पैसा?’
हुन त मलाई पैसाको त्यस्तो जरूरी परेको थिएन। उसको फजुल खर्च गर्ने बानीले वाक्क भएर नै केही पैसा बचोस् भनेर मैले उसँग पैसा मागेको थिएँ। तर हरेकपटक मुनाको शब्दको वाण यस्तो तिखो हुन्छ कि त्यसले मेरो मुटु छियाछिया पार्छ।
मेरो ममी र ड्याडीको औषधि उपचारको खर्चको समेत एक एक हिसाब राखेकी छे उसले। यही एकदिन शनिबार त फुर्सद हुन्छ मलाई। तै पनि मुना मसँग नजिकिन र कुरा गर्न खोज्दिन। अन्य दिन त मेरो यसै पनि हस्पिटल र बिरामी भन्दा भन्दै जान्छ।
त्यसमाथि विश्वव्यापी महामारीको रुपमा फैलिरहेको विभिन्न भाईरसको कारण आफ्नै ज्यान जोखिममा भएर तनावमा हुन्छु। अनि मेरी धर्मपत्नी जो मलाई हौसाला दिनुको साटो मसँग कुरै गर्न नपरोस् झै गर्छे। कति परिवर्तन भई मुना एक वर्षमै। विवाहभन्दा अगाडि त यस्ती पटक्कै थिईन।
ड्याडी, ममी, दाइ, भाउजु अनि म भएको सानो परिवार थियो हाम्रो। दाइले विवाह गरेको धेरै वर्ष भईसेकेको थियो। भाउजु पहिला नर्स हुनुहुन्थ्यो तर विवाहपछि उहाँले काम छोडिदिनु भयो। दाइले अस्ट्रेलियाबाट सिभिल ईन्जिनियरिङको पढाई सकाएर आएदेखि यतै बसेर काम गरिरहेको थियो। अझै पनि गरिरहेको छ। दाइको विवाह भईसकेको धेरै बर्ष भईसक्दा पनि बच्चा नभएकाले ममी आफ्नो हजुरआमा हुने ईच्छा मबाट पूरा होस् भन्ने चाहनुहुन्थ्यो।
उहाँलाई मेरो विवाहको निकै चिन्ता हुन थालेको थियो। एकदिन त ममी मेरो नजिक आएर भन्नुभयो। ‘बाबु, भाउजुको दिदीको छोरी छिन् रे एक जना जाउ न हेर्न।’ ममीको कुनै कुरा मैले अहिलेसम्म नकारेको छैन। यो कुरा पनि नकार्न सकिनँ। त्यसैले म ममीको ईच्छा अनुरुप दाइ र ड्याडीसँग केटी हेर्न गएँ।
केहीबेरमा ऊ हातमा चिया लिएर आई। काली काली तर हिस्सी परेकी। कुमसम्म आएको कालो कर्ली कपाल। म त एकैछिन हेरेको हेर्यै भएँ।
मलाई केटी मन पर्यो अनि सायद उसलाई पनि म मनपर्यो होला जुन उसको अनुहारको भावले बताईरहेको थियो। म फोन नम्बर लिएर उसँग बिदा भएँ। त्यसपछि हाम्रो भेट बाक्लिँदै जान थाल्यो।
त्यसको दुई महिनामा हाम्रो विवाह पक्का भयो। एवं रितले हाम्रो विवाह सम्पन्न भयो। मुनाको घरको स्थिति खासै राम्रो थिएन। त्यसैले मैले उनीहरुको केही दाइजो नलिएर विवाह सम्पन्न गर्ने निर्णय गरेँ। मेरो निर्णयमा सबै खुशी भए। मुना हाम्रो घरमा बुहारी र श्रीमती भएर भित्रिईन्।
हाम्रो घरमा सबैको बिहान सवेरै उठ्ने बानी छ। चाहे बेलुका सुत्दा अबेर नै किन नहोस् बिहान पाँच बजे सबैजना उठिसकेका हुन्थ्यौं। भोलिपल्ट पनि म सदाझैं छिटो उठेर नुहाएर फ्रेस भएर आफ्नो रूममा जाँदा मुना अझै सुतिरहेकी थिई। ममीले मायालु स्वरमा भन्नुभयो, ‘बुहारीलाई नयाँ घरमा राम्रोसँग निन्द्रा परेन होला, सुत्न देउ बाबु।’ ममीले त्यसो भनेपछि मैले उसलाई उठाईन। मुना उठ्दा ठ्याक्कै आठ बज्यो। तैपनि मैले उसलाई केही भनिनँ।
मुनाको बारेमा केही नबुझी विवाह गरेको जस्तो मलाई त्यसपछिका दिनहरुमा महसुस हुन थाल्यो। आठ बजेभन्दा अगाडि ऊ कहिल्यै उठ्दिन थिई। ममी ड्याडी उसलाई छोरी जस्तै माया गर्नुहुन्थ्यो तर उसले त्यो मायाको फाईदा उठाउन थालेकी थिई।
घरको काम पनि सकेसम्म गर्न नपरे हुन्थ्यो जस्तो गर्थी ऊ। विवाहपछि मुनामा आएको परिवर्तन मेरो लागि असह्य हुन थाल्यो। मैले उसको लागि ‘बुटिक’ खोलिदिएको थिएँ उसको समयको राम्रो सदुपयोग होस् भनेर। तर उसले त्यसमा पनि मन लगाउन सकिनँ। उसको अप्रशन्नता देखेर मेरो मनमा असन्तुष्टी हुन्थ्यो। मलाई यस्तो लाग्थ्यो कि, कतै मैले अर्काको फूलबारीमा फूलिरहेको सुन्दर फूललाई टपक्क टिपेर आफ्नो बारीमा मलजल गर्न नसकेर ओईलाउन थालेको त हैन।
हरेक नारीको सपना हुन्छ ममतामयी आमा र असल श्रीमती बन्ने तर मैले मुनामा एउटी नारीमा हुनुपर्ने कुनै पनि गुणहरु देखिनँ। जीवनमा एकपटक मात्रै गरिने विवाहलाई जसरी हुन्छ सफल बनाउने प्रयत्नमा थिएँ म। यस्तै यस्तै तर्कविर्तक मनमा चल्दै थियो मुनाको फोनको घण्टीले मेरो एकाग्रतालाई विथोल्यो।
फोन बज्नासाथ उ मेरो कुराहरुलाई बेवास्ता गर्दै कोठाको ‘एट्याच बाथरूम’ मा पसी। उसले सानै स्वरमा बोले पनि उसको शब्दहरु मेरो कानमा ठोक्कीरहेको थियो। ‘तिमीलाई कतिपटक भनिसकेँ शनिबार आदित्य घरमै हुन्छ भनेर तै पनि किन फोन गर्छौ ?’
अब मेरो मनमा खुल्दुली हुन थाल्यो। आखिर त्यो को हो जोसँग मेरो अगाडि कुरा गर्न मुनालाई आपत्ति भईरहेको छ। ऊ बाथरुमबाट बाहिर निस्की मैले केही नसुनेझैं पत्रिका पढेर बसेँ।
हरेक दिन दिउँसो एक घण्टाजति सुत्ने मुनाको बानी थियो। त्यसदिन पनि ऊ त्यसैगरी आफ्नो मोबाईललाई बेडसाईट टेबलमा राखेर सुती। मनमा लागेको खुल्दुली मेटाउन मुना निदाएपछि मैले बिरालोको चालमा गएर आफ्नो स्वभाव विपरित बेडसाईड टेबलबाट मोबाईल उठाएँ र उसका म्यासेजहरु चेक गर्न थालेँ।
उसको मोबाईलमा एउटा सेभ नगरिएको नम्बरबाट आएका थुप्रै म्यासेजहरु थिए। जुन म्यासेजहरुमा प्रेमका कुराहरु, सपनाका कुराहरु त्यस्तै त्यस्तै थिए। त्यो सारा दिन म छटपटाईरहेँ। कता जाँदै थियो मेरो वैवाहिक जीवन? के कमी राखेको थिएँ मैले? को सँग ऊ त्यसरी प्रेमिल कुराहरु गर्दै छे। विवाहभन्दा अगाडि त मैलाई उसको कुनै प्रेम सम्बन्धको बारेमा थाहा भएन ? यस्तै यस्तै कुरा मनमा खेलिरहे।
त्यसरात मैले नम्र हुँदै मुनालाई भनेँ, ‘म बिरामीको नजिक गईरहनुपर्छ। त्यसैले आज तिमी र म छुट्टै बेडरुममा सुतौं है।’ मुनाले सहमतिमा टाउको हल्लाई। अर्को बेडरुममा गएपछि मैले त्यो सेभ नभएको नम्बरमा फोन गरेँ। फोन उठेन। थुप्रै म्यासेज गरेँ तर अह! एउटा पनि रिप्लाई आएन। छट्पटीले सारा रात म सुत्न सकिनँ। यताउता कोल्टो फेर्दा फेर्दै बिहान भयो। मेरो लगभग दुई हप्ता त्यसैगरी बित्यो। न खान मन लाग्यो न कसैसँग बोल्न। ममी ड्याडी सबैले बारम्बार सोध्नुहुन्थ्यो म निराश हुनुको कारण। तर मुनाले कहिल्यै केही सोधिन।
आईतबारको दिन जब म हस्पिटल गएँ नर्सले मलाई आत्तिदै आएर भनिन्, ‘डा साप एक जनf अभय नाम गरेको बिरामी गम्भीर अवस्थामा भर्ना भएको छ उसलाई कोरोनाको लक्षण देखिएकोले आईसोलेसनमा राखिएको छ।’ म बिरामीको नजिकै गएर उपचार गर्न थालें। उसको अवस्था निकै चिन्ताजनक थियो। मैले उसको उपचारमा कुनै कमी राखिनँ। झण्डै एक महिनाको उपचारपछि उ सन्चो भयो।
त्यो बिरामी सञ्चो भएर जाने बेला हस्पिटलमा मेरो रुममा भेट्न आयो। उसले भावुक हुँदै भन्यो, ‘डाक्टर साप, तपाईले मेरो ज्यान बचाउनु भएको छ। म त्यसको लागि तपाईप्रति हृदयदेखि नै आभारी छु। आज यदि तपाईँले मेरो ज्यान नबचाउनु भएको भए सायद मेरो जीवनको यात्रा यहीसम्म हुने थियो होला।’
मैले उसलाई हौसला दिँदै भनें, ‘के कुरा गरेको यस्तो ? यो त मेरो कर्तव्य हो बिरामीहरुलाई नयाँ जीवन दिनु।’
उसले केहीबेर मौन रहेर फेरि भन्यो, ‘हजुरसँग अत्यन्त महत्वपूर्ण कुरा गर्नु छ।’ मैले अचम्म मान्दै भनेँ ‘मसंग?’
उसले केहीबेर मौन रहेर फेरि भन्यो, ‘हजुरलाई फुर्सद छ भने आज हजुरको ड्यूटीपछि के हामी कतै बसेर कफि पिउन सक्छौं?’
मैले उसको कुरालाई स्वीकार्दै भनें, ‘भईहाल्छ नि किन नहुनु?’
ड्यूटीपछि उसलाई भेट्न म क्याफेमा गएँ। ऊ मलाई पर्खेर बसिरहेको रहेछ। मलाई देख्नासाथ उसले आत्तिदै भन्न थाल्यो, ‘डाक्टर साप तपाईले मलाई नयाँ जीवन दिनुभएको छ। म यो गुन कहिल्यै बिर्सिन्न। म तपाईसँग केही झुटो बोल्न चाहन्न। अब केही कुरा लुकाउन चाहन्नँ। मैले अलि झर्केझैं गरेर भनेँ, ‘के भन्न चाहन्छौ तिमी खुलस्त भन।’
उसले अलि डराउँदै भन्यो, ‘डाक्टर सा’प म बिरामी हुनुभन्दा एकदिन अगाडि तपाईले मलाई फोन गर्नुभएको थियो। मैले फोन उठाउनै सकिनँ।’
उसको कुरा सुनेर मैले अच्चमित हुँदै भनेंँ, ‘मैले अनि तिमीलाई फोन....? म त भखैरै चिन्दैछु तिमीलाई के कुरा गरेको यस्तो?’
उसले लामो सास तान्दै भन्न थाल्यो ‘हुनसक्छ तपाई मलाई चिन्नुहुन्न तर म तपाईलाई पहिल्यैदेखि चिन्छु। तपाईकी श्रीमती मुनालाई म धेरै माया गर्थे।’
मैले ठूलै झट्काको महसुस गरेँ, ‘के भन्यौ?’ मेरो स्वर चर्को भयो।
‘डाक्टर सा’प तपाईले मेरो ज्यान बचाउनुभएको छ, म तपाईसँग झुटो बोल्दिनँ।’ उसले पछुतो माने झैं गरेर भन्यो, ‘आज म तपाईलाई सबैकुरा खुलस्त भनिदिन्छु चाहे यसको नतिजा जेसुकै होस्।’
उसले अगाडी के भन्न खोजिरहेको छ मैले कुरा बुझिनँ। ऊ मनको बह पोखेझैं कुरा सुरु गर्न थाल्यो, ‘मुनाले हजुरसँग विवाह गर्नुको कारण सम्पति मात्रै हो डाक्टर सा’प। उसले मलाई हजुरसँग विवाह गर्ने अनि डिभोर्स गरेर आधा सम्पत्ति लिएर मसँग विवाह गर्ने कुरा बताएकी थिई। धन सम्पति कसलाई मन पर्दैन र डाक्टर सा’प? तर अहिले म मरेको भए के काम त्यो धन सम्पतिको?’ ऊ रुन थाल्यो।
मैले आश्वासन दिदैं भनें, ‘तिमीले त्यति सिरियस भएर सोच्नु पर्दैन तिमीलाई केही हुँदैनथ्यो। डाक्टरहरुको त कामै हो बिरामीको सेवा गरेर उसलाई नयाँ जीवन दिने। बरु तिमी चाहन्छौ भने मलाई सहयोग गर्न सक्छौ।’ उसले निरिह भएर जवाफ दियो। ‘मैले हजुरलाई के नै सहयोग गर्न सकौंला र डक्टर साप।’
‘तिमी जे पनि भनिरहेका छौ मुनाको बारेमा त्यो सबै प्रमाणित गर,’ मैले भनेंँ।
‘कसरी ?’ उसले अचम्म मान्दै मलाई सोध्यो।
मैले उसलाई आफ्नो प्लान सुनाएँ। मेरो कुरा सुनेर ऊ केही हिच्किचाए पनि अन्त्यमा सहमत भयो। उसलाई अर्कोपटक भेट्ने बाचाका साथ म ऊसँग बिदा भएँ। घर पुगेर जब मैले मुनाको अनुहार हेरेँ मलाई भित्रभित्रै जलन भयो। कत्रो षड्यन्त्र लुकेको छ उसको यो सोझो देखिने मुहार पछाडि। ड्याडी, ममी कति खुशी हुनुहुन्थ्यो मेरो विवाहपछि। तर उसले कति सजिलै जलाई हाम्रो परिवारको खुशी र मेरो मायालाई।
त्यसदिन जब म भर्खरै घर फर्केर फ्रेस भएर ल्यापटप खोलेर बसिरहेको थिएँ ,मेरो ध्यानलाई आफूतिर केन्द्रित गर्दै मुनाले भनी ‘म एकछिन न्यूरोडसम्म पुगेर आउँछु है।’ मैले मुखले केही नबोली टाउको हल्लाएर सहमती जनाएँ। यसै पनि आजभोलि मुना र मेरो सम्बन्ध त्यस्तो सुमधुर कहाँ छ र मैले उसको हरेक गतिविधीमा नजर राख्न सकुँ?
बेलुका अभयले पनि फोन गरेर न्यूरोडमै भेट्न बोलायो मलाई। अब म विश्वस्त भएँ कि मुना अभयसँगै भेट्न गएकी हो। म अभयले भेट्न बोलाएको क्याफेको बाहिरपट्टि पर्खेर बसेँ। मुना अभयसँग भन्दै थिई, ‘अब धेरैदिन त छैन, मेरो परिवर्तन भएको बानीको कारण उसले मलाई छिट्टै डिभोर्स दिन्छ अनि आधा सम्पत्ती त मैले क्लेम गर्न पाईहाल्छु त्यसपछि तिमी र मेरो आफ्नै दुनियाँ।’
त्यसबाहेक पनि उसले धेरै कुरा भनी जुन मैले सुन्न नचाहेर पनि बाध्य भएर सुन्न पर्यो। म उनीहरुको अगाडि गएँ। मलाई देख्नासाथ मुनाको अनुहारको रंग उड्यो। ‘हजुर..... हजुर यहाँ?’ ‘नमस्कार डाक्टर साप’ अभय मेरो नजिकै आएर मलाई नमस्कार गर्यो।’
मैले अभयलाई आँखाले ईसारा गरेर मोबाईलमा रेर्कड गरिएको मुना र अभयको आवाज सुनाईदिएँ। मुनाको होस उड्यो। उसले सिधै गएर अभयको कठालो समाती ‘यति ठूलो धोका।’
मेरो स्वर चर्को भयो ‘सट अप मुना, तिमीले अभयलाई दोष दिनुपर्ने कुनै कारण छैन। धोका त तिमीले दिएकी छौ दुई दुई जनालाई। दिनहुँजसो मानिसहरुको शरीरको एक्स रे रिपोर्ट हेर्छु। तर अफसोच विवाह भएको यतिका वर्ष भईसक्दा पनि तिम्रो मनभित्रको एक्स रे मैले हेर्न सकिन।’
त्यसपछि अभय अगाडि आएर बोल्न थाल्यो ‘तिम्रो कुरामा म यसरी बहकिएँ मुना कि म यस्तो भगवानसरह तिम्रो श्रीमानको विरुद्ध जान खोजीरहेको थिएँ। डाक्टर सापले मेरो ज्यान नबचाउनु भएको भए थाहा छैन मेरो आज के हालत हुन्थ्यो। यस्तो घिनलाग्दो काममा तिम्रो साथ दिन खोजेकोमा मलाई धेरै आत्माग्लानी भईरहेको छ।’
यति भनेर अभय त्यहाँबाट निस्कियो। मुना केही नबोली बसिरही। मैले मुटुभरी गाँठो पारेर भनें ‘तिमी आमा र असल बुहारी त कहिल्यै बन्न सकिनौं तर कमसेकम एउटी असल श्रीमती भने पक्कै बन्छौ भन्ने सोचेको थिएँ। तिमी त्यो पनि बन्न सकिनौं मुना।
सम्पत्तिको लालचमा तिमी यति अन्धो भईछ्यौ कि मैले गरेको मायाको कुनै अर्थ रहेन तिमीमा। तिमीलाई मेरो जे जति सम्पत्ति चाहिन्छ क्लेम गर लिएर जाउ तर बिन्ती सम्पत्तिको लालचमा अब आईन्दा कुनै अभय र आदित्यसँग प्रेमको नाटक गरेर उनीहरुको भावनासँग नखेल्नू। केटा होस् वा केटी, चोट लागेपछि मन सबैको दुख्छ।’
‘अब हामी छिट्टै डिभोर्स गर्नेछौ तिमी आफ्नो जीवन आफ्नै तरिकाले बाँच। म आफ्नै तरिकाले बाँच्नेछु।’
मेरो कुरा सुनेर उसले रूँदै माफ मागी । तर यसपटक उसको आँशुले मेरो मन पग्लिएन। म आँखाभरी आँशु र मुटुभरी मुनाले दिएको चोट लिएर ड्राईभ गर्दै घर फर्किएँ।
त्यसको भोलिपल्ट नेपालमा कोरोनाले विकराल रुप लिन थालेपछि लकडाउनको घोषणा गरियो। काठमाडौं सुनसान भयो। तर त्योभन्दा सुनसान थियो मेरो मन र घर। जसको ढोका मुनाको लागि सदाको लागि बन्द भयो।