कविता
मन रून्छ
किनकि त्यो साउने झरी हो
र सम्झी सम्झी वर्षिन्छ बाढी नल्याउन्जेल सम्म।
मन दुख्छ
किनकि त्यो रागिएर घाउ हो
र सैनी पल्टिएर पीडा चस्किरहन्छ जीवनपर्यन्त।
मन भाँचिन्छ
किनकि त्यो सुकेको वृक्षको हाँगा हो
र बतासको चड्कन सहन अभिशप्त छ।
मन कुँडिन्छ
किनकि त्यो इनामेल सकिएको बुढो दाँत हो
र मर्मतको पर्खाइमा हुन्छ।
मन फाट्छ
किनकि त्यो बासी त्यासी दूध हो
र छिटो संक्रमित हुन्छ।
मन पग्लिन्छ
किनकि त्यो दही मथेर निस्किने नौनी हो
र तातो स्पर्श खोजिरहेको हुन्छ ।
मन बुझ्छ
किनकि त्यो महान गुरूको ज्ञानी शिष्य हो
र चिनी बनिरहेको हुन्छ।
मन डुल्छ
किनकि त्यो यायावर हो
र रहस्य खोतल्न तल्लीन हुन्छ।
मन खान्छ
किनकि त्यो प्रसव पीडा सहने आमा हो
र सुधा प्रवाह सरिता अवतारमा।
मन फर्कन्छ
किनकि त्यो साँझ अस्ताउँदो सूर्य हो
र भोलिको भरोसाको पहेंलो बत्ती।
मन पर्छ
किनकि त्यो प्रेमिल भमरा हो
र आशक्ति बाँड्दै हिँड्छ।
मन छुन्छ
किनकि त्यो संवेदनशील स्नायु हो
र अन्तरआत्माको देखाउँछ सम्बन्ध।
मन फुक्छ
किनकि त्यो खुला आकाश हो
र ग्रह नक्षत्र सबै चिनाउँदै जान्छ ।
मन थाम्छ
किनकि त्यो नदीको बाँध हो
र बस्ती जोगाउँछ बाढी रोकेर।
मन फुरुङ्ग हुन्छ
किनकि त्यो गौंथली चरी हो
र मगनमस्त हुन्छ आफ्नो घर बनाउनमा ।
मन पातपातमा हुन्छ
किनकि त्यो हावा हो
र सधैं चञ्चल गति चालमा हुन्छ।
मन मर्छ
किनकि त्यो जाल बुन्ने माकुरी हो
र मृत्यु वरण गर्छ आफ्नै कर्ममा।