पहिले पहिले
कविहरूको देशमा
कविताले क्रान्ती बोल्थ्यो
रगतको ज्वाला खोल्थ्यो
उम्रन्थे शरीरमा काँडाहरू
थर्काउँथे शब्दले डाँडाहरू
अहिले अहिले
कविहरूको देशमा
कविताले मुटु पोल्छ
शासकको महिमा बोल्छ
सुटुक्क झिकिन्छ विरोधका भावहरू
भक्तिगानले पुरिन्छ क्रान्तिका छापहरू
पहिले पहिले
कविहरूको देशमा
कविहरू कविता लेख्थे
उतार्थे हुबहु समाजमा जे देख्यो
न कनै तक्माको आशा हुन्थ्यो
न कुनै पदको अभिलाषा हुन्थ्यो
अहिले अहिले
कविहरूको देशमा
कविहरू कविता लेख्दैनन्
शब्दका पोका लेख्छन्
कविहरू सपना देख्दैनन्
निरासा र धोका देख्छन्
लेखिन्नन् कुना कन्दरा र फाँटका कविता
देखिन्नन् स्वाभिमान र आँटका कविता
पहिले पहिले
कविहरूको देशमा
कवि देशका हुन्थे
देश रुँदा उनी पनि रून्थे
शब्दका वाणहरूको लडाइँ हुन्थ्यो
राम्रो कामको हर्षबढाइ हुन्थ्यो
अहिले अहिले
कविहरूको देशमा
कविहरू संघ र पार्टीका हुन्छन्
कुनै धर्म र जातिका हुन्छन्
विपक्षीविरुद्ध आक्रोश छर्छन्
आफ्नाको विरुद्ध मुख चुप्प गर्छन्।
कविहरूको देशमा
आजकल कविहरू हैनन्
फुस्रा साहित्य रच्ने नेताहरू छन्
शब्द बेच्ने केही बिक्रेताहरू छन्
डरले आत्तिएका स्वाभिमानीहरू छन्
पैसाले मातिएका कहानीहरू छन्
छन् त छन्
प्रशस्त कविता यहाँ
तर किन-किन
कविहरूको देशका कविता
कविताजस्ता छैनन्
कस्ता-कस्ता छन्
शब्दका थुप्राजस्ता छन्।