तिमी तिमीजस्तो छौ र त तिमी, तिमी हौ
म मजस्तो छु र त म, म हुँ
यदि म तिमीजस्तो भए
या तिमी मजस्तो भयौ भने
तिमी, तिमी रहन्नौ अनि म
म रहन्नँ
हामी जे छौ ठिक छौ
यसरी नै चल्न पर्छ
अनि मात्र हाम्रो एकअर्काको अस्तित्व जिम्दो रहन्छ।
यदि पानी पानी रहेन भने
के पानीको महत्व रहला र?
यदि हावा, हावा रहेन भने
के हावाको शीतलला बाँकी रहला र?
आफ्नो अस्तित्व कायम राख्न
आफ्नो गुण बचाउनै पर्छ
फेरि भन्लाऊ
पानी जमेर आइस बन्छ
के पानीको अस्तित्व मेटियो त?
तर आइस पग्लिँदा पानी नै बन्छ
जसरी कहिलेकाहीँ
तिमी, तिमी भएर पनि
आमा बन्छौ, दिदी बन्छौ
दाइ बन्छौ, काका बन्छौ
तर तिमी, तिमी नै हौ
जुन दिन म, म रहन्नँ
या त तिमी, तिमी रहन्नौ
त्यो दिन हामी यो दुनियाँको लागि
भार मात्र हुनेछौ
त्यसैले म भन्छु
तिमी, तिमीजस्तो हुनपर्छ
अनि म, मजस्तै हुनपर्छ
त्यसैले आजदेखि
मलाइ तिमी यस्तो बन, त्यस्तो बन
भन्दै नभन
किनकि म, म हुनमै खुसी छु
मजस्तो छु त्यस्तो स्वीकार गर्न
तिमीलाई गाह्रो हुन्छ भने
तिम्रा पाइला स्वतन्त्र छन्
अनि मेरा पनि
हामी फरक भएर पनि
एक हुन सक्छौँ
जसरी सादा पाना र मसि एक छन्
जसरी किनारा र समुन्द्र एक छन्
आकाश र बादल एक छन्
त्यसरी नै एक हुन सकिन्छ
के मजस्तो छु तिमीलाई त्यस्तै स्वीकार छ त?