म जन्मेको मात्र ४० वर्ष भयो
मेरो आयु पनि यति हो
सरकार म यही देशको मान्छे हुँ
म कुनै शरणार्थी होइन
तिमीले खोसेको तीस वर्षे आयु
मलाई फिर्ता देऊ
बरु म मेरो नागरिकता
धितो राख्छु।
म यही देशको माटोसँग खेल्छु
ढुंगासँग रमाउँछु
पसिना खनाउँछु
म वर्ष दिन काम गरी
चार महिना पूरा पेट खान्छु
बाँकी महिना आधा अन्न
आधा भोक खान्छु
अधिकारका कुरा पछि गरौँला
हकका कुरा पछि गरौँला
मलाई चार दाना चामल देऊ
सरकार बरु म नागरिकता
धितो राख्छु
सरकार
म अँध्यारोमा जन्मेँ
मलाई आँखा खोल्नु छ
मलाई सरकार हेर्नु छ
अक्षर चिन्नु छ
मलाई स्कुल देऊ
पार्टीका दस्तावेजजस्तै
छिटो पुग्ने किताब बनाऊ
खरानी घसेर सकियो
नसकिने कलम देऊ
बरु म आफै आउँछु
मसँग नागरिकता छैन
मलाई धितोमा राख्छु।
बाटोसँग लड्दा-लड्दै खुट्टा थाकिसके
मलाई बैसाखी देऊ
धुवाँसँग लड्दा-लड्दै फोक्सो थाक्यो
मलाई अक्सिजन देऊ
तिम्रो बाटो हेर्दाहेर्दै आँखा थाके
चश्मा देऊ
चित्कार गर्दागर्दै स्वर थाक्यो
आवाज देऊ
राज्यसँग लड्दा-लड्दै कर्णाली थाक्यो
मलाई अधिकार देऊ
ए सरकार,
बरु म नागरिकता दिन्छु
म राष्ट्रियता धितो राख्छु
हो सरकार
बरु म राष्ट्रियता धितो राख्छु।