सामान्य विवाद। मानौँ, कि त्यो विवादको विषय नै थिएन।
एकाबिहानै फोन गरेर भनिन्, 'म कलेजको साथीसँग बल्खु जाँदैछु।'
दिक्षान्त समारोहको फर्म भर्ने समय दुई दिन मात्र बाँकी थियो। मलाई जाउँ भनेकी थिइन्। तर गतिलो काम बिनाको व्यस्तताले मलाई भुलाईरहेको थियो।
'हुन्छ,' मैले जवाफ दिएँ।
'सोध्नुहुन्न को साथी? कसरी जाने?'
'साथी भनेको होइन?'
'बाइकमा जाँदैछु, पानी पनि पर्दैछ।'
'बसमा भन्दा सजिलो र छिटो हुन्छ। राम्रोसँग जानू। चिसोले छोइहाल्छ। नभिज्नू।'
म यात्रुले भरिएको माइक्रोमा चेपिएर बालाजुबाट जमल जाँदै थिएँ। राम्रोसँग उभिन पनि गाह्रो भइरहेको थियो। फोन काटेँ।
केही बेरमा म्यासेज आयो। जमलबाट ओर्लिएपछि हेरेँ- 'तपाईंलाई मेरो माया नै लाग्दैन। लाग्दो हो त, आफै लिएर जानुहुन्थ्यो। यसरी देवराज या अरु कोहीसँग जान दिनुहुन्न थियो।'
के-के सोच्छे!
म्यासेज देखेर मलाई अचम्म लाग्यो। कलेज पढ्दाको मिल्ने साथी भनेर धेरै पटक नाम लिएको केटो थियो ऊ। अनि किन रोक्ने मैले?
यदि मैले नजाऊ भनेको भए नि जवाफ हुन्थ्यो होला- कति शंकालु हजुर त! मेरो विश्वास नै छैन।
विश्वज्योती मल अगाडि बत्तिएर आएको एउटा माइक्रोले जमेको पानीले नुहाइदिएर मेरो स्वागत गर्यो। रिसको पारो राम्रैसँग चढेको थियो।
पहिलो गाली (अश्लिल) माइक्रोले खायो।
दोश्रो गाली (आक्रोश) सडक विभाग र ठेकेदारले खायो।
तेस्रो गाली (अश्लिल र आक्रोश) सरकारले खायो।
फोन बज्यो, उठाएँ। आवाज उनको थियो। र कुराको उठान त्यहीँबाट भयो।
केहीबेर भनाभन भयो। त्यही कुरालाई लिएर 'हेट यू' धेरैपटक बर्सिए उताबाट।
'अब आ-आफ्नो बाटो,' मबाट आक्रोशित शब्द बत्तिए।
माइक्रोको रिस उनीमाथि खनियो। आगोमा घिउ उनले नै थपेकी थिइन्।
त्यही रात शान्त भएदेखि करिब एक महिनासम्म उनलाई मनाउने प्रयास असफल भयो। हाम्रो प्रेम मनदेखिको हो, बनावटी होइन र प्रेम साँचो छ भनेर सोच्थेँ। त्यो भ्रम रहेछ। केबल आकर्षण रहेछ भनेर चित्त बुझाउँदै थिएँ। आफैलाई सम्झाउँदै थिएँ।
सामान्य कोठामा। सामान्य जीवन बाँचिरहेको, सामन्य परिवारको केटो म। सपनाहरू पनि सामान्य नै थिए। सायद आफ्नै धरातल अनुसारको।
उनी महत्वाकांक्षी थिइन्। साथी सर्कल पनि त्यस्तै थियो-
'फलानो साथीको बुढा यस्तो।'
'त्यो साथीको इनगेजमेन्ट यस्तो धनीसँग भयो।'
'त्यो साथीको त केटो युएसमा छ।'
***
'गूड मर्निङ सर!' गेटमा गार्डले सलुट गर्यो।
एक हप्ता भयो, लभ वर्ड इन्टरनेशल होटलको काठमाडौँ ब्रान्चको म्यानेजर भएको। अन्तर्राष्ट्रिय विमानस्थल ठिक अगाडिको हाम्रो होटल। अन्य होटलहरूको तुलनामा महँगो नै थियो। सामान्य नेपालीको पहुँच बाहिरको। जस्तो कि यहाँको कर्मचारी नभएको भए यस्तो ठाउँमा बस्नु मेरो लागि टाढाको सपना थियो।
दोश्रो तल्ला, रुम नम्बर ४०। स्पेशल गेस्टको स्पेशल केयरका लागि मलाई जानू भन्ने अर्डर थियो। कन्ट्री हेड कुलदीप तिवारीको साथी। कतारको टप थ्री धनाड्य मध्येको एक।
हमिदसँग औपचारिक भेट गरेर निस्किएको थिएँ।
अचानक ममाथि माथिल्लो तला बर्जिए झैँ भयो। दोश्रो तलाबाट सयौं फीट गहिराइमा पुग्दै गरेको आभास भयो। लाग्दैथियो सपना भैदियोस्। दुर्भाग्य यो विपना नै थियो। समय आफ्नै गतिमा थियो। बस् १ मेरो विश्वास भाँचिएको थियो। भासिएको थियो। मेरा खुसीका लासहरूले मलाई थिचिराखेका थिए।
दोश्रो तलाको देब्रेतिर, हमिदको कोठाको ठिक सामुन्यमा रुम नम्बर ४४ थियो। जहाँ, एक जोडी इन्द्रेणी रहरहरू बोकेर पस्ने सुरमा थिए। एक झलक मेरो आँखा उनको आँखामा पर्यो। उनको आँखा पहिले मेरो आँखामा र सेकेण्ड भरमै मेरो सर्टको देब्रेतिर मुटुमाथिको सुनौलो अक्षरमा अल्झियो 'म्यानेजर अज्ञात शर्मा'।
पुर्णेको जुनमाथि अचानक ग्रहण लाग्यो। त्यसपछि उनको मनमा झरी पर्यो। अनि के-के भयो? (कुनै दिन भेटेर सोध्नुहोला।)
मलाई जे भयो सुनाउँदैछु-
रातको सिफ्टको जिम्मेवारी रोहनलाई दिएको थिएँ। निस्कनुअघि हमिदलाई भेट्न मात्र पुगेको थिएँ। नभए म निस्किसकेको हुन्थेँ र यो सब देख्न पर्ने थिएन।
'निस्कन लाग्नुभयो?' आफ्नो क्याबिनबाट निस्कन लाग्दै गर्दा रोहनले सोध्यो।
'जान नपाइने भयो। स्पेशल गेस्टको स्पेशल ख्याल रे,' बनावटी हाँसो फ्याक्छु।
सानो स्वरमा उसको केही नजिक गएर थप्छु, 'आज बेलुका सबैतिरको गतिबिधि र विशेष रेस्टुरेन्ट नियाल्ने अर्डर छ। तिमीलाई मात्र भनेको।'
उसलाई आफ्नो विशेष र नजिकको भएको महसुस गराउँदै थिएँ।
स्मोकिङ जोनमा गएर दुई खिल्ली सूर्यलाई धुवाँ बनाएर उडाइदिएँ। मन अशान्त थियो। शान्त त कसरी हुन सकोस्? सबै कुरा बिहेपछि भनेर जसलाई निधार र गालामा सामान्य चुम्बन अनि प्रेमिल अङ्कमाल बाहेक केही गरेको थिइनँ। मनदेखि आफ्नो सोचेको थिएँ।
यो मेरो केही नगरेको पश्चताप थियो। या, उबेला आदर्श प्रेमी बन्ने ढोङ या सँच्चा प्रेम। (जे ठान्नुहुन्छ, ठान्नुहोस्।)
फेसबुकमा अनफ्रेण्ड र ब्लक भएको थिएन। र झुक्किएरै पोस्टमा हुने रियाक्टले आशाको त्यान्द्रो जीवित थियो। तर, आँखै अगाडि जलिरहेको थियो।
साँझको निम्तो मान्न आएको निशाले काठमाडौँ सहरलाई ढपक्कै ढाक्यो। मलाई पश्चताप, आक्रोश र घृणाले चिथोर्दै थियो। पीडाले पागल बनाउँदै थियो।
रेस्टुरेन्टमा भिड बढ्दै थियो। मदिराले लठ्ठ भएर लठारिनेको जमात बाक्लै थियो। मदिराका गन्धहरू सुगन्ध बनेर मेरो घायल मनलाई उक्साउँदै थिए। वर्षौं भएको थियो नपिएको। रोक्दै थिएँ। ध्यान मोड्न दुई/चार पटकसम्म गेटबाहिर पुगेर नफर्केको पनि होइन। तर आँखामा उहीँ कोठा नम्बर ४४।
गेटबाहिर, रामलालको पान पसलअघि बसेर फेरि एक खिल्ली सूर्यलाई जुनमा मिलाउँछु। त्यतिखेर खुर्पे चन्द्रलाई हेरेर मस्तिष्कमा नआएको होइन एउटा चक्कु बोकेर जाउँ र निर्दयी मुटु निकाली दिउँ, उनको शरीरबाट। त्यो जारलाई पार लगाइदिउँ।
'होइन, होइन। त्यो केटाको के गल्ती। अगतिलो त आफ्नै मान्छे हो,' एउटा मनले भन्दै थियो।
'छि! अझै आफ्नो मान्छे?' अर्को मनले गिज्यायो।
'उनलाई बोलाएर सोध्छु किन गर्यौ यस्तो?'
'धत्! डिस्ट्रब गर्छस्?' फेरि अर्को मनले ठूलो हाँसोसहित उल्लिबिल्ली लाउँछ।
विचारहरू विक्षिप्त भएपछि आफ्नो काबुमा केही नरहने रहेछ। एक-दुई पटक चक्कु बोकेर ढोका अगाडि पुगेको पनि थिएँ। स्लिपिङ ट्याब्लेटको एक पत्ता किनेर किचनसम्म धेरै पटक पुगेँ। तर फर्किएँ। रोक्यो के ले? रोकिएँ किन?
आवेगहरूले अन्धो बनाउँछ। मन कमजोर भएपछि मुखले आफूलाई सुरो छस् भन्दो रहेछ। बारमा छिरेर डबल ब्ल्याकको त्रिपल प्याक हानेर निस्किएँ। दुई/चार सूर्यलाई खरानी बनाएँ।
मेरो अस्वभाविक ओहोरदोहोर र बदलिएको अनुहारको भाव। हिँडाइको चाल हेरेर सबै स्टाफ अनौठो मानिरहेका थिए। र, केही खासखुस गर्दै थिए। मलाई कसले के भन्छ? के गर्छ? के सोच्छ? के चासो थियो र?
आफ्नै क्याबिनमा घोत्लिएर बसिरहेको थिएँ, हमिद आयो। आफूलाई सम्हालेँ। व्यापारिक मुस्कानसहित आफूलाई बाहिरबाट ठिकठाक पारेर कुरा गरेँ। केहीबेर ऊसँग जोइन हुने आग्रह थियो।
अतिथि देवो भवः। त्यसमाथि कुलदीप सरको साथी। नाई भन्न सक्ने कुरा भएन। तर साथ दिने अवस्थामा म थिइनँ।
हमिदको पछि-पछि उसको रुमतिर लागेँ। ध्यान रुम नम्बर ४४ मा थियो। हमिदको रुमभित्र पसेर ढोका लगाउन लाग्दै थिएँ, रुम नम्बर ४४ को ढोका खुल्यो। मेरो मुटु फुल्यो। चम्किएको केटोको अनुहार र लत्रिएको उनको शीर एकसाथ बाहिर निस्कन्छ।
उनी भएर सोच्दा दया लाग्यो। कसैसँग प्रेमको उत्कर्शमा पुग्न खुसी र चाहनाको उच्च बेगमा बत्तिएर आएकी उनी। उनको उमंगको उडान केही सेकेन्डको हेराइले क्र्यास भएको थियो।
के चल्दै होला त्यो मनमा? कसरी साथ देलिन् त्यो क्षतविक्षत मनले?
आफूले नपिउने झुटो बयान, झुटो हाँसोका साथ दिएपछि केबल जुस पिएर हमिदसँग एक घण्टा बिताएँ। केही दिन नेपालामै रहेर चौधरी ग्रुपसँग केही नयाँ बिजनेस डिल गर्ने योजना रहेको बतायो।
केही परे कल गर्नु भनेर आफ्नो कार्ड छोडिदिएँ।
निस्कनै लाग्दा प्रश्न गर्यो। आधा खोलेको ढोका बन्द गरेँ।
'केटी पाइँदैन?' भन्ने प्रश्न थियो। कन्ट्याक्टमा केही कल गर्लहरू थिए। एउटी २१ वर्षीयलाई खबर गरेँ। हमिद औधी खुसी भयो।
निन्द्रा लाग्ने सम्भावनाको क्लेश मात्र पनि थिएन। दृश्य जो देखेको थियो त आँखा निदाओस् पनि कसरी? यति ठूलो सुनामी पसेको थियो कि हृदयमा यति छिट्टै शान्त पनि होस् कसरी? बस् धुवाँभित्र आफूलाई लुकाइरहेँ। यथार्थबाट आफूलाई छोप्न खोजिरहेँ। तर, थाहा थियो कि मेरो हर प्रयास फगत एक निरर्थक प्रयास थियो।
प्रेम के हो? कस्तो हुनुपर्छ? विश्वास कस्को गर्ने? के सम्पत्ति, सम्पन्नताले प्रेम पाउन सकिन्छ? प्रेम त आत्मिक तत्व होइन र? किन फेरि भौतिकतामा बिकिरहेको छ? स्वार्थमा भासिएकाहरूले प्रेमको परिभाषा बिगार्दैछन्। प्रेमको आवरणमा आकर्षणको जालमा पारेर लुटिरहेछन शरीर। लुटाइरहेछन् सम्पत्ति।
यो स्वार्थी समाजमा सँच्चा प्रेम!
फेरि बारमा पुगेर दुई प्याक लगाएँ। मस्तिष्कमा प्रत्येक घुड्काले नयाँ योजना जन्माए। एउटा मनले निरन्तर रातभर खतम गरिदे भनेर उक्साइरह्यो।
जो तेरो भइन, अरुको भएको कसरी हेर्छस्? आँखैअगाडि कोही अरुसँग रात बिताइरहेछे।
मनले जिस्काउँछ, उक्साउँछ 'सिध्याइदे, सक्काइदे।'
चक्कु, स्लिपिङ ट्याब्लेट खेलाउँदै केही डाक्टर साथीको नम्बर डायल गर्दै काट्दै गरेँ। केही क्राइम सिरियल र मुभी क्लिप पनि हेरेँ। मार्ने र जोगिने सजिलो तरिका पनि चाहिएको थियो।
कल गर्लको कल। रुम नम्बर सोधाई। लाडिएको बोली उत्प्रेरक बनेर घोलिन्छ रगतमा। घृणाभाव झन् जागेर आउँछ।
बत्तिएर रुम नम्बर ४४ छेउ पुगेँ।
त्यसपछि...
'गाउँछ गीत नेपाली' धुनको रिङटोन बज्यो। फोन आमाको थियो।
एकछिन कुराकानी भयो। बिहानै फोन आउनुको कारण घरमा भैंसी ब्याएछ।
'कहिले घर आउन मिल्छ?' आमाको माया पग्रियो।
सदाझैँ जवाफ, 'कामको बोझ छ।'
जीउ तन्काएँ। एक गिलास पानी ठिक पारेँ।
रुम नम्बर ४४ को नजिक दुई जना पुलिस थिए। वरपर स्टाफ र केही गेस्टहरू। मन अत्तालिन्छ। टेबलमा चक्कु थिएन। म आफूलाई सम्हालेर भिड तिर लागेँ। रोहन डराएको भावमा मलाई हेर्दै थियो। हमिद पनि शंकालु नजर मतिर तेर्स्याउँछ।
'ओहो! अज्ञात,' इन्स्पेक्टर जयदेव भट्ट मतिर आयो।
'जय! तिमी?'
शंकरदेवमा ब्याचलर पढ्दाको साथी।
मेरो डरको लेभल केही घटेको त थियो तर वास्तविकताको जरो नउखलुन्जेलसम्म मन सशंकित नै थियो।
'के कामले आयौ? यो भिड?' म प्रश्न गर्छु।
'यो होटलको म्यानेजर तिमी अनि प्रश्न मलाई?' ऊ हाँस्यो।
थप्यो, 'कसैले गलत सूचना दिएछ। सरी यार। रुम नम्बर ४५ को गेस्टलाई डिस्ट्रब गरेँ।'
केहीबेरको कुराकानीपछि ४६ को गेस्ट शान्त भयो। ३३ किलो सुन प्रकरणको मुख्य नाइके छ भन्ने अपुस्ट सूचनाको आधारमा आएका थिए।
भिड हट्यो। वातावरण सामान्य बन्यो। सबैभन्दा बढी मेरो मन शान्त भयो।
भनेपछि मैले केही गरिनछु या रहस्यको पर्दा खुल्न बाँकी छ?
यत्रो होहल्लामा पनि किन यिनीहरू निस्किएनन्? अर्को प्रश्नले घोच्छ।
प्रश्नै प्रश्नभित्र रुमल्लिएर फ्रेस भएँ। एउटा हट-लेमन पिउँदै थिएँ, हमिदको फोन आयो। भनौँ कि त्यो उसको रुममा जाने अर्डर थियो। आधा गिलास हट-लेमन अलपत्र छोडेर म निस्किएँ।
पुनः आँखा कोठा नम्बर ४४ मा पर्छ।
रातको उपहारको लागि धन्यवाद दियो। दिउँसो उसको रोजाइका ठाउँ घुमाउने राम्रो गाइडको व्यवस्था गर्नुपर्ने थियो। उसको अगाडि हाम्रै ट्राभलमा फोन गरेर समय फिक्स गरेर निस्किएँ।
पाइला रोक्किए। बिरालो चालमा अघि बढ्ने मन भयो। अगाडि उनीहरू थिए। साँच्चै रातमा केही गरेको रहेनछु।
'हिजो नै भन्नुपर्दैन, सन्चो छैन भनेर? अस्तिको पालि पोखरामा कति रमाइलो गरेका थियौँ। पर्सि त म फर्किनुछ। न्यूयोर्कका रातहरू यही खराब पल सम्झेर कसरी निदाउन सकिएला? कुनै मजा नै थिएन। तिमीमा कुनै चेतना नै नभएजस्तो। तिम्रो बडी नै डेड बडीजस्तो फील भयो। निर्जीव वस्तु जस्तो। मलाई सुन्दै छौ?' प्रतिक्रिया विहीन उनको कुम हल्लाउँछ।
उनी झस्किन्छिन्।
म पिछा गर्दै काउन्टरसम्म पुग्छु। काउन्टरबाट बाहिर निस्कँदै गर्दा उनी पछाडि फर्किन्छिन्। उनको आँखाभरि आँसु थियो।
'हिजो भित्र छिर्दा कति चुरीफुरी थियो, विचरी' आकाशले भन्यो।
आकाश र रोहन हाँस्न थाल्छन्।
हाँसोमा एक अमिलो हाँसो मिलाउँछु। मेरो अनुहारमा फेरि दया, घृणा, आक्रोश, पश्चातापका रङहरू एकैपटक पोतिन्छन्।
हमिदलाई पार्किङसम्म गएर अफिसको स्कार्पियोमा चढाएँ। मिठो मुस्कान छोडेर गाइड सौरभ कार्की पनि चढ्यो।
म फर्किन लाग्दा, पार्किङको भाइ ललनले एउटा कागजको टुक्रा दियो।
'के हो यो?'
'अघि बिहान ह्वाइट टस्कनबाट निस्कनु भएको म्याडमले हजुरको नाम लिएर दिनु भन्नुभएको थियो।'
कागजको टुक्रा लिएर आफ्नो क्याबिनमा हतार-हतार आएँ।
पट्याइरहेको टुक्रा खोल्दै गर्दा धड्कन बढ्दै थियो- 'सिरानीमुनि हेर्नुहोला।'
के होला त्यहाँ? अनौठो रहस्यले तान्छ। म बेगले बत्तिएर कोठा नम्बर ४४ तिर जान्छु।