सबभन्दा पहिला नै हठात्
तिमी पहिलो किल्लाको वैधानिक चेतावनी देख्नेछौ
'प्रवेश निषेध!'
कोही भित्र आएमा अतिक्रमण ठानिनेछ
र उचित (सायद अनुचित) कारबाही गरिनेछ
यसपछिको किल्लाको द्वारमा भग्नावशेष साइनबोर्ड भेट्नेछौ
'बाटो बन्न सकेको छैन- अनन्तः पहिरोले
निर्माण कार्य स्थायी रुपले स्थगित गरिएको छ'
अर्थात् अगाडि बढ्यौ भने दुर्घटना निश्चित छ
तेस्रो किल्लाबाट त कोही सकुशल निस्केको खबर
कम से कम मलाई त छैन
दुर्भाग्यको परमाणु भट्टी भत्केर
चेर्नोबिल भएको छ प्रेमको गाउँ
आशा छ तिमीलाई आत्महत्याको रहर छैन
चौथो किल्ला कस्तो छ कसैलाई थाहा छैन
अकल्पनीय घनत्व भएर ब्ल्याक होल बसेको छ चौकीदार
तिमी आफ्नो नियन्त्रण गुमाउने छौ र
कहिल्यै केन्द्रमा नपुग्ने गरी
विश्वामित्र बिनाको ययातीजस्तै खस्नेछौ
र पनि तिम्रो दुनियाँ बेखबर हुनेछ
अन्तिम किल्लाको कथा भिन्दै छ
सैद्धान्तिक रुपमा पनि तिमी आइपुग्यौ भने
रातो गुलाब लिएर म बसेको छु
तर यो गुलाब बिक्रीमा छ
यो गुलाब लिएर तिमी उही बाटो फर्कनेछौ।