एकदिन म कलेजमा जाँदै थिएँ, चोकमा दुई केटीको समूहमा मेरो नजर पर्यो। उनीहरूलाई एक मुस्कान दिएँ।
मैले मुस्काएको देखेर कान्छुकी साथीले भनी, 'हेर् त कान्छु, तँलाई देखेर मुस्कान दियो त केटाले। के छ विचार?'
'उम्, तँलाई नै देखेर मुस्कान दियो होला नि,' कान्छुले भनी।
साथी: कान्छु, मान्छे फुच्चे भए नि लास्ट ह्यान्डसम छ यार । तँलाई क्या सुहाउँछ।
कान्छु: काले छ।
साथी: काले भएर के भयो, भाग्यमानीले मात्र मेरो कालु भन्न पाउँछ।
कान्छु: तँलाई नै चाहिएको भए मिलाइदिन्छु। मेरो कालु भनेर बस्।
साथी: चुप लाग्, तँलाई सुहाउँछ र पो भनेको। त गोरी छेस्, सोच त ब्ल्याक बोर्डमा ह्वाइट, ग्लो एन्ड लब्ली देखिन्छ।
कान्छु आँखा तर्दै थिई साथीलाई, म उनीहरूकै नजिक-नजिक जाँदै थिएँ।
साथी: ऊ हेर्, यता आउँदै छ केटो।
कान्छु: चुप लाग् भन्या, केटा देख्नै नहुने तँलाई।
म उनीहरू नजिकै पुगेँ।
उसको साथीले 'उ आयो तेरो कालु' भनी, कान्छुले ढाँडमा पयाट् पिटी।
म तिनीहरूको नजिकैबाट कटेर उता गएँ।
साथी: ला कान्छु, तँलाई बाल नदिइ गयो त।
कान्छु: हो, हाउ फन्नी!
दोस्रो दिन कलेजमा
साथी: ओ केटी, तँलाई खोज्दै केटो आयो नि हिजोको कालु।
कान्छु: अति गर्छेस् यार तैँले।
साथी: हो के, नपत्तायाए झ्यालबाट बाहिर हेर् त?
कान्छु हल्का झ्यालबाट बाहिर हेर्छे र भन्, 'के भो त आए?'
साथी: अ अ… के भो के, है, है है?
कान्छु: कस्ती केटी रै छे।
घर जाने बेलामा
साथी: के छ कान्छु, कालुको खबर?
कान्छु: तँलाई नै थाहा होला, घर हिँड्, तेरो दिमाखमा खालि त्यही घुमेको छ।
साथी: भो भो, पायो भने चान्स मार्ने होला?
कुरा गर्दागर्दै घरतिर जान्छन्।
कान्छु राती खाना खाएर विस्तरामा गीत सुनेर बसेकी थिई। उसलाई त्यतिबेला कता-कता मेरो झझल्को आइरहेको हुन्छ, त्यसरी नै तो रात बित्छ।
पर्सीपल्ट
कान्छु यसो झ्यालबाट बाहिर हेरिरहेकी थिई, उसको साथीले देख्छे।
'हैन, नजर त खुब बाहिर-बाहिर दुलेका छन् त,' साथीले यसो जिस्काउँछे।
'अब मैले झ्यालबाट बाहिर पनि हेर्न नपाउनु, हरे शिव!।'
'मैले तँलाई बाहिर नहेर्, किताबमा ध्यान दे पो भनेको। त्यसै रिसाउँछे।'
कान्छु यसो नाक बनाउँछे।
राती साथी र ऊ कुरा गर्दै थिए म्यासेन्जरमा।
साथी: आज के भएको तँलाई? सरले पढाएको बेला तेरा आँखा बाहिरतिर थिए त!
कान्छु: थिएन, तैँले त्यस्तो मानिस् होला।
साथी: छोड्दे यो कुरा, बरु मलाई सरले पढाएको नोट दे त एकाउन्टको।
कान्छु: ह्या, बनाएको छैन नोट।
साथी: ल, तँ क्लासको मेहनती मान्छे, नोट समयमा बनाउँथिस्। के भो तँलाई?
कान्छु: के भएको मानिछेस् मलाई?
साथी: तँलाई केही भएको छैन, मैले भनेको त्यही हो। म्यासेन्जर धेरै नचला, बरु नोट बनाएर मलाई दे।
कान्छु: ल, ल।
कान्छु सुत्ने बेला मनमनै भन्छे, मलाई के भएको छ र? केही त भाछैन। यसरी नै उसको त्यो रात बित्छ।
भोलिपल्ट म क्लासतिर जाँदै थिएँ, कान्छुको साथीले मलाई हेर्दै मुसुमुसु हाँस्दै आफ्ना साथीतिर बसिरहेकी थिई। खै! कसको बारेमा हो भन्दै थिई- आजकालका केटाहरू खासै राम्रा हुन्नन्। मैले नसुनेको जस्तो गरेर क्लासभित्र पसेँ।
कान्छुलाई कहिलेकाहीँ उसकी साथीले, मेरा बारेमा जिस्काइरहन्थी। लगभग १५ दिनपछि करिब रतिको १० बजे साउथ फिल्म हेरर भ्याएपछि आफ्नो रुममा जान्छे। ऊ सुत्छे तर निन्द्रै लाग्दैन। फिल्मका रोमान्टिक सिनहरू उस्ले सम्झन्छे। खै के हुन्छ, एकछिनपछि फेसबुक खोल्छे। त्यही क्रममा मेरो मुस्कान उसले सम्झिन्छे। उसले मनमनै सोच्छे, त्यो काले को हो? साथीले नि बार-बार जिस्काउँछे।
न उसलाई मेरो नाम थाहा थियो न त उसले मलाई चिन्थी। उसले मलाई सोच्न थाली, मनमनै प्रशन गर्न थाली। त्यसपछि उसले फेसबुकमा मलाई खोज्न थाली। तर केही मेसो लाग्दैन।
उसले रातभरि खोज्दा पनि भेट्दिन।
अर्को दिन कलेजमा कान्छु र उसका साथीहरू विगतका कुराहरू गर्छन्। कसैका सम्झना डरलादा थिए त कसैको सम्झना आँसुमय थिए। कोसैको रमाइला थिए त कसेको हाँस्यात्मक थिए। त्यही बेला कान्छुको मुखबाट आफ्ना सम्झना भन्ने क्रममा कालेको मुस्कान भन्छे। त्यसपछि के चाहियो साथीहरूलाई, तिनीहरूले कान्छुलाई जिस्काउन थाले।
पहिले एउटा साथीले जिस्काउँथी तर अहिले लगभग क्लासका सबै साथीले 'के छ कालेको हालखबर?' भनेर जिस्काउँछन्।
ऊ यति गहिराइमा डुब्न थाली कि रातभर फेसबुकमा कालेलाई खोज्न थाली। एदेखि जेडसम्म अगाडिका अक्षर हानेर घण्टौँसम्म खोज्न थाली त कहिले कदेखि ज्ञसम्मका अक्षेर हानेर खोज्थी। तर केही सीप लागेन। यसरी दुई/चार दिन बित्छ। अन्ततः बल्ल मलाई फेसबुकमा भेट्छे।
त्यसपछि ऊ एक-एक गरेर मेरा हरेक तस्बिरहरू हेर्छे। मेरा वालका पोस्टहरू चेक गर्छे। मनमनै भन्छे, 'जति मैले सोचेको थिएँ, त्यति राम्रो त होइन काले।' तर पनि बार-बार मेरा पोस्टहरू चेक गर्छे। उसले फ्रेन्ड रिक्वेस्ट भने पठाउन्ने।
केही दिनपछि उसलाई के मूड चलछ, मेरो एक आवाज सुन्ने इच्छा जाग्छ। बल्ल लामो समयपछि फ्रेन्ड रिक्वेस्ट पठाउँछे। तर एक, दुई दिन कर्दा पनि फ्रेन्ड रिक्वेस्ट एसेप्ट हुँदैन। एसेप्ट नभएको देखेर मेरा फोटोहरू फेसबुकमा हेरेर, 'ओ काले! छिटो एसेप्ट गर' भनेर थर्काउँछे। मनमनै भन्छे, के साह्रो भाउ खाएको हो कालेले? आफूले आफूलाई के सोचेको?
कान्छुलाई कता-कता माया बसेछ, उसलाई थाहै भएन। आजकाल ऊ एकोहोरिन्छे। क्लासमा प्रेमीहरु एकसाथ बसेको देख्दा ऊ पनि कल्पनाका सागरमा डुब्छे। ती प्रेमीमा नि मलाई र आफूलाई पाउँछे। उसमा हाउभाउ धेरै परिवर्तन भएको छ।
जसलाई प्रेमको शब्द सुन्दा झनक्क रिस उठ्थ्यो, उल्टो ऊ अचेल उसका साथीलाई प्रेमका साहित्यहरू दिन्छे। उसका साथी उसलाई देखेर भन्न लाग्छन्, यो केटीलाई के भयो?
एकदिनको कुरा हो, साथीहरू उसलाई जिस्काउन थाल्छन्।
साथीहरू: हैन, तँलाई के भयो? अचेल त खुब प्रेमका साहित्य लेख्छेस्।
कान्छु: मलाई के भाको छ र? यसो केटीहरूलाई प्रेमको परिभाषा दिएको, ईर्ष्या लायो होला नि। प्रेमको परिभाषा तिमीहरूलाई के थाहा?
साथीहरू: हो, हामीलाई तेरो प्रोमका परिभाषाले पूरै ईर्ष्या लायो।
साथीहरू उसलाई जिस्काउँदै हाइफाई गछन् र हाँस्छन्। कान्छु उम्-हुम् गर्दै नाक बंगाएर त्यहाँबाट जान्छे।
त्यसको पाँच दिनपछि कान्छुले मलाई देख्छे, हल्का मुस्कान दिन्छे। त्यो उसकी साथीले देख्छे।
साथी: आजकाल त हाम्रो कान्छुलाई केही भा छैन, ह्यान्डसमहरू देख्दै देख्दिने, मुस्कान त दिँदै दिँदिने। होइन, तँलाई यति धेरै प्रेमका परिभाषा कसरी थाहा छ? यसको रहस्य जनता जान्न चाहान्छन्।
कान्छु: मैले कसलाई देखेँ र मुस्कान दिएँ, मनमा जे आयो त्यही बोल्छे।
साथी: मजाक गरेको, त्यसै रिसाउछेस्।
भेलिपल्ट राति साथीले कान्छुलाई कुरा घुमाएर बोल्छे, 'सुन् कान्छु, आजभोलि मलाई कसैसँग प्रेम पर्यो यार।'
कान्छु: को हो त्यो मान्छे जसले मेरो साथीको मन चोर्ने? छिटो भन् न।
साथी: पहिले तैँले भन् न तँलाई कसरी प्रेमको परिभाषा जानिस्?
कान्छु: भन्ने भए भन् नत्र सुत्, मलाई धेरौ निद्रा लागिछ।
साथी: सुत्, भोलि भेटेर कुरा गरौँला।
इन्टरनेटभरि कोरोना सम्बन्धी समाचार आउँछ। नेपालमा कोरोना फैलिएसँगै कलेज अनिश्चित कालका लागि बन्द हुन्छ। तर प्रेमका मनहरू कहिल्यै बन्द हुन्न। एकान्तमा प्रेमका भावहरू झन्-झन् फैलिन्छन्। मलाई नदेख्दा कान्छुलाई झन् छटपटी बढ्दै जान्छ। ऊ कहिले लकडाउन खुल्ला भन्दै सञ्चारहरू सुन्दै बस्छे। उसलाई मनमनै रिस उठ्छ तर गर्ने के?
झन् एकपछि अर्को लकडाउनका समचारहरू आउँछ। लकडाउन खुल्ने आशमा कुर्दै जान्छे। उसलाई यतिसम्म भएको थियो कि हरेक रात सपनामा उसका हातहरूले मलाई अंकमाल र उसका ओठले मेरा गालामा चुम्बन बार-बार दिइराख्थी। उसलाई सपनामा यति आन्नद आउथ्यो कि सपनानै उसको बिपना थियो जसमा हरेक पल उसले मलाई पाउथी।
बिपनामा केबल उसले आफूलाई एक्लो पाउँथी। प्रेमको लत यतिसम्म लाग्दो रैछ कि मान्छेले वास्तविक संसारलाई नै बिर्सँदो रैछ। न उसले आफन्त त्यहाँ देख्थी, केबल देख्थी त मलाई मात्र र मेरो मुस्कान।
ऊ बार-बार कल्पनाका यादहरूमा डुबिरहन्थी। म कहिले उसका यात्राहरूमा हुन्थेँ त कहिले उसलाई फकाइरहन्थे। ऊ साना-साना निहुँहरू खोजिरहन्थी, ऊसँग कहिले रिसाउथेँ त कहिले कान समातेर माफ देऊ प्रभु भन्थेँ। ऊ रिसाएजस्तो नक्कल गरेर पछाडि फर्किन्थी, अनि मुसुक्क हाँसेर मेरा फकाउने शब्दहरू सुन्थी।
कहिले जुत्ता-चप्पल फाल्थी अनि मलाई टिपेर लगाइदिन लागाउँथी त कहिले उसका झोलाहरू समातेर हिँड्न लगाउँथी। कहिले उसले मसँग मन्डबमा फेरा लिएको देख्थी त कहिले उसको घरबाट उसलाई भगाइरहेको देख्थी। म उसका लागि सारा दुनियाँसँग लडेको देख्थी। यसरी उसका सपनाका लहर बित्दै जान्छ। न लकडाउन खुल्यो न त फ्रेन्ड रिक्वेस्ट एसेप्ट भयो।
समय बित्दै जान्छ, कसले नै भविष्य देखेको हुन्छ र? एकदिन उसलाई रुघा, खोकी, ज्वरो आउँछ। सास फेर्न पनि गाह्रो भयो। उसलाई हस्पिटल लगिन्छ। कोरोना पोजेटिभ भएको हुन्छ।
ऊ आफ्ना आँखा चिम्लिन्छे र एक सपना देख्छे जहाँ म उसको नजिक-नजिक आइरहेको हुन्छु र हलका मुस्कानका साथ उसका हात समातेर उसको निदारमा चुम्बन गरेको हुन्छु। त्यसपछि त्यहाँबाट उसको सपनाको महलमा जान्छौँ। त्यत्ति नै बेला ऊ यस संसारको लागि बिदा हुन्छे।