हिजो शत्रुमाथि बज्रिएको खुकुरी
आज आफन्ततिर तेर्सिएको छ
भ्रातृप्रेममा वैरभाव जन्मिएको छ
आपसी सान्निध्यतामा वैमनस्यता पलाएको छ
खै के भनूँ
प्रेममा काँडाको बिज उम्रिएको छ
शान्त होऊ
आफूभित्र नम्रता पलाऊ
म तिमीलाई भन्दैछु
हो तिमीलाई
जो धर्मको नाममा
जातपातको नाममा विभाजित छौँ
कहिले धनीगरीब त
कहिले उचनिच भनेर बाँडिएका छौँ।
यहाँ म तराई देख्छु, मधेस देख्छु
पहाड अनि हिमाल देख्छु
खम्बुवान देख्छु, लिम्बुवान देख्छु
थारुवान देख्छु
माफ गर मलाई
तर एउटा पनि नेपाली देख्दिनँ।
यहाँ काङ्ग्रेस छ, कम्युनिस्ट छ
तिनका रङ्गीबिरङ्गी झण्डाहरु छन्
तिमी जय नेपाल भन्छौ
तिमी लालसलाम भन्छौ
तर कुन दिन तिमी
रातो र चन्द्रसूर्य ध्वजामुनि
जय, जय नेपाल गाउँछौ
कुन दिन तिमी
तराई-मधेस, हिमाल-पहाडको साटो
एउटै स्वरमा जय नेपाल भन्छौ
म त्यो नेपालको खोजीमा छु
जहाँ कोशी बग्छ उत्तरदेखि दक्षिणसम्म
सिपाहीझैँ ठडिएको छ सगरमाथा
जहाँ छन् बुद्ध र आदर्श नारी सीता
हो म हुँ त्यो यात्री
जो हिँडेको छु
एउटै नेपाल र नेपालीको खोजीमा।
धोती-कुर्ता, शीरमा पगरी भिर्दैमा
म सीमा पारिको होइन
स्मरण रहोस्
ढाकाटोपी, चौबन्दी चोली लगाउँदैमा
ऊ सँच्चा नेपाली होइन
मात्र राष्ट्रप्रेमीको खोल ओढेको हुनसक्छ
देशभक्त हुनलाई त महोदय
मुटुमा नेपाल हुनुपर्छ
रगतमा नेपाल बग्नुपर्छ
म त्यो क्षणको पर्खाइमा छु
जहाँ कहीँ कतै तिम्रो-मेरो नहोस्
सिङ्गो नेपाल र नेपाली होस्
केवल नेपाल र नेपाली
र हातमा मेरो नेपाली झण्डा।