चराले आफ्नो भोक मेटाउन गजा खाएपछि
म आमा पिपलबाट छुट्टिएँ
एउटा अक्करे भिरमा
चराले बिष्टाएपछि मेरो जीवन पनि उम्रिएको थियो
अहिले म
एउटा जागिरे मान्छेको कोठा सजाउन
आफू गमलामा दिनरात उभिएको छु
यो मान्छेभित्र पनि
मेरोजस्तै रहर रहेछ, आधा जंगल एक्लै बन्ने।
जब आकाश छुन्छु भनेर टन्नै पात भरेर
हाँगाहरु माथि फिजार्न खोज्छु
जब गमलाको पिँध फोरेर
जमिनको स्पर्श लिन कसिन्छु
यो मान्छेले मेरा नयाँ पात र हाँगा छिमल्छ
जरा मिलाएर लामो नहुने गरी काट्छ
नयाँ बोन्साइ सोइल भरेर अर्को गमलामा रोप्छ
खै कुन्नी किन हो?
यो प्रायः सरुवा बढुवा हुँदा यसो गर्छ।
मैले कतिपटक ख्याल गरेको छु
घर र साथीहरुका फोन राखेपछि
ए यस्तो विधि रंग विहीन हुन्छ
जस्तो मिन पचासको ठिगीमा म हुन्छु।
धेरै दिनपछि
एकदिन अबिर र खादा लाएर
ए जीउभरि मदिराको गन्ध बोकेर आयो
त्यो दिन मेरो जरामा पानी राखेर रुँदै थियो
हेन्डस फ्री मोडको मोबाइलले
कार्यालयमा कार्यलय प्रथम भएकोमा बधाई बोलिरह्यो
त्यसो भएको केही दिनपछि
नजिकै चलेको बोन्साइ कम्पिटिसनमा मलाई प्रतियोगी बनायो
कस्तो मिठो संयोग म फस्ट भएँ
तर बधाई उसले पायो।
धेरै दिनपछि
फेरि अर्को दिन
एउटा एक्युरिएम लिएर आयो र मेराे छेउमा राख्यो
त्यही साँझ खाना बनाउँदै गर्दा
उसकाे हेन्ड्स फ्री मोडमा
सायद उसकाे हाकिम हुँदो हो
बोल्दै थियो-
सर तपाईंलाई बधाई छ
तपाईंको काम गर्ने टेबल मेरोसँगै जोडेको छु
मलाई यसले एक्युरिएम फोड्यो भने
माछा कसरी बाच्लानजस्तो लाग्यो।