खोइ!
कहिले कामबाट समय मै फर्किन्छु
खुसीले मुसुक्क मुस्कान खोल्छिन्
र त मलाई प्रेमको बहार प्रेम जाग्छ।
खोइ!
कहिले ढिलो हुन्छ, अबेर फर्किन्छु
गुम्म परेर फुलेर बस्छिन्
र त मलाई औधी प्रेम लाग्छ।
खोइ!
कहिले अलि बढी खर्च भो भन्छु
आँखा तरेर ठुस्स पर्छिन्
र त मलाई असीम प्रेम फाप्छ।
खोइ!
कहिले म छोरालाई पो हो भन्छु
नयनमा गहिरो आगत जोड्छिन्
र त मलाई सुवासित प्रेम लाग्छ।
खोइ!
कहिले यस्तो त तिम्रो लागि हो भन्छु
खुसीको औधी बिगुल हुन्छिन्
र पनि मलाई विश्वासमै प्रेम नाप्छ।
खोइ!
कहिले आज हेर न बिर्सें है भन्छु
घरै उचाल्छिन् कि झैँ गर्छिन्
र पनि मलाई किक्क बाडुली प्रेम लाग्छ।
खोइ!
कहिले यस्तो भुलक्कड हुन्छु
घरमा आगो नै बोल्छ कि भन्छु
र पनि मलाई स्निग्ध प्रेम नै प्रेम फाप्छ।
खोइ!
कहिले म तिमी, तिमी म हुँ भन्छु
आकाशसरि चेहारा खोल्छिन्,
र पनि मलाई अनगिन्ती प्रेम जाग्छ।