ऊ तिमीलाई अपार प्रेम गर्छ
हरेक सुख दुःख तिम्रै काखमा पोख्न खोज्छ
कहिले प्रेमिका जिस्काउँदा झैँ जिस्काउँछ
कहिले ममीसँग जस्तै सल्लाह माग्छ
घरी सताएर रुवाउँछ, घरी हँसाएर रुवाउँछ
तिम्रो फोन आउँदा ऊ मुस्कुराउँदै उठाउँछ
कहिले बोल्न नपाएर ठुस्किएर बस्छ
बहिले बोल्दा बोल्दै रिसाएर फोन काटिदिन्छ
कहिले तिमीले जित्ने थाहा पाएपछि ऊ हारिदिन्छ
कहिले तिम्रै खुसीको लागि ऊ जितिदिन्छ
कहिले जानेको कुरा पनि नजाने झैँ गरी सोधिरहन्छ
कहिले फेरि तिमीलाई उल्टै तिनै कुरा सिकाइदिन्छ
अझै
बिरामी पर्दा पटक-पटक दबाई खायौ भन्दै फोन गर्छ
खाना नि खाना भन्दै झन् स्पष्टिकरण माग्छ
गूड मर्निङसँगै गरेको दिनको सुरुआत
गूड नाइटसँगै ऊ आजलाई विश्राम लिन्छ
टाढा नजानु न भनेर गरेका बिन्तीहरू
तिमीसँग गरेका ती गल्तीहरू
सबै संगालेर एउटा पत्र लेख्छ
तिमीलाई प्रेम गर्नुको कारण एउटा हैन
हजार छन् भनी दुखाउनलाई पनि ऊ पत्र लेख्छ
ऊ चाहन्छ प्रेमपत्र लेख्न र प्रेमिका बनाउन
सँगै बसि मिठा बात गरी जीवन बिताउन
तर
उसले लेख्न सकेको छैन एउटा प्रेमिल पत्र अनि
भन्न सकेको छैन मनका भावहरू
भनिदेऊ ऊ के लेखोस्
पत्र लेखोस् या प्रेम पत्र लेखोस्?