म: गुड मर्निङ डियर
उताबाट: गुड नाइट
उताबाट: गुड मर्निङ डियर
म: गुड नाइट
यसरी नै चल्ने गरेको छ मेरो बिहानी र बेलुकी।
मेरो मात्र हैन सायद अमेरिका र नेपालमा भएका लङ डिस्टेन्स रिलेसनसीपमा भएका धेरैको यस्तै हुन्छ। सबैलाई आफ्नै समस्या ठूलो लागेजस्तै मलाई नि मेरै समय नमिल्ने समस्या ठूलो लाग्छ।
यो समस्या ठूलो लग्न लागेको नि ५ वर्ष भयो। उनी यूटा (Utah) मा म उदयपुर कटारीमा। रिलेसनसीपमा केही नमिलेसि यू यू मिल्दा नि खुसी लाग्ने रहेछ।
खासमा मेरो बिनितसँग भेट भएको छैन।
साथीको साथीहरू एड एस अ फ्रेन्डमा आउँदा २०१३ मै फेसबुक फ्रेन्ड भएका थियौं हामी।
मलाई बिनित अमेरिकामा घुमेको फोटोहरू राख्दा खुबै मन पर्थ्यो।
उहाँ जहिले एउटा केटा साथीसँगै घुमेको फोटो राख्ने। मलाई लाग्थ्यो कहिलेकाहीँ त सिंगल फोटो राखे नि हुने नि। तर त्यही प्रोफाइल पिक्चरमात्र सिंगल राख्ने त्यो नि.. हार्ड्ली ... उफ़्फ़्फ़्स्स्स.......
फेसबुक फ्रेन्ड भए नि हाम्रो कुरा हुन लागेको २०१६ अगष्ट ११ मा मात्र हो। बिनितले मलाई हामी कतै भेटेको छौं हो भनेर मेसेज गर्नुभएको थियो। ३ वर्षपछि पहिलो पटक त्यो नि यस्तो लेखेर मेसेज। उफ़्फ़्स्स्स...
त्यै नि मैले राम्रै रिप्लाई दिएँ।
हामी बिस्तारै ३/४ दिन गर्दागर्दै १/२ दिन अनि दिनदिनै गर्दागर्दै एकछिन एकछिनमा बोल्ने भएका थियौं। २०१६ देखि २०२२ सम्म आउँदा मलाई बिनितसँग बोल्ने बानी परिसकेको थियो। कलेज कुन बेला सकिएला र घर पुगेर बोलौंला भन्ने हुने।
धन्न मेरो डे कलेज भएकोले मेरो बिहान अर्थात् उहाँको राति बोल्न पाइने थियो। बिनितको घर पोखरा हो। प्लस २ सकेसी उहाँ आइटी पढ्न अमेरिका जानु भएको रे।
गएको नि ६ वर्ष भएछ। खोइ किन हो घर त्यति आउन मन लाग्दैन रे।
घरमा भन्दा उतै मन खुसी हुन्छ रे।
यो सुन्दा मलाई अलिक कस्तो कस्तो लाग्थ्यो।
त्यस्तो के छ र अमेरिकामा घर नै आउन मन नलाग्ने? भन्दा तिमीलाई भेटेसी अब आउन मन छ भनेर हाँस्नु हुन्थ्यो।
उहाँले आफ्नो सबै कुरा फोनमा भन्नु हुन्थ्यो नेपाली र इन्डियन गरेर फ्ल्याट सेयर गरेर बस्नु भएको छ रे। बस्ने ४ जना साथीमध्ये एक जना अलिक इस्पेसल छ। इस्पेसल साथीको नाम प्रवीन रे। सँगै पढ्ने पनि। यसरी नै सबै रे रे मै चलेको थियो।
अनि मसँग फोनमा बोल्ने बेला कहिलेकाहीँ प्रविन उहाँको रूममा आयो कि फोन राखी हाल्ने। मलाई नि प्रविनसँग बोलाउनु न भन्थें। तर उहाँले पछि अब यहीँ आएसी भेट्ने भन्नु हुन्थ्यो अनि म नि मन मन मा अमेरिका जाने सपना देख्न सुरू गर्थें।
यसरी नै हाम्रो रिलेसन चलिराखेको थियो। अनि आयो मेरो घरमा बिहे गर्ने कुरा। मैले बिनितलाई भनें- हजुर नेपाल आउनु अब भेटेर बिहे गर्नु पर्छ भनेर।
उहाँ अहिले अब २ वर्ष पढाइले गर्दा नेपाल आउन नमिल्ने भन्नु भो।
मलाई बिनित यति मन परिसकेको थियो कि अरूसँग बिहे गर्ने त् के सोच्न नि नसक्ने भैसकेको थिएँ। तर घरमा भने बिहेको कुरा आएको आयै।
एक दिन अति भएसी मम्मीलाई भने मैले कसैलाई मन पराउँछु भनेर। को हो के हो सबै सोध्नु भयो सहीसँग सबै भनें।
मम्मीले भन्नुभो- फेसबुकबाट नि कहीँ लब पर्छ, फेसबुकमा भेटेको मान्छेको के भर? फेसबुकमा भेटेका मान्छे असल हुँदैनन्…।
मैले मन मनमा सोचे असल मान्छेले फेसबुक चलाउँदैनन् कि हजुर र म नि असल छैनौं? हामी नि त् फेसबुक चलाउँछौं। तर केही बोलिनँ।
मलाई घरमा बिहेको कुरा, उता बिनित नेपाल आउन नमान्ने। यही कुराले झगडा हुन सुरू भो। मलाई थाहा थियो कि बिनितलाई नि मसँग नबोली बस्न गाह्रो थियो तर नि उहाँलाई केही कुराले रोकेको महसुस हुन्थ्यो मलाई।
२०२२ को न्यू इयरको दिन मेरो अरू दिन जस्तै उठें।
बिनितको मेसेजले म छानाबाट खसेजस्तो भएँ।
उहाँले धेरै समयदेखि भन्न खोजेको तर भन्न नसकेको कुरा भन्नुभो।
भनेको नि न्यू इयर इभमा ड्रिंक्स गरेर।
डियर सुस्मिता, मलाई तिमी एकदमै मनपर्छ। त्यो नि अहिलेबाट हैन २०१३ बाट जब तिमी मेरो फेसबुक फ्रेन्ड भयौ। मलाई तिमीसँग हैन आफैंसँग डर लाग्छ। मेरो कुरा सुनेसी तिमीले कस्तो रियाक्ट गर्छौ त्यो मलाई थाहा छैन। मैले भन्ने कुरा अमेरिकामा त नर्मल हो नेपालमा अझै बुझ्दैनन्। त्यही भएर मलाई नेपाल आउन मन लाग्दैन।
खासमा म एबनर्मल हैन हाम्रो सोच एबनर्मल हो।
मलाई रिङ्गाटा चल्यो मलाई राम्रो नराम्रो के हो के गर्ने केही सोच्न सकिनँ।
मलाई के भो थाहा छैन। उहाँको त्यति धेरै मेसेजको लास्टमा लेखेको थियो ... मलाई तिमीसँग बिहे गर्न मन छ तर … आई एम बाइ सेक्सुअल’
मैले रिप्लाई गर्न खोजें तर मेसेन्जरले भन्यो ‘यु कान्ट रिप्लाई टु दिस कन्भरसेसन् ’...