सानोमा काम बिगार्दा
आमाले कुटथिन्
हुर्केपछि बुवाको
जुंगाको डर लाग्थ्यो
अनि दाजु भाइको
त्रास हुन्थ्यो
कलेजमा केटा साथीको
बिहे पछि तिम्रो दमन।
म पनि तिमी जस्तै
मज्जाले गर्न सक्छु
तर, छोरी छोरीको
भविष्य कल्पेर
डर लाग्छ।
म कहिले काहीँ
तिम्रो औंठी
खोलेर नियाल्छु
जतिखेर
मेरो श्वासप्रश्वास
अति सरल र सहज
बन्छ
तिमी मातेर आउँदा
गर्ने व्यवहार
गर्ने बलात्कारले
म टुटी सकेकी छु
तिम्रो हर्कत सम्झँदा
मेरो खुन खौलिन्छ
तै म बाध्य छु
चुपचाप सहन।
कुनै दिन
स्कुल पढ्दा
मेरा कलिला खुट्टाको
रगत
ती कडा र काला
छालाका जुत्ताले
खुबै चुस्थे
सेता हुन्जेल
घर परिवारको
अनुशासनको जञ्जिरमा
मेरो कलिला चाहनाहरू
सधैं मुर्छित रहन्थे।
किनकी, सबै मलाई
साङ्ले अनुशासन
मात्रै सिकाउँथे
त्यसैमा बाध्न लालायित हुन्थे
घोकाउँथे
केबल ऊँच नीचको पाठ
खोक्रा आडम्बर
दम्भ र प्रतिष्ठा
काजी परिवारका
ती सबै बेतुक
र फगत थिए।
आज पनि
मेरो मुटुमा
शुलझैं चस्किरहन्छ
मेरो प्यार
त्यो गोठालोको छोरा
जो दिनरात
माटोसँग खेल्छ
पसिनाको रोटी खान्छ
खाइ लाग्दो छ
यता
तिम्ले चुनेको ज्वाइँ
पूरै माले भाछ
सधैं झ्याप
थाहा छैन बाबा
अगाडि के हुन्छ ?
तर, अब मलाई
तिम्रो प्रतिष्ठाको
औंठी
थप लगाइ रहन
पटक्कै मन छैन!