झिमिक्कै साँझ परिसके पनि बर्खा भएकोले होला ७ बजे पनि हल्का उज्यालै थियो।
घरभन्दा लगभग ३०० मिटर जति परबाट हल्का नीलो होला सायद तर कालो कालो देखिने सर्ट अनि रातो पाइन्ट लगाएको मान्छे हाम्रो घरैतिर लम्कँदै थियो।
म ट्वाल्ल परेर एकनास हेरिरहेकी थिएँ।
कतै ऊ मेरो राम त हैन? धत् म पनि जो आए पनि आफ्नै देख्ने! झस्किएँ।
त्यै पनि हेरिरहें। स्कुले झोला भिरेको हातमा सुटकेस डोर्याउँदै हाम्रै घर अगाडि आएर टक्क उभियो। पक्कै पनि विदेशबाट आएको हुनुपर्छ तर यो अनुहार त हाम्रो गाउँमा पहिले देखेकी थिइनँ। उसले आफ्नो फोन निकाल्यो र फोन थिच्न थाल्यो।
ओहो यही बेला मेरो फोन बज्नुपर्ने! दौडेर भित्र गए चार्जमा राखेको फोन चार्जबाट निकालें र हेरें नचिनेको नम्बर थियो।
‘हेलो..हेलो हजुर समिता भाउजू हो?’
‘हजुर हो। तर हजुरको बोल्नु भएको?’
‘ए म रामको साथी। आजै हो आएको रामले सामान पठाएको थियो दिन्छु भनेर आको घर कुन हो चिन्न सकिनँ।’
म दौडेर बाहिर गएँ।
‘हजुर यै हो।’ फोन काटें।
‘आउनु न घरभित्रै’
‘ए भाउजू नमस्कार।’
‘म त नचिनेको मान्छेको आउनु भयो भनेको त!’बोल्दैबोल्दै भित्र पस्यौ।
ढोकाको छेउमा सुटकेस राखेर ऊ छेउको खाटमा बस्यो।
‘हजुर बस्दै गर्नु म चिया बनाउँछु’
‘हुन्छ भाउजू, अनि आमा बुवा खै त? रामले सँगै बस्नु हुन्छ भन्थ्यो’
‘हजुर हो आमा पूजा गर्दै हुनुहुन्छ। बुवा यसो बाहिर निस्कनु भएको थियो भर्खरै।’
ऊ घरका भित्तामा भएका फोटोहरू नियाल्दै थियो। म चिया पकाउने तरखरमा लागें।
‘पहिल्यैदेखि झिल्के रै’छ नि राम त!’
म मुस्कुराएँमात्रै।
‘उ आमा पनि आउनु भयो’
‘ढोग गरें आमा’ऊ आफ्नो परिचय दिँदै थियो आमालाई।
आमाका आँखाबाट आँसु खसिसकेछन्।
‘आउँदैन अरे मेरो छोरो? यत्रो वर्ष भैसको।’ ऊ चुप थियो बस खिस्स हाँस्योमात्रै।
आमा छेउमा बस्नु भयो।
दुबैलाई चिया दिएँ।
हातमा थालै बोकेर कुरा सुनिरहेकी थिएँ।
‘ए बुहारी खाना पकाउन सुरसार गर, बाबु यतै बस्नु हुन्छ आज रात परिसको रातका पाहुनालाई घरबाट निस्कन दिनुहुन्न।’
ऊ पनि केही बोलेन।
म भान्सातिर गए पनि कान उतैका कुराहरू सुन्न तम्सिरहेका थिए।
आमा भन्दै हुनुहुन्थो, ‘खै बाबु सबैले तिम्रो छोरो बिग्रियो, उतै केटी राखेर बस्या छ भन्छन्, के हो कुरा बाबु यति राम्री कलकलाउँदी बूढी छोडेर गाको ५ वर्ष भैसक्यो बे गरेकै महिना छोडेर गाको। याँ हामी बुढाबूढीलाई हेरेर बसेकी छे बुहारी,अर्काकी छोरी कति कुरोस्! फोनसोन पनि गर्दैन मोराले। हामीलाई जिउँदै मार्ने भो बाबु।’ यति सुनेपछि म भक्कानिन थालेछु।
थाहा पाउनु होला भनेर हतारहतार सप्कोले आँसु पुछें।
‘आमा कति सम्झाउनु हामी सबैले कति सम्झाउँदा पनि मान्दैन बज्या घरमा यति राम्री भाउजू हुनुदो रै’छ।’
‘हो नि बाबु के गर्नु! भएको त्यै एउटा छोरो बुढेसकालको सहारा हुन्छ भनेको यस्तो मति बिगारेर आउँदैन घर। फोन पनि गर्दैन कहिल्यै। कति रूँनु म बूढी रूँदा-रूँदा आँसु सकिसके।’
‘आमा नरूनुस्, हामी अझै सम्झाउँछौं त्यसलाई।’
‘जवान बुहारी छे, दुनियाँले घोच्छन् त्यसलाई। केलाई कुरेर बस्छेस् तेरो लोग्ने आउँदैन अब अर्को बिहे गर भन्दिन्छन्। पीरले दुब्लार यस्ती भाकी छ देखिहाल्नु भो बाबुले। हैन त्यो गधालाई हाम्रो त माया लागेन तर बालख छोरो देख्न मन लाग्दैन? के दोष छ यो भगवानजस्तो नातिको! अहिल्यैसम्म बाउको अनुहार देख्न पाको छैन। आमा ड्याडी कैले आउनु हुन्छ भन्छ दिनहुँ। बोल्ने शब्द छैन आफूसँग।’
ढोकाबाट लुकेर हेर्दै थिएँ। आमाका आँखाबाट आँसु झरेको देखेर मन थाम्न सकिनँ।
बार्दलीमा गएर धित मरून्जेल रोएँ।
आफ्नो भाग्यलाई दोष दिनुबाहेक अरू के गरौं म!
सुतेको छोरो उठेर के भो आमा किन रूँनु भाको भन्दै छेउमा आयो।
‘ए आँखामा धुलो परेछ हिँड भित्र जाऔं।’ हातमा डोर्याएर भित्र हिँड्यो।
अभागी रैछस् तँ पनि!
त्यो साँझ रूनधुनमै गयो। खाना खाइसकेपछि उहाँले एउटा झोला मतिर लम्काउँदै ‘यो रामले पठाको।’ भन्दै दिनुभो।
‘के पठाउनु भएछ त?’
‘खै भाउजू कसैलाई नदेखाई दे है भनेको थियो’
समातेर कोठामा गएँ। सिरानीभित्र राखेर बाहिर निस्कन लाग्दै थिएँ फेरि के रैछ हेर्न खुल्दुली भयो। ढोका बन्द गरेर खाटमा बसें। नेपालकै जस्तो प्लास्टिकको ब्याग थियो टेपले बाँधेको। खोलेर हेरें। बाबुको लागि एक जोर लुगा र जुत्ता थिए। लुगाको बीचमा पट्टयाएर राखेको कागज रै’छ खोलें।
‘प्रिय समिता, आशा छ तिमी सन्चै छौ। हेर समिता मान्छेको जिन्दगी कति खेर परिवर्तन हुने रैछ थाहै नहुने रछ। मलाई थाहा छ तिमीले मलाई कैले माफ गर्ने छैनौ तर अब म तिम्रो हुन सक्दिनँ तिमी आफ्नो बाटो गर। छोराको स्कुल खर्च पैसा मै पठाउँछु बरू। तिमीलाई मनपर्ने मान्छे खोजेर तिमी पनि जिन्दगी बनाऊ। मैले मन पराको मान्छे यही भेटें अब म तिम्रो हुँ भनेर झूटो आश देखाएर तिम्रो जिन्दगी बिगार्न चाहन्नँ। तिमी आमाबाको पीर नमान्नू। म यतैबाट पैसा पठाउँछु उहाँहरूलाई। हामी जिन्दगी भरलाई साथी बन्न सक्छौं तर त्योभन्दा माथि तिम्ले मबाट आश नगर्नू।
तिम्रो भएर पनि हुन सकिनँ सक्छ्यौ भने माफ गरिदेऊ’
राम
चिठी पढ्दा पढ्दै थाहै नपाई बेस्मारी रून लागेछु। आमाले ढोका ढक्ढक्याउँदै कराउँदै हुनुहुँदो रै’छ।
‘समिता….समिता ढोका खोल बाबै किन रोकी के भो’आँसु पुस्दै ढोका खोलें। आमाभित्र छिर्नु भयो। आमासँगै बा अनि रामको साथी पनि आउनुभयो। बुबाले भुइँमा झरेको चिठी पढ्न थाल्नु भयो। आधा पढ्दा पढ्दै चिठी त्यैँ छोडेर बाहिर निस्कनुभयो कसैसँग केहीको पनि उत्तर थिएन। त्यो रातभर छोरालाई काखी च्यापेर ओछ्यानमा पल्टें।
बिहान उठ्दा सिरानीले पनि रूप फेरिसकेको थियो आँखा सुन्निएर हेर्न नै अप्ठ्यारो भएछ। टाउको पनि फुट्लाजस्तै भएको थियो। सुन्निएका आँखा लुकाउन हल्का गाजल लगाएँ।
भान्सामा गएर प्यानाडोल खाएपछि टाउको अलि हल्का भयो। अबको मेरो जिन्दगी कता छ त? छोरोको भविष्य के हुने हो,,,! केही सोच्नै सकिनँ।
आमा बासँग कुरा गरेर १/२ दिनको लागि माइत जाने निर्णय गरें र छोरा बोकेर गएँ।
मेरी आमा दमकी रोगी यतिन्जेल त कुरा लुकाएर राखें अब त लुकाएर लुक्ने ठाउँ नै रहेन। बाआमाको आँखामा आँसुका धारा बगे तर पनि के गर्नु परिस्थितिसँग जुध्नु त पर्यो!
बुवाको सल्लाह अनुसार मैले सानो व्यवसाय गर्ने निधो गरेर बुवाले सहकारीबाट पैसा निकाल्दिनु भयो। मसँग त केही थिएन मेरो बालख छोरोबाहेक।
मैले २०/२२ वटा गाईहरू पाल्ने निधो गरें। सुरू सुरूमा गाह्रो थियो तर दुबैतिरका बुवा आमाको सहयोगले करिब एक वर्षपछि त राम्रो हुँदै गयो। पहिला पहिला दूध बेच्थें। तर अहिले आफैंले कुराउनी बनाएर बेच्न थालें। झिलमिलेको हरेक पसलमा मैले बनाएको कुराउनी पाइन्छ अहिले।
छोरो पनि ठूलो हुँदैछ राम्रो बोर्डिङमा पढिरा’को छ। आमा बुवाको माया अनि साथले अहिले आफ्नै सानो घर बनाउँदै छु। मेरो व्यापार दिनहुँ बढ्दैछ। काम गर्ने पनि टन्नै राखेकी छु। दिदी बहिनीहरू जो मजस्तै दु:ख पाएर भविष्य खोज्दै आउनुभएको थियो। कहिले कहिले उता घर जान्छु बुवा आमालाई अलिअलि घर खर्च दिएर आउँछु।
सुन्दैछु राम पनि नेपाल आउँदैछ अरे उसकी प्रेमीकासँग सम्बन्ध टुट्यो रे। तर म र मेरा दिनहरू बलिया भएका छन्। मेरो बिहे पनि मेरै व्यवसायसँग भएको छ। एकछिन छोड्दैन त्यसले। अनि यो मेरो माइती गाउँ। गाउँमा शिर ठाडो पारेर हिँड्छु आजकाल सबैको सम्मान जो पाएकी छु।
आखिर गरे के नहुने रै’छ त! उसैले भनेको थियो मलाई समय एउटै हुँदैन रछ समिता मेरो मन पनि समयसँगै परिवर्तन भयो।
म त यही भन्छु- हो रै’छ समय साँच्चिकै कति बलवान हुँदो रै’छ। समयले परिस्थितिसँग जुधेर बाहिर निस्किन सिकाउने रै’छ। हिजोसम्म असम्भव लाग्ने तिनै चिजहरू आज आँखा चिम्लिँदा पनि सहजै पाउँछु।
हिजोसम्म म तिम्रो मायाको भिख माग्दै बसेकी मान्छे आज आफ्नै खुट्टामा गर्वका साथ अडिएकी छु। न त मलाई अब तिम्रो माया चाहियो न त तिम्रो साथ नै। बस् भगवानलाई धन्यवाद भन्नु छ सही बाटो देखाइदिएकोमा।