नौ महिना दुःख, कष्ट, पीडा सहेर हाँसीखुसी हुँदै
मलाई जन्मदिने मेरी आमाको लागि मास्क लगाउँछु
मलाई हुर्काउन र मेरो भविष्य बनाउन भनी आफ्नो
खुसी र सुख बेची दुःख गरेका मेरा बाको लागि मास्क लगाउँछु
सानो छँदा मालाई ताते-ताते भन्दै आफ्नो काखमा राखेर
खेलाएकी मेरी हजुरआमाको लागि मास्क लगाउँछु
हजुरबालाई देख्न न पाए पनि भगवान रूपी मेरा बालाई
जन्म दिनेप्रति सम्मान स्वरुप मास्क लगाउँछु
छोरा आज हाम्रोमा मिष्ठान्न भोजन पाकेको छ, आजको खाना
यतै खाऊ है भन्दै माया गर्ने काकाहरूको लागि मास्क लगाउँछु
फोहर भएका कपडा ल्याऊ धोइदिन्छु छोरा भन्ने र सानोमा बिरामी
हुँदा बोकेर अस्पताल पुर्याउने काकीहरूका लागि मास्क लगाउँछु
जेठा झैँ झगडा गर्नु हुन्न, सत्यको बाटो हिँड्नु पर्छ जे पर्छ-पर्छ
ठूलै मान्छे बन्नुपर्छ भन्ने ठूलाबा र ठुलीआमाको लागि मास्क लगाउँछु
भेट हुँदा सधैँ प्रगति भएको देख्न, सुन्न र सोचे-आँटेका काम
पूरा हुन् भन्ने प्यारा फुपू र फुपाजुहरूका लागि मास्क लगाउँछु
लडाइँ, युद्ध, झगडा पर्दा लडाकू झैँ मेरा अगाडि-पछाडि लाग्ने
मेरो प्राण प्यारा दाइभाइहरुको लागि मास्क लगाउँछु
तिहारको दिन मेरो निधार खाली अनि दिदी-बहिनीहरूको
आँखामा आँसुको वर्षात नहोस् भनी मास्क लगाउँछु
सुखदुःख अनि जिन्दगीमा आइपरेका कठिनाईसँग लड्दै पड्दै
यो जुनी सँगै कटाउने अनि धन सम्पत्ति नहुँदा पनि साथ दिएर
सँगै कमाउला, रमाउला भन्ने सबैलाई आफ्ना र आफन्तहरू
सम्झेर माया गरिरहेन मेरी प्रियसीको लागि मास्क लगाउँछु
अप्ठ्यारो काम पर्दा टुप्लुक्क सघाउन आइपुग्ने मेरा प्रिय
मामा अनि माइजूहरूको लागि मास्क लगाउँछु
मेरो प्रगतिदेखि रिस, डाह गर्ने मेरा शत्रुहरूले पनि
मबाट केही राम्रा कुराहरू सिकुन् भनी मास्क लगाउँछु
रात-दिन,आँधीबेरि नभनी मलाई जति बेला नि सहयोग गर्न
तयार हुने मेरा प्रिय साथीहरूका लागि मास्क लगाउँछु
अँध्यारोबाट उज्यालोको बाटो देखाउने मेरा भगवान रूपी
प्यारा गुरुबा-गुरुआमाहरूको लागि मास्क लगाउँछु
मेरा समस्त आफन्त इष्टमित्र, साथीभाइ देश तथा विदेशमा
भएका समस्त मानव जातिहरुका लागि मास्क लगाउँछु
मेरै कारण महामारीले कसैलाई केही हुन, छुन नसकोस् भनी
आफू बाँच्न र अरूलाई बचाउनको लागि मास्क लगाउँछु।