सुत्केरी घामले डाँडो काटेपछि
आङ तान्दै टेबलको चिया
सुरुप्प पारेर
उही देशको खेदो खनेपछि
बिग्रिएको हो देश
मानो रोप्दा मुरी फल्ने
गैरी खेतका फाँटहरूमा
वनमारा लहराएर
बुबा सहर र काका
विदेश पसेपछि
भित्रिएको हो विदेशी चामल
जरुवा मूलको मिठो पानी
भाङ खोलामा मिसाएर
प्रतिबोत्तल सय रुपैयाँमा
कोकाकोला र फेन्टा
घरभित्र पस्न थालेपछि
थपिएको हो विदेशी ऋणको भार
गर्दा-गर्दा आज
सुकुम्बासी भएर हिँड्दैछ सिमाना
शरणार्थी भएर हिँड्दैछ स्वाभिमान
सुतेको छ भेन्टिलेटरमा देश
रित्ताएर गाउँ-सहर सारा
जाँदैछन् नव धनाड्य
विदेशी महलहरूमा
आज त केवल
देशको भविष्य बोक्ने काँध छैन
सिमानामा गाडिएका साँध छैन
भोलि बुद्धहरू अर्जुन नबन्ने हो भने
नरहन पनि सक्छ देश
नरहन पनि सक्छ स्वाभिमान
त्यसैले, हे शान्तिका अग्रदूत
उठाऊ कलमरुपी वाण
बनाएर समृद्धिलाई निसाना
छोड्नुछ क्रान्तिका तीरहरु
अन्तिम पटक यो देशका लागि
मौलिकता संस्कृति र परिवेशको लागि।