म उसको अतीत
जहाँ उसले
मेरा हजारौँ सपनाहरूलाई
दफन गरेकी छ
अनि म बाँचिरहेछु
यादहरूको भारी बोकेर
जहाँ हरेक रात आँसु मलाई
अङ्गालो मार्छ।
मसँग खुसी छैन
छ त केबल खोक्रो शरीर
ऐना सरि टुटिसकेको छ मन
झिनो सास लिएर
धड्किरहेछ धड्कन
अनि उदास चलिरहेछ जीवन
म हेर्छु बार्दलीको ढुकुरको जोडीलाई
तब अनायासै भक्कानिन्छ मन।
प्रत्येक दिन मृत्यु
मेरो सिरानमा घुम्छ
भन्छ बाँकी के छ तँसँग?
म निशब्द हुन्छु
छाती चिरेर देखाउन सक्दिनँ
न त सक्छु मुटु झिकेर नै
मात्र देखाउँछु उसलाई
उसको यादले निदाउन नसकेका
मेरा लाल नयनहरू।
हो, मलाई थाहा छ
गाह्रो छ पीडा लुकाउन
आँसुलाई पोको पारी सन्दुकमा राख्न
तैपनि मुस्काएकै छु
मुस्काउने छु
विगत सम्झी वर्तमानसँग
किनकि अतीतलाई उसले
चितामा जलाएर गएकी छ।