लाग्थ्यो,
मैले मलाई बिर्सिएको दिन मेरो कुनै अस्तित्व रहँदैन
कसैले खोज्दैन
कसैले चिन्दैन
कसैको अंक गणितमा
म पक्कै अटाउँदिनँ।
लाग्थ्यो मसँग मेरो केही हुने छैन
तर त्यो सारा भ्रम रहेछ
आज थाहा भयो
म आफू नहुँदा पनि म उनको मनमा छु
उनी मेरो सबथोक, त्यही भएर
सबैको मनमा छु।
लाग्थ्यो,
म आफूले सबैलाई खुसी बनाउन सक्दिनँ
सबैका हर प्रहरका रहरहरू पूरा गर्न सक्दिनँ
तर आज तिमीलाई खुसी बनाउँदा
तिमी मसँग हाँस्दा रमाउँदा
लड्न खोज्दा तिम्रो हात समाउँदा
भोलिको ठूला सपनाहरू सजाउँदा
लाग्न थाल्यो कि मैले मलाई बिर्सिंदा
तिमीलाई पो धेरै सम्झिएको रहेछु।
लाग्थ्यो,
मलाई ठूलो रहर छैन जिन्दगीसँग
न त ठूलो सपनाहरू
न त विशाल चाहनाहरू
सायद मैले मलाई नै बिर्सिएको थिएँ
आज ठूला सपना, ठूला चाहना
समयसँगै मैले मलाई बिर्सिएको दिन
तिमी साथमा, समीपमा
हर प्रहरमा
घाम र जुनले धर्तीको साथ नछोडे झैं
साथ दिइराख्दा
मैले मलाई त पक्कै बिर्सिएकै हो।
हिजो आज यस्तो लाग्छ
मैले मलाई बिर्सिएर तिमी भएँ भने
सारा पीडा वेदना बाड्न पाएँ भने
जिन्दगीमा कतै ठूलो धोका खाँदा
म छु नि भन्ने हिम्मत पाएँ भने
मनका भावनाहरू
छताछुल्ल पोख्न पाएँ भने
म लड्न लाग्दा समाउने हात
अनि जिन्दगी भरको साथ पाएँ भने
मैले मलाई नै बिर्सिंदा के नै हुने रैछ र?
मेरो आँसु तिम्रो
मेरो सारा खुसी तिम्रो
दु:ख पीडा सबै तिम्रो भन्दै
जुनी-जुनीसम्म जिन्दगी नै सुम्पिसकेपछि
मलाई म किन हुनु पर्योम?
त्यसैले म मलाई सधैँ बिर्सिन्छु
तिमीमै हराउँछु
कराउँछु, चिच्याउँछु
तिमीलाई सम्झिन्छु
म लड्दा तिमीलाई दुख्छ
म रुँदा तिम्रो आँखा रसाउँछ
मेरो खुसीमा तिमी खुसी
मेरो दुःखमा तिमी दुःखी
आखिर सबै तिमी नै भैसकेपछि
मैले मलाई बिर्सिंदा के हुन्छ त?
मैले मलाई बिर्सिंदा
मैले मलाई सम्झिनु पर्ने
हरेक कारण, हरेक पल हरेक क्षण
मैले तिमीमै समर्पित गरेको छु है पिया
मैले सम्झिनु पर्ने तिमी छौ
त्यसैले मैले मलाई बिर्सिएकोमा
कुनै गुनासो छैन पिया।