आमाको इज्जतमाथि स्वार्थप्रेरित धावा बोल्ने
निर्लज्ज तिम्रो अनुहारभन्दा
भोको पेट पाल्न निर्वस्त्र नाच देखाइरहेकी
नर्तकीको पेसा स्वभाविलो
हर परिस्थितिमा जितको दाउ खोज्दै
बदलिरहने तिम्रो बोलीभन्दा
दुस्मनको लागि विष बमन गर्दै
काँचुली फेर्ने सर्पको बानी स्वागतिलो
ललिपपको खोलले बेरी
विष लेपन गरिएको शितलगेडी देखाउने तिम्रो आश्वासनभन्दा
जिउँदै मान्छेको तातो-रातो रगत ताक्ने
बघिनीको साहस प्रशंसिलो
ढाका टोपीको महत्व गाइ
छिमेकीको अघि लज्जावती झार सरी निहुँरिने तिम्रो शीरभन्दा
सयौं मान्छेको मास ताक्ने सिंहको गर्जन साहसिलो
आफ्नो शरीरको मैलो बिर्सी
अर्काको लुगाको दाग नियाल्ने तिम्रा चर्मचक्षुभन्दा
दृष्टिविहीन स्रष्टाका
संसार झल्मलाउने सिर्जना प्रभाविलो
छोरी र बहिनीको इज्जतमा
लाभको हिस्सा आंकलन गर्ने लाजमर्दो तिम्रो विशिष्ट गणितीय ज्ञानभन्दा
सयौं द्रौपदीको चीरहरण रोक्ने
औंठाछाप दाजुको अगणनीय साहस रवाफिलो
सयौं द्रौपदीको चीरहरण रोक्ने
औंठाछाप दाजुको अगणनीय साहस रवाफिलो।