कुरा त्यति बेलाको हो जतिबेला हाम्रो देशमा अहिलेजस्तो जताततै गन्जागोल, राजनीतिक अस्थिरता, महंगी, रोगव्याधी, आदिको समस्या थिएन। त्यो बेला त्यस्तै किसिमको समस्या थियो जस्तो कि यातायात, अस्पताल, बिजुली, सूचना तथा संचार विविध।
सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँ र त्यस गाउँको प्राकृतिक सेरोफेरो, पहाडको बस्ती शान्त, सुन्दर थियो। घरहरू पनि अहिले जस्तो नभएर ढुंगामाटोले बनेको, ढुंगाकै छाना। सबै घर एकैकिसिमको देखिने सुन्दर, भिरालो किसिमको छाना, तर नजिकै नभएर टाढा-टाढा, मर्दापर्दा केही कुरामा छिमेकीलाई बोलाउन पनि न्वारनदेखिको बल निकालेर चिच्याउनु पर्ने।
त्यही गाउँमा पुस्तौँ पुस्तादेखि बस्दै आएका श्रीधर बाजेलाई आज बिहानदेखि नै छटपटिएको छटपटिएकै छन्। दुई दिन देखिको मुसलधारे पानी परेको पर्यै छ। हप्तादिन अगाडि बेसीमा रोपेको धान खेतमा नै डुबेर मर्ने भयो भनेर चिन्तित छन् बाजे। यसो काम सहयोग माग्नको लागि भएका छोरा सहरमा बसेर पढ्दै थिए, छोरीको बिहेवारी भएर आ-आफ्नो घरमा थिए।
बजै सालको पातमा सुर्ती राखेर बेरेको बिँडी फुक्दै कराइन्, 'यी बुढालाई अहिले गाउँलेको काम भएको भए दुई खुट्टा उचालेर दौडन्थे। आज आफ्नो खेत डुब्न लाग्दा पनि वास्ता छैन।'
बजैको मन सफा छ रे तर बोली सधैँ रुखो। बाजेले आजसम्म कहिले बुढीलाई मुख फर्काएनन् बरु मनमनै भाग्यलाई दोष दिन्थे।
बादलले गाउँनै छोपेर दिन हो कि रात हो छुट्याउन कठिन परिरहेको थियो। तलको खेतमा हिँडेर जान नै दुई घन्टा लाग्दथ्यो तर अहिले पानी परेर चिप्लो भएर लडिएला भन्ने पिर थपियो। नजाउँ त धेरै धान फल्ने खेत नै त्यही। अस्ती धान रोप्दा लोभ गरेर आली थुनेर पानी रोकियो, आज त्यही पानी धेरै भएर पानी कटाउनु पर्ने भयो।
दिउँसोको दुई बजेको हुँदो हो, बजैको बोली र पानी दुवै रोकिएको थिएन। बाजे मन नलागी-नलागी टर्च लाइट, कोदाली, लौरो र घुम ओढेर निस्कए खेत तिर। बजै भित्र चुलामा चिसो दाउरा बालेर भान्सामा धुवाँको बादल बनाइरहेकी थिइन्। मौसम सफा हुँदा दुई घन्टा लाग्ने बाटो अहिले पानीबाट जोगिँदै, चिप्लो बाटोमा तीन घन्टामा बल्ल-बल्ल पुगे खेतमा।
निरन्तरको वर्षाले खेतको धान डुबेर टुप्पो पनि देखिदैन थियो। छ/सात ठाउँमा आली खनेर पानी कटाए। खेतमा नै रहेको जीर्ण अवस्थामा रहेको गोठमा ओत लागेर बसे बाजे एकछिन। साँझ हुनै लाग्दा पानी पनि केही कम भएकोले बाजे खुइयऽऽ गर्दै उकालो लागे।
श्रीधर बाजेको सबैभन्दा कमजोरी भनेको भूतप्रेत नै थियो। तर यो कुरा बाजेले कसैलाई भनेका थिएनन्। सानैदेखि हजुरबुबाले सुनाएको भूतप्रेतको कथाले गर्दा अहिले पनि साँझ परेपछि कतै हिँड्डुल गर्दैनथे बाजे। कस्सेर तीन घन्टा हिँडेर घर पुग्नै लाग्दा टर्चलाइटको ब्याट्रीको पावर कम भएर मधुरो भइरहेको थियो।
एक ठाउँमा अलि उकालो र चिप्लो भएको बाटोमा चप्पल चुँडिएर लडे बाजे। हातबाट लौरो एकातिर, मधुरो भए पनि अलि-अलि बलेको टर्चलाइट एकातिर। छामछाम छुमछुम गर्दै खोजे तर कतै केही भेटेनन्। घुँडामा प्वाल परेछ सुरुवाल, विस्तारै चार हातखुट्टा एक गरेर, भोकले लखतरान भएर घर आइपुगे।
पानी आकाशबाट गाग्रोले खन्याएको जस्तो परिरहेको थियो। पहिलो तल्लाको बार्दलीमा एउटा टुकिबत्ती मट्टितेल सकिन लागेर होला निभ्न लागेको थियो। बजै पनि बाजेलाई कुर्दाकुर्दै निदाइसकेकी थिइन्।
बाजे मझेरीमा खुट्टा धोएर माथि तल्लामा जान लाग्दा भऱ्याङको आकृति देखेर खुट्टा लुलो भयो। त्यो आकृतिको टाउको र खुट्टा थिएन, लामो शरीर भएको, हात हल्लिरहेको थियो। बाजेको सातो उड्यो। माथिको बलिरहेको बत्तीको पनि त्यस ठाउँमा छाया परेकोले प्रष्ट देखिरहेको थिएन।
बाजेले फेरि नजिक जाने हिम्मत गरेनन्। नजिकै रहेको गोठमा ओत लागेर हेरिरहे। त्यो आकृति अझै त्यसै ठाउँमा हात हल्लाउँदै थियो। बाजेले बजैले सुन्छिन् कि भनेर ठूलो स्वरले खोके, त्यो आकृति झन् हल्लियो। बाजेको सातोपुत्लो उड्यो। तर त्यो त्यस ठाउँबाट हट्दै हटेन।
बाजे गोठको माथिल्लो तल्लामा धानपराल राख्ने कोठामा गए। त्यहाँबाट हेर्दा पनि त्यो भूत घरी चुप लाग्थ्यो, घरी हल्लिरहको थियो। नजिकमा जाउँ भने छिमेकमा कोही थिएनन्। भोकले गर्दा शक्ति क्षिण हुँदै गइरहेको थियो।
बाजेको मनमा धेरै कुरा खेलिरहेको थियो।
बुबाले हजुरबुबालाई सहरतिर बसाइ जाउँ भन्दा हजुरबुबाले आफू जन्मेको घरगाउँ छोड्न नमानेकोले आज आफूले यस्तो दुःख पाएकोले हजुरबुबालाई दोष दिए।
आफ्नै बाबुले घर नकिकैको खेत भाइलाई अशंबन्डामा दिएर टाढाको खेत भागमा दिएकोले यो दुःख भएकोले दोषी नम्बर दुई बाबु भए।
त्यो खेत अधियाँमा दिउँ भन्दा बजैले सहरमा रहेका सन्तानलाई आफ्नै खेतको चामल खुवाउने अड्डी राखेकोले बजै दोषी नम्बर तीन भइन्।
सहरमा रहेका छोराले न आफूलाई सहरमा बोलाएर राख्नसके न उनीहरू गाउँमा दुःख गर्न आउन सके, दोषी नम्बर चार छोराहरूलाई देखे।
त्यसपछि मनमनै घरमा काम गर्न राखेको हली, आली लगाउने मान्छे, ब्याडे केटो, सबैजसोलाई दोषी सम्झे।
भूत अझै पनि त्यही ठाउँमा नाचिरहेको थियो।
कतिखेर आँखा लागेछ, निदाएछन् बाजे। बिहान भालेको पहिलो डाँकमा झस्किएर ब्युँझिए। घामको मिर्मिरेसँगै गोठबाट आँगनमा आए। भूत देखियो स्पष्टसँग।
बजै आँगनमा रहेको तुलसीमठमा पूजा गर्दै भन्दै थिइन्, 'सहरबाट छोरोले पठाएको रेनकोट लिएर जानुहोला भनेको त कति चाँडो हिँडनुभएछ हिजो, रिसाएर होला! कस्तो सजिलो हुँदो रहेछ। मैले हिजो ओढेर काम गर्दा भिजेर चिसो भयो अनि सुकाउन भऱ्याङनेर झुन्ड्याएको हेर्नुहोस् त।'
बाजेले मनमनै हिजो दोष दिएको जति सबैलाइ सम्झिए।
दोष त आफ्नै आँखाको रहकोमा आफैसँग लाज भयो।
धेरैपछि सुनियो बाजेकै आफन्तले भनेको, भूतप्रेत केही हुन्नन् भन्दै हिँड्छन् रे गाउँमा।