सूर्य उदाउनु र अस्ताउनु
मात्र एउटा नियम
एक प्रक्रिया
सूर्यले डढाउन सक्थ्यो
तर, डढाउँदैन
ऊ सुन्दर बिम्ब बनिदिन्छ सिर्जनाको
अमूल्य निधि बनिदिन्छ श्रृष्टिको
हिउँ पग्लिन्छ
पहाडहरू उस्तै सुन्दर देखिन्छन्
नदीहरू बग्छन्
हावा चल्छ
यी सारा छन् र त वस्ती छ
वस्ती छन् र त यिनीहरू पनि
आफू भएको महसुस गर्छन् होला
उडाउनु हुन्न यिनले पनि वस्तीहरू
उडाउन हुन्न सपनाहरू
धर्ती!
धर्ती मुहार हो मान्छेको
आधार हो सृष्टिको
एक लहर हो सभ्यता र संस्कृतिको
जहाँ चल्मलाउँछ जीवन
जहाँ अडिएर बोकिरहेछ यही जीवनले विज्ञान
खोजिरहेछ विकास
जीवन विज्ञान बन्न थालेपछि
विज्ञान जीवन बन्न थालेपछि
ठडिन थाल्छन् शंकाका पहाडहरू
अतालिन थाल्छन् कयौं मनहरू
सशंकित बन्नु पर्ने हुन्छ धर्तीले पनि
मनन् गर्नु पर्ने हुन्छ स्वयम् जीवनले
बिगार्नु हुन्न कदापि धर्ती
दुखाउनु हुन्न कदापि जीवन
आजसँगै जोडिएको छ भोलि
अनि
जोडिँदै आएका छन् बाआमासँगै सन्तति।