मलाई लाग्दछ यो संसार
छ सबैका लागि अलग-अलग
अनित्य छ सबैको जगत
अलग-अलग छ सबैको जलन
त्यसैले त म भन्छु
मलाई मेरै आँखाले हेर्न देऊ
मेरो बाटो म स्वयंलाई कोर्न देऊ
चल अचलको प्रवाहमा
कसरी जिउँ म यो जीवन सारा
म दृष्टि भएर आफ्नै
किन नलिउँ मेरै अभिभारा
सृष्टिले के रचिन्-रचिन्
किन्तु जे रचिन् हितमै सोचिन्
एक समयको यात्रामा
जीवन रुपी जात्रामा
अनुभवको भेलमा
चित्र चरित्रको खेलमा
म आफैंलाई खेल्न देऊ
मलाई मेरै आँखाले हेर्न देऊ
म अनभिज्ञ छु- मेरै ब्रह्माण्डप्रति
त कसरी म बुझुँ तिम्रो ब्रह्माण्डको गति?
तिम्रो हेराइ, बुझाइ म नबुझुँला
तर स्वीकार्न तयार छु
के तिमी नबुझी मेरो हेराइ
मलाई स्वीकार्न तयार छौँ?
जगत छ, जननी छिन्
शिव छन्, शक्ति छिन्
के तिमी यिनकै साक्षी भई
सक्छौ झाक्न भेदको विभेद
अनित्य भित्रको नित्य
अनि आकारमा निराकार
सक्छौ मेरा आँखाले हेर्न?
त्यसैले त म भन्छु
मलाई मेरै आँखाले हेर्न देऊ
म देख्छु, सुन्छु वरिपरि
हेराइ, बुझाइका भेद
भेट्छु अनि त्यही बखत
सृष्टिका रूप अनेक
म बुझ्छु तिम्रा र मेरा आँखा एक देख्दैनन्
म स्वीकार्छु
तर के तिमी स्वीकार्छौं?
हिँड्न देऊ मलाई मेरै बाटो
अन्तरमनको दिशामा
कोर्न देऊ अनुभवका रेशा
होला- जे तय छ रेखामा
न बिथोल तिम्रा नयनका चित्रले
मेरा नयनका चित्र
मात्र तिमी स्वीकार
तिम्रा र मेरा भेद
तिमी हेर, स्वतन्त्र हेर
अनि मलाई नि हेर्न देऊ
मलाई तिम्रा नयनका दोष नदेऊ
समयरूपी यात्रामा
जीवनरूपी जात्रामा
जगत अलग
जलन अलग
त्यसैले त म भन्छु
तिमी आफ्ना आँखाले हेर
अनि मलाई मेरै आँखाले हेर्न देऊ।