धन्य छ मेरो देश, मेरो सरकार!
मल समयमा छैन
सिंचाइको सुविधा छैन
हलो जोत्ने युवा विदेश पठाउने
ट्याक्टरमा कर बढाउने, डिजेल उस्तै पर्ने
कृषि विद्यालयमा कालो राजनीति सिकाउने
अनि अन्तिममा
खेत किन बाँझो राखिस् भन्छ
जरिवाना तिर भन्छ
धन्य छ मेरो देश, मेरो सरकार!
धन्य छ मेरो देश, मेरो सरकार
सिटामोल नि छैन
अक्सिजन नि छैन
भ्याक्सिन नि छैन
अझै भन्छ
खोइ तेरो भ्याक्सिन कार्ड?
अझै ठूलो वैज्ञानिक भन्छ बेसार पानी पनि
धन्य छ मेरो देश, मेरो सरकार!
धन्य छ मेरो देश, मेरो सरकार
बाटो त्यस्तै छ
कर्मचारीको हावा फुस्केको छ
सिस्टम जहिले डाउन छ
अझै भन्छ खोइ बिल बुक?
खोइ कर तिरेको?
धन्य छ मेरो देश, मेरो सरकार!
धन्य छ मेरो देश, मेरो सरकार!
स्कुलमा किताब छैन
मतपत्र छ
कालोपाटीमा जिन्दवाद, मुर्दावाद छ
गरिबलाई नि जूमबाट पढ भन्छ
ठेकेदारलाई स्कुल चलाऊ भन्छ
विद्यार्थीलाई ठग भन्छ
अनि फेरि संविधानमा लेख्छ-
निःशुल्क शिक्षा सबैको अधिकार
धन्य छ मेरो देश, मेरो सरकार!