सिटामोलको अभावमा
तिमीले देखेको समाजवादको यात्रा
कहाँ टुङ्गिएला र!
जनताले एक सय रुपैयाँमा किनेको
नुन भुटुनमा राज्यको ऋण तिमीले
तिराउँदै गर्दा
वर्षा याममा चुहिएको छानुले
मनमा कस्तो सपनी ल्याउला र!
विदेशमा बसेको तिम्रो छोरोले
भिडिओ कलमा फेरिएको जिवनशैली
देखाउँदै गर्दा
आँगनीमा ठेस लागि लडेको भतिजोको
औँलो तिम्रो मनले उठाउँदै गर्दा
समाजवादको फूल कतै तिम्रो छेवैमा मुस्कुराइरहेको त छैन!
सिद्धान्तका लेपनले भरिएको त्यो ऐतिहासिक
कम्युनिस्ट मेनोफेस्टोमाथि
हिजोआज चुरोटका खरानी झर्दै गर्दा
कतै तिम्रो पथको यात्रा चिरागतिर दौडिएको सपनीले त
ऐठन पारेको छैन डियर कम्रेड!