धरान सहर, बिजयपुर डाँडाको त्यो नयाँ चिल्लो सडकमा उनका ती प्रत्येक कोमल चालहरू देख्दा सँगै पछ्याउँ झैँ लाग्छ। उनी हिँडेका प्रत्येक पाइलामा आफू हिँडिरहुँ झैँ लाग्छ, ती प्रत्येक घुम्तीहरू उनकै मोडाइमा मोडुँ झैँ लाग्छ।
उनको त्यो सुन्दर शरीरको छाया हराउँदा न्यानो घाममा नाच्दै डुल्दै उडिरहेका ती बादललाई उनीप्रतिको स्पर्श सुनाउँ झैँ लाग्छ। उनीसँगै रुमलिरहुँ झैँ लाग्छ, उनलाई नै कुरिरहुँ झैँ लाग्छ, उनीलाई नै हेरिरहुँ झैँ लाग्छ।
चिया पसलमा बसेर उनी जाने र फर्किने त्यही दोबाटोमा घन्टौँ कुरिरहुँ झैँ लाग्छ। चियाका चुस्कीमा घन्टौँसम्म बसेर चिया खाइरहँदा, चियाका कप टेबलमा थुप्रिरहँदा पसलवाली दिदी भन्नुहुन्छ- 'बाबु, तपाईंलाई त चियाको नसा बहुत परेको रैछ नि!'
तर ती दिदीलाई के थाहा, मेरो नसा उनको त्यो प्रत्येक चालमा परेको छ।
दिनौँ त्यही चिया पसल, त्यही समय र उनको त्यहीँ नसा। मेरा दिनहरू उनकै प्रतीक्षामा बित्न थाले। शिशिर ऋतुमा बिजयपुर डाँडाको यो चिसो बतास, अनि उनी हिँड्ने बाटाहरू आफ्नै लाग्न थाले।
मभन्दा केही होची, गोरो अनुहार, देब्रे हातमा सेतो घडी, पातली, लाम्चो परेको अनुहारमा आँखा चिम्सा देखिनेगरीको गाजल, लामा औँला र केही भाग रंगाएको सिउँदो काटिएको लामो रेसमी कपाल देख्दा लाग्छ एक सुन्दर युवती सरोबरको सौन्दर्यमा सम्मोहित बनेर सरोबरबाट मेरै लागि निस्किएकी हुन्।
उनीसँग भेट हुँदा छेउमा बसेर उनको आवाज मात्र सुनिरहुँ, उनको त्यो नयनमा डुबेर बोलिरहुँ, प्रेमको संसार उनीसँगै बसाउँ झैँ लाग्छ। उनी हुँदा मनमा हजारौँ-लाखौँ प्रेमभाव चलिरहन्छ, गुनगुन मनले प्रेमलाप गरिरहन्छ। उनकै प्रेममा हराइरहुँ लाग्छ, उनैमा हराइरहुँ लाग्छ।
अनि मनमा भाव जाग्छ-
कभी तो नजर मिलाव, कभी तो करिब आवो
हमभी तो हे तुमारे दिवाने हो दिवाने...
हम्भी तो हे तुमारे दिवाने हो दिवाने...
समय बित्दै गयो। त्यही होटलमा पर्खाइ सधैं चल्दै गयो। एकदिन अकस्मात उनका साथीहरूसँग मभन्दा अगाडि उनी त्यस होटेलमा चिया पिउन आएकी रहिछन्। म पनि मेरा साथीहरूसँग उनीभन्दा करिब ५-७ हात टाढा भएर आम्ने-साम्ने बसेँ। हाम्रो अगाडि तगारो स्वरुप हावा मात्र थियो।
मलाई उनीसामु भएर उनका ती नयनको नसा लिनु थियो। उनको त्यो कोमल ओठबाट निस्किएका प्रत्येक शब्दको स्वाद महसुस गर्नु थियो।
उनी साथीहरूसँग गफ गरिरहँदा उनकै हाउभाउ हेर्नमा तल्लीन थिएँ म। नदेखे झैँ गरी हेर्ने मेरा प्रत्येक हेराइ उनका नजरहरूमा अल्झिरहेका थिए। जब मेरा आँखा उनका आँखामा ठोकिन्थे उनी पनि आँखामा आँखा जुधाएझैँ निस्फिक्री हेरिरहन्थिन्। साँच्चै फरक अनि शक्तिशाली थिए उनका नजर।
मेला जाँदा देखेका युवतीका आँखा या भनौँ बसमा सवार गर्दा छेउमा बसेकी युवतीका राम्रा लागेका आँखा सबै भ्रम लाग्न थाले। लाग्न थाल्यो ती देखेका अरु सबै आँखा झुटा हुन्, सही त केबल उनका मात्र। मानौँ कि उनको पूरा शरीर नै नसाले भरिएको छ, ती कञ्चन नयनमा जीवनभरि डुबुँ झैँ लाग्यो। कहिल्यै नतैरिनेगरी प्रेमका छालले किनारमा नछोड्ने गरी विलीन हुन मन भयो।
मैले लगाएको सर्ट लाजविहीन माइक्रोबसको सिटले उधारेजस्तै, सानो छँदा बेन्चमा बस्दा लपक्क टाँसिएको चुइगम झैँ उनका ती कोमल नयनमा सधैं लाजविहीन टाँसिएर बस्न मन भयो।
चिया चुस्कीसँगै उनका ती पातला ओठबाट निस्किएका प्रत्येक शब्दमा कोमलता महसुस गरिरहेको थिएँ। त्यो बेग्लै मिठास, बेग्लै अनुभूति, शरीरका प्रत्येक कोषहरूले उनका कोमल शब्दहरू महसुस गरिरहेका थिए।
चियाको चुस्कीसँगै म आफैमा हराउँदै थिएँ। लाग्दै थियो कि म उनीसँगै छु, उनी मेरी नै हुन्। उनको हात समाएर सँगै रमाएको, सँगै घुमेको-फिरेको महसुस गरिरहेको थिएँ। लाग्यो कि उनी प्रतिको मेरो प्रेम नै संसारमा सबैभन्दा सर्वशक्तिमान छ।
यो आकर्षण किन मेरो मनमा यत्रतत्र फैलिँदै छ? साँच्चै यही प्रेम हो या उनको त्यो सुन्दर रुप अनि हाउभाउको आकर्षण हो? म आफै अनुत्तरित छु। तर त्यस दिनपश्चात झनै उनीप्रति मेरो आकर्षण बढ्दै गयो, उनको त्यो आकारको पिङमा आज पनि म मच्चिरहेको छु।
सँगै बस्ने भाइमार्फत उनको नाम पत्ता लगाएँ। फेसबुक खोलेँ, झट्ट रिक्वेस्ट पठाएँ। फेसबुक खोलेपिच्छे एसेप्ट नोटिफिकेसन हेर्ने गरेँ, सरकारी कार्यालयको काम पेन्डिङमा रहे झैँ तीन दिनमा मात्र एसेप्ट भयो। प्रोफाइल खोलेर सबै तस्बिर हेरेँ। त्यही मौकामा इन्स्टाग्राममा फलो गरिहालेँ, फ्याट्टै फलोब्याक आयो।
केटाको जात न हो अब केटी आफ्नी भई झैँ सम्झेर २-३ दिन त मनको लड्डु घिउसँग नि खान भ्याइहालेँ। तर के भनेर गफ सुरु गर्ने कुनै शब्द भएनन् मसँग। नयाँ मान्छेले के भनेर बोलाउने? कतै नराम्रो पो ठान्लिन् कि?
एसेप्ट गर्न पाएको छैन मस्किन थाल्यो सोच्लिन् कि?
त्यो बेला मलाई मनको बाघले खर्लपै खायो। समय नियाल्दै, स्टोरी रिप्लाई र कहिले केही बहानामा फेसबुकदेखि ह्वाट्सएपसम्म शब्दका छालहरू फैलिँदै गए।
कोरोनाले गर्दा त्रिभुवन विश्वविद्यालयले दिएको बिदाले केन्द्रीय प्रविधि क्याम्पस बन्द भएर होला आजभोलि त्यो चिया पसलमा, उनी हिँड्ने ती दोबाटोमा उनका छायाहरू महसुस गर्न पाएको छैन। उनी आउँछिन् कि भनेर होटलको कुनामा बसेर घन्टौँसम्म कुर्दा पनि उनी आएकी छैनन्।
कस्तो सुगन्ध हो?
बास्ना के हो यस्तो?
कुनै आकार छैन, कुनै ताल छैन, कुनै तौल छैन कस्तो पना हो यो?
कस्तो आभास हो? कसलाई थाहा छ होला खास यो माया कस्तो हुन्छ? म आफै अनुत्तरित छु, प्रेम के हो भनेर।
सामाजिक संजालका भित्ताहरूमा उनीसँगका प्रत्येक गफमा मिठास पाइरहेको छु। समयसँगै उनी राती सुत्दाको याद र बिहान उठ्दाको अलार्म त भइन् तर मेरा मनमा भएका ती प्रेमिल भाव कसरी व्यक्त गरुँ? आजसम्म त्यो क्षमता ममा पलाएको छैन।