दुई सय घरधुरीले बनेको सानो गाउँ छ। गाउँको नाम हो त्रिवेणी। त्यहीँ गाउँमा एकजना गरिब किसानको चार जनाको परिवार छ। जसमा भरत, उसकी श्रीमती रामकली, छोरी स्वस्तिका र छोरा विवेक बस्दछन्। भरत एकदमै मेहनती छन्।
स्वस्तिका र विवेकमा पाँच वर्ष उमेर फरक छ। स्वस्तिका सानैदेखि पढाइमा अब्बल थिई। समय सँगसँगै स्वस्तिकाले गाउँमा भएको श्री कालिका माध्यमिक विद्यालयबाट कक्षा १२ पास् गरी।
स्वस्तिकाको हलक्क बढेको शरीर र १२ कक्षा पासलाई नै उनको बिहे योग्यता भएको सबैले मान्न थाले। घरमा आउने पाहुना, नातागोता, आफन्त सबै स्वस्तिकाको बिहेको कुरा गर्न थाले। भरतसँग राम्रो कमाइ थिएन र उच्च शिक्षाको लागि गाउँमा विद्यालय नभएर टाढा पठाउनु पर्ने अनेक समस्या थियो।
स्वस्तिकाले परिवारसँग आफूले बिहे गर्ने कुरामा असहमति जनाई। घरका सबै अलमल्ल परे। के गर्न खोजेकी छोरीले सोचेर भरतले भन्यो, 'छोरी, तिमीलाई हाम्रो समस्या थाहा नै छ। बढी पढाउन सक्ने हैसियत नै छैन फेरि!'
स्वस्तिका बुबाको आँखामा हेर्दै भन्छे, 'हेर्नुस् बाबा, कुनै पनि व्यक्तिको हैसियत त्यो व्यक्तिसँग भएको धन-सम्पत्तिले जनाउँदैन। हैसियत भनेको व्यक्तिमा भएको मन, बुद्धि, विवेक, व्यवहारको समिश्रण हो। जुन सबै असल व्यक्तिसँग हुन्छ। त्यसैले हजुरको निकै ठूलो हैसियत छ। अनि रह्यो समस्या खर्चको, म आफै केही सक्षम भइसकेकी छु। मसँग जे जति शिक्षा, सीप छ म त्यही प्रयोग गरी अगाडि बढ्न चाहन्छु। हजुरलाई भारी कहिल्यै बन्दिनँ बाबा।'
भरत अचम्ममा पर्छ। छोरीको कुरा सुनी धेरै नबोली 'हस्' मा जवाफ दिएर आफ्नो कोठामा गयो।
साँझ खाना खाइसकेर सबै आ-आफ्नो कोठामा गइसकेपछि भरतले आफ्नी श्रीमतीलाई अह्रयाउँदै भन्छ, 'ए कली, घाँटी कस्तो सुके झैँ भो एक अम्खोरा लोटामा पानी ल्याइदेऊ न।'
यति सुनेपछि रामकली तुरून्तै पानी ल्याएर दिन्छे। भरत अरू दिनभन्दा बढी थकित, चिन्तित देखिन्थ्यो। रामकली भरतको निधार सुम्सुम्याउँदै भन्छे, 'आज के भाछ हजुरलाई? साह्रै चिन्तित देखिनुहुन्छ!'
'हाम्री छोरीको सोच त फरक छ कली। ऊ केही बन्ने सपना बोकेकी छ। उच्च शिक्षा हासिल गर्न चाहन्छे। कसरी सम्भव होला? बच्चै छे, सिधैँ नाई भने रिसाउली। के गर्ने होला अब कली?'
भरतको हातमा हात राख्दै रामकली बोल्छे, 'सानैदेखि छोरी राम्रै अंक ल्याई पास भएकी छे। घरको काम पनि सघाउँछे। उसको सपना टुट्न दिनु हुन्न बुढा हामीले, अरू को नै छ र उसलाई बुझ्ने हामी बाहेक। यसो गर्नु न, बरू हाम्रो तल्लो धान फल्ने खेत कति मिल्छ साहुलाई कुरा गर्नु न।'
भरत कलीको कुरा बीचमै काट्दै भन्छ, 'के भनेकी कली! अहिल्यै भएको खेतबारी बेच्न थालेँ भने भोलि विवेक पनि छ, उसको पढाइ, भविष्यको लागि चाहिन्छ। त्यतिबेला के गर्ने?'
रामकली मन्द मुस्कुराउँदै भन्छे, 'बुढा, स्वस्तिकालाई तपाईं किन कमजोर ठान्दै हुनुहुन्छ? किनकि ऊ एउटा छोरी हो? हैन नि बुढा, आजको युगमा यस्तो सानो सोच राख्नुहुन्न। आज हामीले छोरीलाई सहयोग गर्यो भने विवेकको भविष्य तय उसकै दिदीले अझै सफल बनाइदिन्छे। विवेकलाई अगाडि बढ्ने प्रेरणा पनि मिल्छ।'
भरत बल्ल खुसी हुँदै बोल्छ, 'वाह! आज मलाई साँच्चै तिम्रो श्रीमान् हुनुमा गर्व महसुस भयो। कति सरलै सबै बुझायो। हुन्छ म भोलि नै साहुलाई भेटेर आउँछु।'
भोलिपल्ट एकाबिहानै भरत साहुको घरतिर लाग्छ। साहुसँग पैसाको आवश्यकता परेकाले धानखेत बेच्न खोजेको बताउँछ।
साहुले बेच्न खोज्नुको कारण सोध्छन्। उसले छोरीलाई पढ्न सहर पठाउनु पर्ने भएकोले बताउँछ।
'हैन पागल भइस्! घर चुहिने छ, आफू दमको बिरामी छस्। यी कुराका लागि नबेचेको खेत आज छोरीका लागि किन? छोरी जवान छे, बीचमै पोइल गई भने? अनि विवेक पनि सानै छ, उसलाई नि पैसा चाहिन्छ भविष्यमा। त्यतिखेर के गर्छस्?' साहु आश्चयसहित प्रश्न गर्छन्।
'हो, सबै समस्या त छन् नै तर म आफ्नो छोरीको सपना टुट्न दिन सक्दिनँ। फेरि यो जमानामा छोराछोरी बराबर नै हुन्। जसरी हुन्छ मेरो खेत किन्दिनुपर्यो,' उसले दुखी हुँदै भन्यो।
'तैँले सबै सोचेर नै निर्णय लिएको हुनुपर्छ। ठिक छ, लौ यो पैसा। स्वस्तिका नानी सफल हुन्। मेरो पनि आशीर्वाद, नानीलाई राम्ररी पढ्न भन है।'
पराईको नासो छोरीलाई कति आफ्नो ठानेको भन्दै सबै गाउँलेले भरतलाई पागल भयो भन्दै कुरा काट्छन्। केही दिनमै स्वस्तिकाले पढाइका लागि घर छोडी। ऊ ललितपुर कोठा लिएर बसी। नयाँ सहर, नयाँ मान्छे, सबै नयाँ। उसलाई गाउँको साह्रै याद आउँछ तर आफ्नो उद्देश्य बुबासँगको वाचा सम्झेर आत्मविश्वासका साथ दिउँसो कलेज जान्छे, बिहान नजिकका साना बच्चाहरूलाई ट्युसन पढाउछे।
यसरी उसको पढाइमा अब्बलताका साथै थप गतिविधिमा पनि सामेल हुन्छे। केही वर्षमै उसको पढाइ पनि पूरा हुन्छ। पढाइका कारण ऊ गाउँ जान मन भएर पनि जानसम्म पाएकी हुन्न। उसलाई भेट्न वर्षमा एक/दुई पटक उसको बाबुआमा नै सहर आउँथे।
दसैँ आउन लागेको हुन्छ। गाउँबाट एक्कासी खबर आउँछ, उसको बुबा भरत यो संसारमै रहेनन्। स्वस्तिका भक्कानिएर रून्छे। आमालाई फोनबाटै सोध्छे, 'आमा, यो कसरी भयो?'
'छोरी, तेरो बुबालाई दम रोग थियो। उपचार गराउन कहिल्यै पैसा भएन। सोही कारण आज अकालै यस्तो भो!'
'आमा, मेरो पढाइ नि सकियो तर मलाई कहिल्यै पत्तो चलेन कि बुबाले त्यत्रो पैसा मलाई पढ्न कहाँबाट कसरी?
आमा रूँदै भन्न थाल्छिन्, 'छोरी, त्यो पैसा हाम्रो धानखेत बेचेको पैसा थियो।'
स्वस्तिका अचम्मका साथै भावुक हुन्छे। 'कठै! आमा, मैले जिउदै मुखको गाँस खोसेकी रहेछु।'
बाबाको सपना पूरा गर्ने हुटहुटी उसमा गाउँ छोडेदेखि नै थियो। त्यसैले पढाइ सकिएपछि उसले थप मेहनत गरेकी थिई। बाबालाई गुमाउनुको पीडा मनमा थियो नै, केही दिनपछि स्वस्तिकालाई एउटा खुसीको खबर प्राप्त हुन्छ। उसको नाम शाखा अधिकृतमा निस्किएछ।
स्वस्तिका आमाबुबाको फोटो चुम्दै खुसीका आँसु झार्दै भन्न थाल्छे, 'बाबा, हेर्नु न आज हजुरकी छोरी शाखा अधिकृत भएकी छे। हजुर आज मसँग भए कति खुसी हुनुहुन्थ्यो, यो सब तपाईंकै मेहनत, विश्वासको फल हो बाबा।'
बाबाको यादमा फोटोसँग धेरै कुरा गर्दै ऊ भावुक हुन्छे। उसले आफ्नो भाइ विवेकलाई पनि उच्च शिक्षा हासिल गराउन काठमाडौँ बोलाउँछे। सबै खर्च ऊ आफै बेहोर्छे। घरमा पनि केही खर्च पठाउँछे।
काम गर्ने सिलसिलामा उसको नियुक्ति उसकै जन्मस्थल जिल्लामा हुन्छ। ऊ साह्रै खुसी हुन्छे। आमा बिरामी भएको खबर पाएकी थिई। केही दिनको छुट्टी लिएर ऊ आमालाई भेट्न धेरै वर्षपछि घर जान्छे।
नयाँ केटी गाउँमा देखेपछि सबै अचम्मले हेर्छन्। एक/दुई जना उसलाई पछ्याउन थाल्छन्। रामकलीको घरमा स्वस्तिकाको पाइला रोकिएको देखेर सबै अचम्म मान्दै हेर्न थाल्छन्। उस्तै पुरानो भत्किन लागेको घर, त्यही आफूले खेलेको आँगन पुग्दा स्वस्तिका बाल्यकालमै पुग्छे। उसले आमालाई बोलाउँछे।
एक्कासी स्वस्तिका आफ्ना अगाडि देख्दा सकी-नसकी स्वां-स्वां गर्दै उनी छोरी नजिक पुग्छिन्। आमाछोरी अंगालोमा बाधिन्छन् र रून थाल्छन्। उसको आमाले मेरी छोरी कति ठूली भइछे भन्दै गाला सुम्सुम्याउँदै म्वाई खाँदै, रूँदै छोरी स्वस्तिका पटक-पटक भनिरहन्छिन्।
स्वस्तिकाका पनि गहभरि आँसु हुन्छन्। आफ्ना दुःखसुखका कथा छोरीलाई साट्न थाल्छिन्। आमाले आफू धेरै बिरामी भए पनि छोरीलाई भनेकी थिइनन्। उनलाई छोरीलाई भेट्न पाउँछु कि पाउदिनँ भन्ने थियो, छोरीलाई भेटेर निकै खुसी थिइन्। स्वस्तिका पनि आमालाई वर्षौंपछि भेट्दा उत्तिकै खुसी थिई। तर उनीहरूको खुसी धेरेबेर टिक्न सकेन।
रामकली छोरीलाई सुम्सुम्याउँदा सुम्सुमाउँदै सधैँका लागि अस्ताइन्। स्वस्तिका निकै रून्छे। स्वस्तिका अधिकृत भएर गाउँमा आएको खबर सुनी गाउँलेहरू पनि जम्मा भएका हुन्छन्।
आमाको देहवासनको उसले सबै काजक्रिया गर्छे। सबै काम सकिएको दिन उसले गाउँलेलाई भेला गराउँछे र गाउँको हितका लागी आफ्नो कमाइ खानेपानी, विद्यालय, स्वास्थ्यचौकी निर्माणमा सहयोग गर्नै निर्णय सुनाउँछे।
गाउँले सबैका गहभरि आँसु आउँछ। त्यही भिडबाट एकजना अधबैँसे पुरूष अगाडि आएर भन्छ, 'नानी, हामी गलत थियौँ? माफ गर हामीलाई नानी।'
स्वस्तिका अचम्म मान्दै भन्छे, 'किन त्यस्तो भन्नुहुन्छ अंकल?'
उसले विस्तारमा भन्न थाल्छ, 'हामीले तिम्रो शिक्षाको लागि तिम्रो बुबाले गरेको प्रयत्न देखेर उनलाई पागल भनेका थियौँ। तर तिम्रो बुबाआमाले भन्नुहुन्थ्यो 'छोरी पनि कम हुँदैनन्, बुढेसकालको सहारा बन्न सक्छिन्। घर, समुदाय, देशको जिम्मेवारी पूरा गर्न सक्छिन्। छोराछोरी बराबरी हुन्। छोराको पढाइ व्यवसायको लागि ऋण लिन सक्ने। आमाबुबाले छोरीको बिदाइको लागि मात्र नभई छोरीको उच्च शिक्षा भविष्यका लागि पनि लगानी गर्न सक्नुपर्छ। सबैलाई समान व्यवहार गर्नुपर्छ। कुनै पनि छोराछोरीलाई जन्मिने वित्तिकै डाक्टर, ईन्जिनियर बन्न हैन असल छोराछोरी असल व्यक्ति बन्न सिकाउनुपर्छ। जुन आज तिमीले साबित गरेकी छौ। गर्व गर्छौं हामी सबै तिमीमा, तिमी साँच्चै एक असल छोरी, असल दिदी, असल समाजसेवी, असल व्यक्ति हौ। अबका सन्ततिका लागि प्रेरणाको स्रोत पनि हौ।'
अतः स्वस्तिका सबै कुरा सुनेर प्रसन्न भई। सबै गाउँलेहरूले ताली बजाई फूलमालाले सम्मान गर्छन्।