'माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचा बन्धन पनि देखियो'
यस्तै गीतहरुको शब्दले
मलाई आज पनि उसको यादले झन् सताइरहेको छ
अन्जान मान्छे खास भएर
फेरि अन्जान भइदिँदा मन टुटेको छ।
एक्लिएको छु म
हराएको छु म
यो भिडभाड, चिच्याहटबाट
टाढिएको छु म।
म आँखाभरि आँसु भएर पनि
रुन सकेको छैन
मनभरि कुरा भएर पनि
बोल्न सकेको छैन
कति पटक, टाइप गरेर राखेको मेसेजहरु पढेर
तिमीलाई पठाउन सकेको छैन।
के मैले मेरो भाग्यमा नभएको मान्छेलाई चाहेको हुँ?
कि मेरो हुन सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि
प्रेम गरेको हुँ?
के प्रेम गर्नु नै मेरो सबैभन्दा ठूलो गल्ती हो?
पटक-पटक सम्झिन्न भनेको मान्छेलाई नै
किन सम्झिरहन्छु म?
अब हेर्दिनँ भन्दा मेरो यी नयन उसकै घरको बाटो किन हेरिरहन्छन्?
सोचेको थिएनँ कि समयको हेक्का राख्न
उसले उपाहारमा घडी दिँदा
समय खराब भएकै कारण मेरो सम्बन्ध टुट्नेछ।
त्यो स्कुले जीवन
तिमी कक्षा नहुँदा धेरै पटक खोजेको
तिमी नजिक भएर पनि नबोलिदिँदा
भएर पनि नभएको जस्तो गरिदिँदा
देखेर पनि नदेखेको जस्तो गरिदिँदा
तिम्रो मेसेजको सेकेन्ड-सेकेन्डमै
रिप्लाई दिने म
आज तिम्रो एक मेसेजको लागि
सेकेन्ड-सेकेन्ड तड्पिएको छु।
अन्तिम चोटि नै सही तिमीलाई प्रश्न गर्न मन लाग्यो
छिनछिनमा मसँग नबोली नहुने तिमीलाई
किन पहिलेझैँ बोल्न मन लाग्दैन?
कि मेरा हरेक कुराको खबर राख्ने तिमीलाई
किन पहिलेझैँ खबर राख्न मन लाग्दैन?
एकछिन म नहुँदा कति फरक पर्ने तिमीलाई
किन आजकल म नहुँदा कत्ति फरक पर्दैन?
३ वर्षको अन्तरालपछि हालत बद्लियो
या तिमी बद्लियौ
बद्लिन चाहिँ पक्कै बद्लिएकै छ तिम्रो नजर
म बद्लिएँ अनि मेरो नजरमा तिमी
त्यो बद्लावले धेरै फरक पारेको छ रेशमलाई
केही ठिक नभएर पनि सबै ठीक देखाउन
गाह्रो हुन्छ नि होइन?
टुटेर पनि कहिल्यै नटुटेको जस्तो देखाउन
गाह्रो हुन्छ नि होइन?
मानिसहरू प्रायः भन्छन्
समयले सबै घाउहरू भरिदिन्छ
तर उनीहरुलाई के थाहा
पुस्तकहरूमा 'धुलो' जम्दैमा
कथाहरू कहाँ फेरिन्छन् र!