मलाई शुभकामना नदिनू
मलाई बधाई नदिनू
आशीर्वाद त झन् दिँदै नदिनू
यी त भ्रम हुन्
फागत शीतका थोपाजस्ता।
मलाई यी खोस्टा रित्ता बेलुन नदिनू
छेपाराका रङ्गजस्ता क्षणमै दङ्ग र भङ्ग हुने
क्षणिक आवेग र नाटक नदिनू
म अघाएको छु, थाहा पाएको छु।
मलाई दिने चिज दिँदै नदिनू
अझ सोच्दा पनि नसोच्नू
कसैबाट केही पाउनु भनेको धेरै तिर्नु हो
अपेक्षाका भारीले थिचिनु हो
बेलाबेला आफूलाई दुनियाँसामु कटाउनु हो
दिन काट्ने माध्यम हुनु हो।
मलाई यस्ता महङ्गा र ऋणी चिज नदिनू
मलाई पीडा दिनू
चसक्क दुख्ने कसक्क कस्ने
आँसु झार्ने हाँसो थुन्ने
जो देख्दा तिमी हाँस्ने छौ
देखियो यसको रमिता भन्नेछौ
गद्गद् खुसी हुनेछौं।
बस् तिमीले चाहेको यहीँ त हो!
तिमी जेबाट खुसी हुन्छौं त्यहीँ देऊ
यी बधाई, शुभकामना र आशीर्वाद
भन्ने कुरा न हुन्
बाटो बनाउने माध्यम न हुन्।
यिनको बाटो चिप्लो छ
काँडाले भरिएको छ
पश्चातापले सजिएको छ
चिन्ता र आशाले घेरिएको छ।
बस् मलाई भ्रम नदेऊ
उन्मुक्त हाँसो देऊ
पन्छीको जस्तो उडान भर्ने बेग देऊ।