सफा मौसमसँगै
सूर्यका रश्मीहरूले
हिमालका ती सुन्दर कछाडहरू खोलिरहेछन्
मेरा कुमारी बास्नाहरू तहाडमछाड गर्दै हिमनदी झैं बगिरहेछन्।
साइबेरियाबाट आएका सारसका बथानहरू
सामाचखेवाका जोडीसँग संवाद गर्दै
मस्करा मार्दै
राता एकजोडी फूलकोको खोजीमा बैकाल लेक तिर सर्दैछन्।
मरुभूमिबाट आएको त्यो ठिटो
दंग छ
त्यो प्राकृतिक संगीत देखेर
बिहानै त्यो जिन्दगीको क्याराभान लेखेर।
मेरा रोकिन लागेका कलमहरू
वेगले
दौडिँदा दौडिँदै
दिव्य बिहानीसँगै गृष्मकालीन हिमतालहरूमा पैडिए।
सुइयऽऽ गर्दै गोठालाले हालेको त्यो सुसेली
रिमाल दाइले बजाएको सुरिलो बाँसुरी
सुनेर ती बुढा भोटे
त्यो मांगलिक रसस्वादन गर्न एकाबिहानै उठे।
हाम्रो थाकेको शरीर
जंगिएका भावनाहरू
कपीमा मसीसँगै बगेका पसिनाहरू
हेर्दै त्यो सुनौलो बिहानीको जन्त गए ती कोमल पस्मिनाहरू।