ओहो! आठ बजिसकेछ, राहुल हत्तपत्त उठ्छ। बिहानको नित्यकर्म सकेर खाना खान भान्सा पस्छ।
आमा राहुललाई खाना पस्किन थाल्नुहुन्छ। राहुल मनमनै सोच्छ 'साला ! हिजो कुन कस्टमरको डिपोजिटमा दस हजार कम भयो। घरमा नि के भन्नु तनावमात्र। तलब आउछ २५ हजार। आफ्नो गोजीबाट १० हजार गइसक्यो।
आमा 'यो केटो किन टोलाउँछ बिहानै। हाकिम भाछस्, बैंकमा जागिर खान्छस्। त्यही नि के टोलाइराको? ल खाना खा।'
राहुल फिसिक्क हाँसेर खाना खान थाल्छ। अनि मनमनै भन्छ- यस्तो कुरा घरमा भन्नु भन्दा मनमा राख्नु नै ठिक।
यसो उसो गर्दागर्दै ९ बजिसकेछ। बाटोमा कति जाम हुने हो। राहुल होन्डा साइन लिएर अफिसतिर बत्तिन्छ। जाम पनि कति बढ्या आजकाल साढे ९ बजे आज पनि पुगिन्न जस्तो छ। जहिले हाकिमको किचकिच सुन्नु पर्छ। राहुलको मन मस्तिष्क अशान्त हुन्छ। पार्किङमा स्पेस नदेख्नेबित्तिकै राहुललाई लागिहाल्छ। आज पनि ढिला भयो। राहुल घडीतिर आँखा लगाउँदै हाजिर गर्न पन्च मेसिनतिर कुद्छ। ९ः४० भइसकेछ। सिट् यार। राहुल हाजिर गरेर बाइक राम्रोसँग पार्किङ गर्छ।
चियाको कप बोकेर हिँड्दै गरेको अपरेसन इन्चार्ज दाइसँग बाटैमा भेट हुन्छ, अनि गुड मर्निङ दाइ भन्दै सिटतिर लाग्छ।
अपरेसन इन्चार्जको जवाफ आउँछ 'होन्डा साइन कुद्न छोड्योजस्तो छ राहुल बाइक चेन्ज गर्नुपर्यो। जहिले ढिला गर्छौं। भल्टबाट पैसा निकाल्या छैन। कस्टमरको लाइन लागिसक्यो। हिजो बिदा थियो। कहिले कुरा बुझ्ने हैन।'
राहुल केही नबोली सिटमा गएर कम्प्युटर लगइन गर्छ। अनि १० बजेबाट २ बजेसम्म नबजन्जेल कस्टमर ह्यान्डल गर्छ। ४५ मिनेटको लञ्च टाइम पनि ५ मिनेट जस्तो लाग्छ। फेरि कस्टमरको भिड बढ्छ। राहुल सधैंजस्तै चेकको पछाडि दुइटा साइन गर्नुस्। नागरिकता वा लाइसेन्स दिनुस्। राहुल बारम्बार यही दोहोर्याइ रहन्छ।
'मैले पढेको लिभरेज , क्यास फ्लो स्टेटमेन्ट, रेसियो एनालाइसिसको प्रयोग चैं कहिले गर्ने होला। सधैं मेसिनजस्तो पैसा लिने दिने। दिक्क लाग्छ।' राहुल मनमनै भुटभुटाउँछ।
अपरेसन इन्चार्ज दाइ 'राहुल आजको इभनिङ काउन्टर तिम्रो हो है। सविना हाफ डेमा घर गको छ।'
राहुल 'हुन्छ दाइ , आज क्लियरिङ चेक पनि टन्न छ। हिजो बिदा भएर होला।
राहुल इभिनिङ काउन्टर सकेर हिसाब मिलाउन थाल्छ। ल आज चै ठ्याक्कै मिल्यो। राहुल दंग पर्दै अपरेसन इन्चार्ज दाइलाई हिसाब मिल्यो है भन्छ। भल्ट सल्टको काम सक्दा ७ः३० बजिसक्छ। राहुल जोतेर फर्केको गोरुजस्तो भएर घरतिर लाग्छ। घर पुगेसी राहुलसँग न त एक पाना किताब पल्टाउने इनर्जी छ न त एक वाक्य लेख्ने इच्छा। मोबाइलमा कपिल शर्माको शो हेर्दै एकछिन भएनि मन हलुंगो पार्छ।
केही बेरमा राहुलको भाइबरको नोटिफिकेसन बज्छ। राधा अर्थात् राहुलको गर्लफ्रेन्डको मेसेज वर्षाको हावा हुरीजस्तो वेगले आउँछ।
राधाको मेसेज- कहिल्यै पहिला मेसेज गर्ने होइन। देख्न त अनलाइन नै देख्छु त। बोल्न मन नभए नबोले भैगोनी। यो बैंकको जब गर्न लागेपछि त झन् लास्ट चेन्ज भको छौ तिमी। अरू कोही मनपर्ने भए भने हुन्छ यु ह्याभ चेन्जड अ लट।
राहुल लामो मेसेज पढ्दै खुइँ...य गर्छ। अनि टाइप गर्न थाल्छ।
'आई एम सो सरी बेबी। म भर्खर अन भको हो। आज मेरो इभिनिङ काउन्टर थियो। अब बैंकको जागिर नै त्यस्तै छ। म फेरि क्यासमा छु। ट्राइ टु अन्डरस्ट्यान्ड यार। आई लभ यू।'
राधाको रिप्लाइ, ‘भो नाटक नगर जहिले एउटै एक्सक्यूज हुन्छ। ल भन कस्तो भयो तिम्रो दिन।'
राहुल 'हेक्टिक एज युजअल। आज क्यास मिल्यो लास्टमा खुसीको कुरा त्यही हो।'
राधा 'ल रेस्ट गर, गुड नाइट।'
राहुल दिनभरको टन्टालाई बिर्सेर निदाउँछ।