माघ ८ गते मेरो र विश्वासको बिहे भएको रात। मन भारी थियो कहीँ कतै बिसाउन पाएको थिइनँ।
आफ्नो घर, चिनजान नातेदार सबै छोडेर, बिरानो सहरमा आएको थिएँ।
आफ्नै अनुहार पनि ऐनामा हेर्दा मुजामुजा र धुजाधुजा परेका जस्ता देखिन्थे।
बाहिर गाडीहरू ओहोर दोहोर गरेका सुनिन्थे। बच्चा हुँदा कोरेको सपना तुर्लुङ्ग अन्जान त्यो कोठाको भित्तामा झुण्डिएजस्तो देखिन्थे।
हरेक असहजतालाई पन्छाउँदै म सहज हुने प्रयास गरिरहेकी थिएँ।
बिहेका सबै काम सिध्दिसकेका थिए।
मलाई एक्लै कोठामा फ्रेस हुने आदेश दिएर श्रीमानज्यू एक घण्टादेखि गायब थिए।
सायद आफन्तसँग हाँसी मजाक र गफगाफ गर्दै थिए होलान्। हाँसोको खित्का मेरो कानसम्मै सुनिन्थ्यो।
सोच्दै थिएँ,जिन्दगीको युग नौलो आवरणमा स्टार्ट हुँदै थियो मेरो।
सायद जन्मदिने घरपरिवारसँगको आत्मीय सम्बन्ध छोडेर म पराई हुन आएको थिएँ।
सबैलाई खुसी बनाएर भोज भतेर खुवाएर अनि आफू चाहिँ धरधरी आँसु चुहाएर।
अनेकौं घनचक्करहरूबाट मुक्त गरेर जीवनलाई स्थिर राखेर चलाउन बाँकी नै थियो। आफ्नो जीवनको मात्र कहाँ सवाल थियो र अब? सासू-ससुरा, देवर-नन्द अनि लोग्नेको हितविपरीत र इच्छाको विरूद्ध खै म कसरी चल्न सक्थें र?
आमाबुवाले जतनका साथ पालिएकी थिएँ म आजसम्म।
म सोचिरहेँ, 'के मेरो उसैगरी जतन गरी बसिदिने मान्छे नि कोही हुँदा हुन् र अब?' भूमिकाहरू नजानिँदो पाराले बदलिँदो रहेछ है!
अब त म आफैंले जतन गर्नुपर्ने ठाउँमा पो आएको रहेछु। समयको अन्तराल र आमाबुवाको अनुहार सम्झिएँ अनि एकछिन खिन्न भएँ। तर खिन्न हुँदा पनि किन खिन्न छौ मञ्जरी? भनेर सोधिदिने मान्छेको अभाव थियो।
'के मेरा श्रीमान त्यो स्थानमा उभिन सक्नुहुन्छ त?' आफैंलाई गहिरो प्रश्न गरेँ।
हाम्रो मागी विवाह थियो। एकचोटि मात्र भेट भएको थियो विश्वाससँग।
कुराकानी त परको कुरा। फूपु दिदीले खानदानी केटो हो ताल परे विदेश लान्छ भनेर आमाबुवालाई दिनुसम्मको सान्त्वना दिनुभयो। म त भर्खर ब्याचलर पास गरेकी थिएँ। लोक सेवा लड्न चाहन्थेँ। आफ्नो खुट्टामा आफैं उभिएर जन प्रशासनमा मास्टर्स पनि सिध्याउन चाहन्थेँ। तर आमाबुवालाई छोरी त बिहे गर्ने उमेरकी भई जस्तो लागेछ।
अनि मेरो 'हुन्छ' को जवाफ सुन्न व्यग्र हुनुहुन्थ्यो। मैले आनाकानी पनि गर्न चाहिनँ। भाइ पनि थियो घरमा। मध्यम वर्गीय परिवार हाम्रो सबैलाई पढाउन कहाँ पुग्नु बुवाको सानो नोकरीले! बिहेका लागि मञ्जुरी दिएको दिन साँझ एक्लै कोठामा टोलाएर बसेकी थिएँ। रेडियोमा गीत बज्दै थियो
'आफैं पो खोज्नुपर्छ जुनी काट्ने आफ्नो साथी,
घरकाले खोज्छन् रोज्छन् भन्छौ
तिमी कुन जमानामा छौ..'
पूर्णतय मैमाथि व्यंग्य गर्न लेखिएकोजस्तै लाग्यो यो गीत। म स्तब्ध भएँ तर निर्णय फेरिनँ।
बिहानैदेखि अनेक तामझाम रचिए। म अर्कै दुनियाँमा हराएजस्तै थिएँ। जग्गेमा बस्दा समेत अनेकौं सोचिरहेको थिएँ।
जन्म र मृत्युबीचको दूरी बढाउन मात्र न हो विवाह रचिने नत्र त यो तमासा गर्नुपर्ने बाध्यता थियो र? भन्दै सोचिरहेँ।
फोटो खिचाउने बेलामा जबर्जस्ती हाँस्दिरहेँ, सायद मसँग खिच्दा अरूको फोटो नबिग्रियोस् भन्ने सोचेँ हुँला।
मलाई विवाहको रीतिरिवाज मञ्चन गरेर झिलिमिली कागजमा प्याक गरेजस्तै सजावट गरेर स्टिकरजस्तै गरगहना सिन्दुर टाँसिदिएर डेलिभर गर्दै थिए कुनै खानदानी ग्राहकको घरमा फूलहरू वर्षा गरेर।अनि म कसरी खुसी हुन सक्थें र?
म कसैको अन्जान घरमा भित्रिएँ। अनि सबैले मलाई छोए, सुम्सुम्याए अनि ओल्टाइपोल्टाइ गरे। एउटा डेलिभर भएर आएको सामानलाई जस्तै भौतिक रूपमा स्पर्श गरे, छामे। तर अफसोस मञ्जरी 'तँ के चाहन्छेस् ?'भनेर कसैले सोधेन।
दुर्भाग्य म सामानजस्तै चुपचाप बसिरहें। इसारा अनुसार ओल्टिपल्टी गर्दिरहेँ। सायद अनेकौं संस्कार र चलनचल्तीको आडमा म चेतनायुक्त मानिस हुँ भन्ने कुरा भुलिँदै थियो।
एउटा बुहारीको आवरण लिएर शरीरमात्र उपस्थित भएको सोचियो। मेरो चाह बुझ्ने कोसिस गरिएन। जे होस् होस् भन्दै काम सिध्याउन मात्र अग्रसर भइयो। टीकाटाला गरेर पैसा दिइयो त कतै दिन लगाइयो। म सशंकित थिएँ, 'झन् राति मेरो हविगत के होला भनेर! अरूलाई त नाइँ भन्न नसकेकी म उनलाई कसरी नाइँ भनुँला र? सुहागरातमा आफ्नै लोग्नेविरूद्ध सनातन धर्मशास्त्रका विरूद्ध कसरी जान सक्थें म?।
लोग्ने र स्वास्नीबीच अनि सम्भोग र प्रेमबीच पनि दूरी मेन्टेन हुनुपर्छ भनेर कतै पढेकी थिएँ। तर पनि श्रीमानको कामवासनाको व्यग्र रहरले कहाँ मान्दो हो र? तै पनि श्रीमान त्यस्ता छैनन् भन्ने ठूलो आड भरोसा गरेर म बसिरहेकी थिएँ। किनकि त्यो थकित रात म कुनै यौन प्रक्रियाका लागि तयार थिइनँ। बस्!श्रीमान कोठामा छिर्ने बित्तिकै चुपचाप कोल्टे फेरेर सुत्ने चाहनामा थिएँ।
रातको आठ बजिसकेको थियो। तर अझै श्रीमान आएनन्। बरू खाना खानुहुन्छ कि? भन्ने प्रस्तावसहित सानो काम गर्ने भाइ ढोकामा आयो। मलाई भोक प्यास केही थिएन, त्यसैले इन्कार गरिदिएँ। नचिनेको वा नौलो भएर होला, उसले किन? कसरी? भन्ने जस्ता प्रश्नहरूले केरकार गरेन। बरू चुपचाप फर्किएर गयो।
म त भोक प्यासविहीन भएर निद्राको खोजीमा कल्पनामा डुबिरहेको थिएँ। त्यो भाइको आगमनले मलाई बाल्यकालको दुनियाँमा लग्यो। जहाँ म हुर्कें, बढें अनि आफ्नो स्वतन्त्रतामा बाँचें। त्यतिबेला, क्षणिकका लागि खेल भए पनि आफ्नो श्रीमान आफैं रोज्थेँ। आफ्नो श्रृंगार आफैं गर्थें अनि श्रीमानसँग चित्त नबुझ्दा मुखमुखै पनि लाग्थेँ।
तर त्यो बाल्यकाल कुन गल्लीमा हरायो अनि कुन मोडमा गएर छुट्यो पत्तै भएन। जिन्दगी जति परिपक्व हुँदै गयो त्यति अरूको शरणमा बाँच्न विवश पार्दै लग्यो। ती निर्दोष उमेरहरूमा लुकामारी खेल्दा आफू हराउँदा अरूले खोज्थे अनि भेट्टिन्थेँ। आजकल ठूलो भएँ आफैंभित्र हराउन थालेको छु न खोजिदिने कोही छ न आफैं नै भेट्टिन सक्छु। विवशताहरूले ढकलेका छन् कतै त कतै रहरहरूले पछ्याएका छन्। म सोचिरहेँ।
त्यत्तिकैमा ढोकाको आवाजले म झस्यांग भएँ। रातको दस बजेको थियो र श्रीमान कोठामा पसेका थिए। म अलि असहज भएँ। हरेक क्षण सहज हुन त नारी नभएर पुरूष भएर जन्मनुपर्ने रहेछ भन्ने सोचेर अफसोस भइराख्यो।
उनी सिधै एट्याच वासरूम छिरे। सायद उनी केही मदिरा पिएर आएका थिए। कोठामा त्यसको गन्ध पसिसकेको थियो। सायद मलाई पनि पिउन प्रस्ताव राखेको भए म पनि पिउथेँ कि? दुवै जना बेडरूममा बसेर पिउँदै दुःख सुखका बात मार्न पनि त सकिन्थ्यो नि।
सायद मैले मेरा सबै थकान र निद्रा पनि त भुलिदिन्थेँ कि! तर अफसोस त्यो हुन सकेन र कहिल्यै हुँदैन पनि। त्यो पनि अझ कुलघरान खानदान परिवारमा भित्रिएकी बुहारीलाई पहिलो दिन मै मदिरा पिउने छुट?
ओहो! भोलि छरछिमेकले के भन्लान्?,अनि के सोच्लान्? यस्तो खानदान परिवारमा त श्रीमतीसँग बसेर कहाँ मदिरा पिउने हो त? सकभर गेट टुगेदरमा नि श्रीमतीलाई वेटर बनाएर सर्भ गर्न पो लाउने हो त?
अझ घर बाहिरै खाएर आइयो भने त घरमा आएर श्रीमतीमाथि हातपात र नमिठो बचन पो लाउने हो त!' आफैं मनमनै तिखो व्यंग्य को वाण कसेँ र राहतको फुच्चे सास फेरेँ।
दस मिनेटपछि ऊ वासरूमबाट बाहिर निस्कियो जसको आगमनको प्रतीक्षा म गरिरहेकी थिएँ। मिठो वचन बोलेर आफ्नो सहजतामा सुत्न आग्रह गर्छ सोचेको थिएँ। तर, उसले आफू पुरूष हुनुको घमण्डमा मायाजालको ककटेल मिसाएर प्रस्तुती दिन थाल्यो। म यस्तो उस्तो,फलानोको छोरो, यति जग्गा सम्पत्ति,दुःख गर्न नपर्ने, सिंको भाँच्न नपर्नेजस्ता आड भरोसा जस्ता लाग्ने ललिपपयुक्त वाणीहरू फ्याँकिरह्यो। मैले केही सोधेको पनि थिइनँ र प्रतिक्रियाविहीन नै थिएँ।
सायद ऊ मलाई दास र आफूलाई मालिक बनाउँदै थियो कुराले।
महान् त ऊ कदापि हुनै सक्दैन्थ्यो। तर मलाई भने अप्ठ्यारो लाग्दै थियो।
'यो श्रृंखला कहिलेसम्म चल्ने हो' त्यही सोचको भारी सिरानीमा थुपारेर कति खेर निदाएँ पत्तो पाइनँ।