हर्कमानको तीन मुजा चाउरी परेको निधार आज मनभरिको चिन्ताले झनै खुम्चिएको छ।
उनी पिँढीको खाँबोमा अडेस लाएर रित्तो आँगन हेर्दै टोलाइरहेका छन्।
आज बिहेको दिन।
मध्य बिहानसम्म पनि सन्नाटाले ढपक्कै ढाकेको उनको घर बिहेको घरमा जस्तो कुनै तामझाम छैन। आफ्ना दुई छोरीहरू अन्माएर पठाउँदा भरिभराउ भएको आँगन उनलाई आज भने मसानघाटजस्तै रित्तो र उराठ लागिरहेको छ।
छरछिमेक र आफन्तलाई हर्कमान आफैंले निम्तो पुर्याएका थिए। तर यस पल्टको बिहेमा भने सबैको साथबाट चोइटिएर उनी नितान्त एक्लो बने।
तिक्तताको लामो सास फाल्दै पिँढीबाट उठेर उनी ढोकातिर लम्किए। दैलोमाथि सुकेको सयपत्री फूलको मालाले एक फन्को बेरेको ठूलो फ्रेममा उनका आँखा अडिए। फ्रेमभित्र मुसुक्क हाँसेको आफ्नो छोरालाई देख्दा उनको मन साह्रै निचोरियो।
अगेनाको छेउमा खातबाट टपरी निकाल्दै गरेकी देवीमायाले मुजेत्रोको बिटले आँसु पुछिन्। भित्र छिर्दै गरेको हर्कमानले सोधे, ‘किन रोकी होस्?’
‘मेरो मन त भतभती पोलेको छ।’
‘किन हो र?’
‘हामी मरेपछि स्वर्गमा छोराले सोधे के भन्ने?’
हर्कमानका आँखामा उर्लंदै गरेको आँसुले गलामाथि उक्लदै गरेको सास अड्काइदियो।
‘भनिदिनू, हामीले बुहारीको जीवन व्यर्थ हुन दिएनौं।’
***
बाबुआमाले नम्रताको प्रेमलाई जातको तगारोले छेकिदिएका थिए। सायद प्रेमको निम्ति जातको तगारोलाई फड्को मारेर हिँड्नुपर्छ भन्ने उनले एकदिन बुझिन्। र, सबैलाई पछि छाड्दै मायाको अप्ठ्यारो बाटो रोजिन्।
बुहारी बनेर यस घरमा आउँदा नम्रता आफैंलाई दुनियाँको भाग्यमानी नारी मान्थिन्। आफूले मनदेखि चाहेको मान्छेलाई लोग्ने भन्ने सौभाग्य उनलाई मिलेको थियो।
तर बिडम्वना! उनको प्रेम भोगको आयु लोग्नेको अल्पायुसँगै टुंगियो।
सबैबाट खोसेर पाएको माया निर्दयी दैवबाट भने उनले जोगाउन सकिनन्। मकैको टुसा उम्रदै गर्दा लाएकोे सिन्दूरको पहिलो धर्सा चमरा निस्कँदै गर्दा पुछियो। माइखोलाको बगरमा चितामाथि उनको लोग्नेसँगै सुतेको थियो उनको प्रेम। अनि, चिताबाट निस्केको मुस्लोसँगै हावामा फिजिएर बिलायो उनको जीवनभरको खुसी। खरानी बनेर खोलामा बगेका थिए फक्रँदै गरेका उनका रहरहरू।
श्रीमानको साथ चुँडिए पनि नम्रतालाई सासू-ससुराले गर्नेे यथेष्ट मायामा कमी भएन। माइतीले ढेपेको ढोका त उनको लागि कहिलै उघ्रिएन। विधुवा चेली भनेर दाजुभाइले सम्झेनन्। आखिर माइती भुलाउने सासू-ससुराको साथ उनलाई न्यानो लाग्यो।
उमेरमा वर्षहरू खापिँदै जाँदा हर्कमानलाई बुहारी नम्रताको अवस्थाले पिरोल्न थाल्यो। छोरासँगको छोटो साथपछि बुहारीको उजाडिएको रहर र खुसी फर्किएन। मेटिसकेको सम्बन्धले सुम्पेको बुहारीको कर्तव्यलाई निर्वाह गरी नै राखिन्, बिना कुनै गुनासो।
बुहारीको खाली सिउँदो र रित्तो कोखले नारी सृष्टिको अपुरोे संज्ञा झल्काइरहेको थियो। हर्कमानलाई भने कुनै कर्तव्यबोधले घेरेजस्तो लाग्यो।
‘कुलघरानबाट तिम्रो बिहेको लागि प्रस्ताव आएको छ नानी ’ एकदिन हर्कमानले नम्रतालाई सुनाए।
बिहेको कुराले मनभित्रै पुरिन लागेको नारीत्वले नम्रतालाई तर्साउने गरी बेजोडले झस्कायो।
‘म त तपाईंकी बुहारी पो हुँ बा।’
‘बुहारी र छोरीको स्थान छुट्याउने रेखा उहिलै मेटिसक्यो नि बाबै। तिमी त हाम्री छोरी पो हौ।’
नम्रताको मनभरिका भावहरू एकैपल्ट छचल्किएर आँखासम्म बग्दै उक्लियो। उनका आँखाले हर्कमानलाई थुप्रै वेदना सुनाए, हर्कमानले सबै सुनिदिए।
भाग्यले छोट्याएको वैवाहिक साथलाई नम्रताले एकपल्ट मनन गरिन्। ज्यानै नरहेपछि ‘जीवनभर तिम्रो रहने’ प्रण पनि त फुकुवा हुन्छ होला? उनको अंगालोमा कसिएको लोग्नेको तस्वीर अबोल थियो। तर परलोकबाट ‘विगतलाई भुलेर अब आफूले चाहेजस्तो गर्नू’ भनेर लोग्नेले मनमा साउती गरेझैं लाग्यो उनलाई।
विधुवा भन्ने पर्वाह नगरी भरोसायोग्य कोही उनीसँग जीवन बिताउन चाहन्छ। आफ्नै सासू-ससुराले उनलाई मन खोलेर साथ दिँदैछन्। तसर्थ समाजले उनको अर्को बिहेलाई के अथ्र्याउँछ भन्ने रत्तिभर पर्वाह गरिनन्। सायद जीवनलाई अर्को मौकाको खाँचो थियो। उनले त्यसलाई सहर्ष स्वीकार गरिन्।
बुहारीलाई छोरीको दर्जामा राखेका हर्कमानले नम्रताको नयाँ जीवनको कल्पना गर्न थाले। आफ्ना दुई छोरीहरूलाई झैं उनलाई पनि आफ्नै घरबाट अन्माएर बिदा गर्ने जमर्को कसे।
हर्कमानले बुहारीको बिहे गरिदिने खबर बताससँगै बगेर गाउँभरि फिँजियो। गाउँलेहरू भने पाप र धर्मको हिसाब गर्न थाले।
‘मरेको छोराको आत्माले सराप्छ हर्कमानलाई।’
‘यो उमेरमा यस्तो पाप नि चिताउने ?’
‘बिहे नै गर्न मन भए आफैं पोइलो गए भैगो नि।’
‘शास्त्रमा नभाको कुरा गरेर हुन्छ?’
बुहारीको बिहेलाई कसैले हर्कमानको साथ नदिने भए। बुहारीको शेषपछि छोरालाई अर्को बिहे गर्न कर गर्ने समाजले विधुवा बुहारीको बिहेको कुरालाई अपच मान्यो।
पँधेरामा गाग्री भर्दै गर्दा, बारी जोत्दै गर्दा, डोकोमा मल भर्दै गर्दा, उकालो चढ्दै गर्दा, ओह्रालो झर्दै गर्दा गाउँलेहरूले यस बिहेलाई पाप नै ठम्याए।
‘सबैले पाप पो हो भन्छन् त!’ देवीमायाले हुक्काको कोइला फुक्दै गरेका हर्कमानलाई सुनाए।
‘पाप नै हो भने अर्को जुनीमा सजाय भोगौंला। यो जुनीमा एउटी नारीको जीवन बिनासित्ती खेर नजाओस्।’
विवाहपछिको नयाँ खुसीको लागि मनदेखि नै तयार थिइन् नम्रता। वर्षौंसम्म मुर्झाएका रहरका रेखाहरू उनको अनुहारमा फेरि सलबलाउन थालेका थिए। त्यसैले हर्कमानले अरूले तोकेको पापको हिसाबको पर्वाह गरेनन्।
यस घरमा बुहारी बनेर भित्रँदा नम्रताले समाजको रीतिविरूद्ध उभिएकी थिइन्। उनी यस घरबाट दुलही बनेर निस्कँदा हर्कमानले समाजको रीतिविरूद्ध उभिदिने भए।
‘बुहारीलाई छोरी मानेर नि हुन्छ कतै?’ बिहेको निम्तो दिन पुगेका हर्कमानलाई गोविन्दले हप्काए।
‘बुहारीको जन्म पनि आफ्नै छोरीको जसरी नै हुन्छ।’
‘गाउँ भाड्ने कुरा नगर।’ गोविन्द कड्किए।
‘गाउँको अगुवा मान्छे तिमी त, गोविन्द। आफ्नै छोरी पनि अरूको घरमा बुहारी छे भनेर कहिल्यै सोच्यौ तिमीले?,’ हर्कमानले भने, ‘दिनरात हेपिएर बसेकी आफ्नी विधुवा छोरीको माया लाग्दैन? छोरीको खुसी फेरि फर्कियोस् भन्ने कहिल्यै चिताएनौ?’
गोविन्दका ओठहरू कामे। एक्कासि मनभित्र मडारिएको पीडा आँखाबाट छचल्किएर पोखुँलाझैं गर्यो। उनको अवरूद्ध गलाबाट मसिनो स्वर निस्कियो, ‘कठै मेरी छोरी!’
बिहेको दिन नजिकिँदै आयो।
कोठाभरि फिँजिएको बेहुलीको पोशाक हेर्दै टोलाइन् नम्रता। रातो सारी, रातो घुम्टो, रातो चुराधागो अनि सिन्दूर पनि रातै। मानसपटलमा धमिलो बनिसकेको रङ पुनः उनको जीवनमा फर्केर आयो। उनी फेरि बेहुली हुने भइन्।
***
घाम आकाशमाथि उक्लँदै गर्दा जन्तीको लस्कर घरमा आइपुग्यो। अक्षता र माला लगाइदिएर हर्कमानले जन्ती पर्सिए। देवीमायाले पिँढीमा गुन्द्री ओछ्याइन्। पिँढी भरिभराउ बन्यो।
बिहेको घरमा अप्रत्यासिलो सन्नाटालाई उद्धृत गर्दै बेहुलाको बाले सोधे, ‘आफ्नाले साथ दिएनन् तपाईंहरूलाई?’
हर्कमानले मुन्टो हल्लाउँदै ‘दिएनन्’ भन्नै लाग्दा नजिकै मानिसहरूको ठूलो खैलाबैलाले उनी झस्किए। दौडिएर आँगनको डिलमा पुुगे। गाउँलेहरू ठूलो हुल बाँधेर उनैको घरतिर सोझिँदै थिए। उनको मनमा चिसो पस्यो। कतै बुहारीको बिहे बिथोल्न त आएनन्?
हेर्दाहेर्दै आँगन भरियो। हुलको अगाडि उभिएका गोविन्दले जन्तीतिर हात जोड्दै भने, ‘नम्रता हाम्री गाउँकी चेली। हामी उनलाई धुमधामले बिदा गरेरै पठाउँछौं।’
हर्कमान र देवीमायाले आँसु थाम्न सकेनन्। बुहारीको विवाह गर्न साथ नदिएका गाउँलेहरू एकाएक मन फेरेर आए। उनीहरूलाई सर्वस्व मिलेझैं भयो।
‘बुहारी पनि घरकै छोरी हो भनेर बुझ्न र बुझाउन समय लाग्दो रहेछ,’ गोविन्दले हर्कमानलाई भने, ‘अब सबै मिलेर नम्रतालाई एउटी छोरीले पाउनुपर्ने बिदाइको साथ नयाँ घरमा पठाउने, चिन्ता नलिऊ।’
आँगनको एक छेउमा बाजा बजाउनेहरूले सनई फुक्न थाले। पण्डितले आँगनको बीचमा पिठोले धर्सा कोरे। करेसोमा बाजाका तालमा मान्छेहरू कम्मर हल्लाउन थाले। तीन गह्रातल बर्राको फेदमा भतेरको लागि अगेनाहरू ठडिए। केही युवतीहरू खित्तिँदै नम्रताको कोठाभित्र पसेर ढोका ढेपे।
हर्कमानलाई मसानघाट जस्तो लागेको उनको आँगनले एक्कासि जुनी फेरेजस्तै लाग्यो। बाजाको धुन घरको धुरी नाघेर टाढासम्म गुञ्जयमान भयो। केटा पक्ष र केटी पक्षको हाँसोठट्टाको जुहारीले बिहेको माहोल निकै तात्यो।
पण्डितले अग्निमा घ्यु थप्दै फुकेको मन्त्रले बेहुला र बेहुली बिस्तारै कसिँदै गए। जग्गेमा बसेकी नम्रता बेहुलीको भेषमा धपक्क बलेकी थिइन्। मुसुक्क हाँस्दै सँगै बसेका बेहुला हेर्दा हर्कमानलाई आफ्नो छोराको झझल्को मेटियो।
हर्कमान र देवीमायाले नम्रताको कन्यादान दिए। सायद कुनै साख्य सम्बन्ध जन्मले भन्दा कर्मले बन्दो रहेछ। उनीहरूको परिवारमा एउटी छोरी थपियो। नम्रताले आफ्नो माइती भेटिन्।
सूर्यास्तले छाडेर गएको पश्चिमतिरको आकाश राताम्मे थियो, नम्रताको सिउँदोको नयाँ सिन्दूरजस्तै। उनी डोलीमा बस्नै लाग्दा देवीमायाले भनिन्, ‘माइतीलाई नबिर्सिनू है छोरी। आमा सम्झेर आउनू।’
आँखाका ढिकाहरू आवाज निकाल्दै खस्न थाले। गाउँका आइमाईहरू पछ्यौराको सप्कोमा आँसु लुकाए। छोरीको बिदाइमा कुन माइतीको आँखा ओबानो रहला र?
नम्रताको बिदाइको क्षणमा बजेको सनईको चर्को आवाज हावामा तैरिँदै तीन गाउँपारिसम्म पुग्यो र बारी खन्दै गरेकी निर्मलाको कानमा ठोक्कियो।
‘कस्को बिहे रहेछ त्यो गाउँमा ?’ छेवैमा उभिएकी उनकी सासूलाई सोधिन्।
‘हर्कमानले बुहारीको बिहे गर्देको रे। कलियुग लागेसी मुन्छेले पापको ख्याल नि नगर्ने। असत्ति मुर्दार!’
निर्मलाको शरीर अचानक काम ज्वरो आएझै काँप्यो। वर्षौंअघि रित्तिएको आफ्नो सिउँदोमा अचानक उनलाई भबाउन थाल्यो, आलो घाउझैं । यस धरतीले चाहे विधुवा बुहारीको चोला पनि फेरिँदो रहेछ। सोचिन्– मजस्ती अभागिनी रहेनछिन् हर्कमानकी बुहारी!
उनको नाकको दुई किनारा हुँदै बगेको तातो आँसुका थोपाहरू जमिनको सुक्खा माटोमा खसेर बिलायो। धरतीले ती आँसुका वेदना पत्तै पाएन।