साँझपख उसको मोबाइलमा रिङटोन बज्छ, हतारमा फोन उठाउँछ सुखीलाल।
उताबाट मेनपावर कम्पनीको हाकिमले उत्साहित हुँदै भन्छ- सुखीलाल तिम्रो भिसा लाग्यो, अबको हप्ताभित्र तिमी उड्ने तयारी गर।
ऊ खुसी र दुखी एकैपटक हुन्छ।
बुढा रोगी बा अनि रोगले थलिएकी आमा सम्झेर।
फेरि मन बुझाउँछ पैसा कमाएर सुखी बनाउँछु, उपचार गर्न लैजान्छु, एउटा राम्रो घर बनाउँछु, एउटी बुहारी भित्र्याउँछु अनि आफू काम गरेर परिवार पाल्छु। सुखीलालका सपना धेरै टाढासम्मका भने थिएनन्, उसलाई कसैसँग प्रतिस्पर्धा गर्नु पनि थिएन अनि कसैलाई होच्याउनु, थिचोमिचो गर्नु पनि थिएन। उसको सानो सपना थियो, सुखी घर सुखी परिवार।
ऊ त्यहीँ सपना पूरा गर्न अर्को हप्ता साउदीको चर्को घाममा पुग्नेवाला थियो। कतै खुसी कतै बेखुसी भएर ऊ अगेनाको छेउमा बसेकी आमालाई भन्छ, 'अर्को हप्ता म विदेशका लागि उड्नुपर्ने भयो। आफ्नो राम्रोसँग ख्याल गर्नु, बाको पनि हेरचाह गर्नु।'
उसको कुरा सुन्ने बित्तिकै मुजामुजा परिसकेका आमाका आँखाबाट बररर आँसु झर्छन्। नजा पनि भन्न सक्दिनन् अनि जा पनि।
उसका बा कान खासै सुन्दैनन्, कतिपय बेला सुद्धि हराएको जस्तो कुरा पनि गर्छन्। तिनै दुई अशक्त बनिसकेका बाआमालाई सुख दिन ऊ विदेशिन बाध्य भएको हो।
तराईको गर्मी ठाउँ, ठूलाबडाहरू धेरै बस्ने उसको गाउँ, त्यहीँ गाउँको अलिक पर छ उसको सानो झुपडी। त्यो पनि उसका बाले जीवनभर काठमाडौँमा दुनियाँका जुत्ता पोलिस गरेर जोडेको सम्पत्ति रे।
त्यहीँ सानो झुप्रो पनि केही दिनदेखि झनै बेखुसी देखिएको छ। सधैं अभाव, पीडा, तिरस्कार र अपमान सहेर बसेका उसका बा र उसकी आमा सुखीलालबाहिर जाने भनेदेखि न निदाउन सकेका छन् न आँखा ओभाना नै भएका छन्।
उ जाने भनेको अघिल्लो रात। वर्षातको महिना भएको हुँदा बाहिर पानी जोडले दर्किएको थियो, असिना परेको थियो र बेजोडले चलेको हावाले उसको सानो झुप्रो नै उडाउँछ कि भन्ने आभाष भइरहेको थियो।
बाहिरको हावा र हुण्डरीले उसको घरमा धिपधिप बलेको बत्ती पनि बेला-बेला निभ्न खोजिरहेको थियो। तर, उसकी आमा बेलाबेला हातले छेक्दै बत्ती उकासिरहन्थिन्। उ चुलानजिकैको कुनामा बसेको थियो, बा खाटमै थिए, आमा चुलामा।
बेला-बेला छोराको अनुहार हेर्दै आमा सुँक्कसुँक्क गरिरहेकी थिइन्।
बा त बेलाबेला होस नै गुमाएको जस्तो बन्थे, त्यसमा पनि कान नसुनेपछि त कतिपय कुराको चासो नै कम हुनु स्वाभाविकै पनि हो।
बाहिर हावा अझै जोडले लागेको थियो, पानी भने कम भयो। आमाले छोरालाई खान बोलाइन्, उसलाई खान त मन थिएन तर आमाको मन राख्दिनकै लागि भएपनि ऊ खान लिन गयो। खाँदै गर्दा उसले आँसु रोक्न सकेन र एक्कासि बर्रबर्र खस्यो।
आमाले पनि खाना खाइनन्। त्यो रात निन्द्रा नै नपरी सुखीलाल उठ्यो आमा पनि उठिन्। त्यो दिन अझ भारी भएको थियो मन। उसको फ्लाइट बेलुकी ९ बजेका लागि थियो।
आमाले उसलाई रातो टीका लगाइदिइन्, उसले गोडामा ढोग्यो, बालाई गोडामा ढोग्यो। बिदाईका हात हल्लाउन उसलाई निकै गाह्रो भइरहेको थियो, आमाले पनि धरधर रूँदै छोरालाई आशीर्वाद दिइन्, राम्रोसँग काम गर्नु, हामीसँग सम्पर्कमै रहनु, छिट्टै घर फर्किनु। उसका बा पनि आँखा रसिलो पार्दै निस्किए।
त्यसपछि सुखीलाल एउटा कालो ब्यागमा केहीजोर लुगा केही पैसा र हरियो पासपोर्ट हालेर गाडी चढ्नका लागि हिँड्यो। बाआमा ऊ एकैपटक भक्कानिए, आमाले आँगनबाट नछेकिउन्जेलसम्म छोरालाई हेरिरहिन्।
छेकिएपछि त्यहीँ थचक्क बसेर बरबर्रती आँसु झारिन्। ती आमाले रूँनुबाहेक अरू के नै पो गर्नसक्थिन् र त्यसमा पनि उमेरले डाँडो काटिसकेको थियो।
सुखीलाल करिब ४ः३० बजेतिर काठमाडौं झर्छ, स्टेसन नजिकैको पसलमा चिया र दुनोट खान्छ अनि फेरि गाडी चढेर एयरपोर्टसम्म पुग्छ। त्यहाँ पुग्दा करिब ५ः३० भइसकेको थियो। अनि ऊ पनि अरू यात्रुजस्तै विदेशमा गएर टन्न पैसा कमाउने कल्पनामा प्रतीक्षालयमा बसिरहन्छ।
हुन पनि उसलाई अरूको जस्तो बिदाई गर्न आउने कोही थिएन, उसलाई एयरपोर्ट पुगेर राम्रोसँग जा भन्ने कोही पनि थिएन। हुन त, उसका पनि दिदीहरू नभएका होइनन्, तर उनीहरू आफ्नै दुनियाँमा छन्, उ जस्तै पीडा अभाव र बेचैनीमा बाँचिरहेका छन्, कसैकोमा सेवकका रूपमा काम गरिरहेका छन्।
अरूका परिवार देख्दा कताकता चिसो त लाग्छ उसलाई, तर उसले सानैबाट अभाव, पीडा, बेचैनी र अपमान सहन सिकिसकेको हुँदा यसलाई पनि सामान्य नै लिन्छ ऊ।
ऊ त्यहाँ बसुन्जेल कहिले के कल्पना गर्छ, कहिले के। ऊ त्यहीँ बस्दाबस्दै एउटा लास बाकसमा आइपुगेको पनि देख्छ, फेरि सिरिङ्ग हुन्छ, म पनि यस्तै भए मेरा बाआमा के होलान्, ऊ फेरि झसंग हुन्छ, आफूलाई सम्झाउँछ त्यस्तो हुँदैन।
अनेक चिन्तन गरेर बसिरहँदा उसले दिएको कागजात हेरेर उताबाट कसैले नाम बोलाउँछ, सुखीलाल यादव। ऊ झसंग हुन्छ, उताबाट फेरि आवाज आउँछ, तपाईंको फ्लाइटको समय हुनलाग्यो तयारी गर्नुस्।
बिचरा उसलाई तयारी त के गर्नु थियो र त्यहीँ कालो ब्याग उठाएर प्लेन भएको ठाउँतिर पुग्छ ऊ। त्यसपछि ऊ सपनाको उडान भर्दै साउदी पुग्छ। त्यहाँ उसलाई कम्पनीको कोही व्यक्ति रिसिभ गर्न आउँछ ऊ भारतीय रहेछ। अनि सुखीलाललाई अलिकति सहज भएको महसुस हुन्छ। उसले हिन्दीमा कुरा गर्छ। अनि त्यो रात सुखीलाल त्यहीँ व्यक्तिसँग कोठामा बस्छ।
भोलिपल्ट भएपछि साउदीका हाकिमहरू पनि आउँछन्, अनि उसलाई त्यहीँ भारतीय नागरिकले काम गर्ने ठाउँमा पुर्याउँछ। ऊ काम गर्ने ठाउँ, बस्ने ठाउँ, खाने ठाउँ देखेर एकछिन आत्तिन्छ।
उसको खाने बस्ने ठाउँ भर्याङको एउटा कुनामा थियो, जहाँ उसलाई पूरै सुत्न तन्किएर सुत्ने समेत ठाउँ थिएन। अनि काम थियो, फलामका ठूला-ठूला रडहरू काट्ने अनि गाडीमा हाल्ने, त्यो पनि एकदम प्रचण्ड गर्मीमा तातो फलाम काट्नु साँच्चै नै मुस्किल काम थियो।
उसलाई बस्ने ठाउँ अनि मानिसहरूको व्यवहार देखेर किन विदेश आए भन्ने पछुतो भयो। तर, उसँग विकल्प थिएन। ऊ दिनको १८ घण्टा फलाम काट्नमै व्यस्त हुन्थ्यो, फलाम काट्दा, उचाल्दा उसका हातमा पटक-पटक लागेका घाउले बेलाबेलामा पीडा दिन्थ्यो अनि ऊ आमालाई सम्झिन्थ्यो, बाबालाई सम्झिन्थ्यो, गाउँघर, देश समाज सबैलाई सम्झेर आँसु झार्दै ऊ पुन:कामतिरै लाग्थ्यो।
एक त खाडी मुलुक, गर्मी उस्तै अनि काम पनि धेरै जोतिएर गर्नुपर्दा ऊ झनै दुब्लाएको थियो। कामको धेरै प्रेसरले होला उसको अनुहारमा बुढ्यौली छाएजस्तो थकान नमेटिएकोजस्तो देखिन्थ्यो।
फेरि उसको कम्पनीको मालिकले खाना खाने, खाजा खाने र राति सुत्ने केही घण्टाबाहेक कामदारलाई टिक्नै दिँदैनथ्यो। अझ उसको कम्पनीको हाकिमले निगरानीका लागि अर्को व्यक्ति राखेको थियो। जसले गर्दा ऊ लगायतका कामदारहरू एकैछिन पनि आराम गर्न पाउँदैनथे।
एकातिर प्रचण्ड गर्मी अर्को फलाम काट्न र ओसार्न धेरै गाह्रो भएको थियो उसलाई। त्यसमा न त्यहीँ अनुसारको खाना न आराम। ऊ धेरै दुब्लाएको थियो।
दुई पटक उसले आमालाई पैसा पठायो तर, अर्को पटक ऊ पैसा पठाउन सक्ने अवस्थामा थिएन। किनभने उसलाई जण्डिसले सताएको थियो। राम्रो ठाउँमा उपचार गर्न जानु त कता हो कता उसको मालिकले उसलाई अन्तिम अवस्थासम्म पनि काम लगाइरह्यो।
एकदिन ऊ फलाम बोक्दै गर्दा ढल्यो, उसका साथीहरूले उठाए, पानी खुवाए तर उसको होस आएन। अनि उसलाई उनीहरू सुत्ने कोठामा छोडदिएर काममा फर्किए। केहीबेरमा उसको होस त आयो तर उसको शरीर पूरै कापेको थियो, उसलाई सास फेर्न गाह्रो भएको थियो। त्यत्ति हुँदा पनि उसका कम्पनीका कसैले उसलाई उपचारमा लैजाने सोचनन्। बरू मिले नेपाल फर्काइदिऊँ भन्दै थिए।
विचरा सुखीलाल एकातिर काम गर्दागर्दा ऊ निकै कमजोर भएको थियो भने अर्कोतिर झन् रोगले थलिएको थियो।
जण्डिस बिग्रिएर उसको कलेजो पनि खत्तम भएको थियो, ऊ दिनप्रतिदिन झनै कमजोर भएको थियो।
एकदिन उसले साथीहरूलाई अनुरोध गरेर घरमा आमालाई फोन लगायो, आमाले उताबाट छोरा भनेर बोलाउँदा उसले बलिन्द्र धारा आँसु खसाल्दै भन्यो, 'आमा अब तपाईंको छोरो प्लेनमा होइन बाकसमा आउँछ'
एउटी आमालाई निरीह स्वरमा छोराले त्यसो भन्दै फोन गर्दा के भयो होला? आमा त्यहीँ डाको छोडेर रूँन थालिन् र भनिन्- बाबु म मर्नुभन्दा पहिले एकपटक तिम्रो अनुहार हेर्न चाहन्छु, फर्केर आऊ घर। पैसा चाहिँदैन मलाई, भोलि नै आऊ, सुखीलाललाई त्यत्ति कुरा सुनिसक्दा निकै गाह्रो भएको थियो।
उसले आमालाई थप जवाफ दिन सकेन ऊ कुरा गर्दागर्दैको फोन छाडेर छटपटाउन थाल्यो। उसको साथीले उसलाई समायो, थोरै पानी पिलायो तर, उसलाई निकै गाह्रो भइसकेको थियो। शरीरमा अक्सिजनको कमी भएको थियो। ऊ एकछिन छटपटायो, अनि घरका बुढा बा आमालाई सम्झिँदै सदाका लागि बिलिन भयो।
उसको मृत्युपछि त्यहाँ एकछिन हल्लाखल्ला भयो, तर समयमै उपचार गर्न नसकेका निर्दयी साथी र कम्पनीका मालिकले जति श्रद्धाञ्जली व्यक्त गरे पनि ऊ मरिसकको थियो।
त्यसपछि उसको लासलाई नेपाल पठाउने तयारी गरी करिब १ हप्तापछि उसको लास आइपुग्छ।
पैसा ल्याएर बाबुआमा पाल्छु भनेर हिँडेको छोरो बाकसमा फर्किएको पीडा सहन नसकेर उनकी आमाले आत्महत्या गर्छिन्, निकै वृद्ध र हलचल समेत राम्रोसँग गर्न नसक्ने सुखीलालका बा पनि केही दिनपछि ओछ्यानमै मर्छन्। र यसरी विदेशबाट पैसा कमाएर बा-आमालाई पाल्छु भन्ने एउटा जागरुक युवक सुखीलालको दु:खद् अन्त्य हुन्छ।